भारत र पाकिस्तानबीचको खेलमा सुरक्षाको कुनै कसर बाँकी राख्ने छैनौँ: आईसीसी

 जेठ ३२, २०७६ शनिबार १९:३६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुने छ । 

भारत र पाकिस्तानबीचको प्रतिस्पर्धालाई अन्य टिमको भन्दा बढी महत्वका साथ लिइन्छ । दुवै देशका सर्मथकहरु आफ्नो देशको टिमका बारेमा निकै सजग हुने गरेकाले पनि दुई देशले मात्रै क्रिकेट खेलेका हुँदैनन्, दुवै देशका जनता पनि मैदानमै खेलेको जस्तो गर्छन् । 

त्यसैले आईसीसीले पनि भारत र पाकिस्तानबीचको खेललाई बढी नै महत्व दिएको पाइन्छ । भारत र पाकिस्तानबीचको खेलको छुट्टै सुरक्षा तयारी गरिएको जनाइएको छ । आईसीसीका महाप्रबन्धक क्लेयर फर्लोगले सुरक्षा मजबुत पारिएको बताउँदै थप खुलेर बोल्न चाहेनन् । 

क्लेयरले सुरक्षाको बारेमा जानकारी दिन नसक्ने बताउँदै प्रहरी र सुरक्षा एजेन्सीलाई सुरक्षाको कुनै पनि कसर बाँकी नराख्ने गरी काम गर्न निर्देशन दिएको उल्लेख गरे ।

स्रोतको दावीलाई आधार मान्ने हो भने भारत र पाकिस्तानबीचको खेलको बेला सैनिक परिचालन गर्न सकिनेछ । साथै प्रहरी गस्ती पनि हुनेछ । भारत र पाकिस्तानबीच विश्वकपमा यो सातौँ खेल हो । सन् १९९२ देखि आमने-सामने हुँदा जहिले पनि भारत पाकिस्तानविरुद्ध हावी हुँदै आएको छ । 

तर च्याम्पियन्स ट्रफीमा भने भारतलाई पराजित गर्दै पाकिस्तानले ट्रफी जितेको थियो ।

भारतीय टिमका कप्तान विराट कोहलीले पाकिस्तानविरुद्धको खेलका बारेमा प्रतिक्रिया दिँदै यो एउटा खेल मात्रै भएको र जित्नका लागि मैदान उत्रने बताए । माहोलले भने आफूहरुलाई दबाबमा राखेको भन्दै शत प्रतिशत क्रिकेट खेल्ने लक्ष्यका साथ भारतीय टिम मैदान उत्रने जानकारी दिए ।

यस्तै पाकिस्तानी टिमका कप्तान सर्फराज अहमदले पनि भारतसँग पाकिस्तानले उत्कृष्ट क्रिकेट खेल्ने बताए ।

भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितिसकेको छ भने पाकिस्तानले सन् १९९२ मा विश्वकप जितेको थियो । सन् १९९२ मा समूह चरणमा पाकिस्तान भारतसँग पराजित भए पनि फाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै पहिलो पटक उपाधि हात पारेको थियो ।

भारतले २०११ को सेमिफाइनलमा पाकिस्तानलाई पराजित गरेको थियो भने फाइनलमा श्रीलंकालाई पराजित गर्दै उपाधि जितेको थियो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया