जनताको बहुदलीय जनवाद र एक्काइसौैँ शताब्दीको जनवादका सकारात्मक पक्षलाई अगाडि बढाइन्छ : प्रचण्ड

 असार २, २०७६ सोमबार १२:२६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने लक्ष्य लिएको दाबी गर्नु भएको छ ।

अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताउनु भएको हो । उहाँले दुई पार्टीबीचको एकता सिद्धान्तहीन ढंगले नभएको पनि बताउनु भयो ।

‘जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रस्ट लक्ष्यका साथ पार्टी एकता गरिएको छ, अध्यक्ष दाहालले भन्नुभयो ‘कतिपय मानिसहरु त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर ‘कन्फ्युज’ पनि हुन सक्छन्, तर हाम्रो पार्टीको दुवै धारका नेताहरुले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काइसौैँ शताब्दीको जनवाद दुवैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ ।’

अध्यक्ष दाहालले आजको युग सुहाउने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्ने पनि दोहोर्‍याउनु भयो । अध्यक्ष दाहालले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सुरुवात भएको दोहो¥याउँदै निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो ।

जनयुद्धकालका शहीद रितबहादुर खड्काको १७ औँ स्मृतिको अवसर पारेर सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शहीदहरुको सपनालाई साकार पार्ने लक्ष्यकासाथ पार्टी अघि बढिरहेको दाबी पनि गर्नुभयो । अध्यक्ष दाहालले तत्कालीन माओवादीका केन्द्रीय सदस्य रितबहादुर खड्कालाई एउटा गतिशील नेताको रुपमा पनि चित्रण गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया