उपत्यकाका सत्तारुढ सांसदसँग छलफल गर्दै प्रधानमन्त्री

 असार २, २०७६ सोमबार १४:२१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे काठमाण्डौ उपत्यकाका सांसदहरुसँग छलफल गर्न लाग्नुभएको छ ।

विधेयकबारे विवाद बढेपछि त्यसलाई समाधान गर्न प्रधानमन्त्री ओलीले पहल थाल्नुभएको हो ।  काठमाण्डौ उपत्यकाका नेकपाका सांसदहरुलाई प्रधानमन्त्री ओलीले सोमबार तीन बजे छलफलका लागि बोलाउनुभएको हो । 

साताव्यापी युरोप भ्रमण सकेर फर्कने क्रममा आइतबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विधेयक सच्चाइने बताउनुभएको थियो । 

प्रधानमन्त्री ओलीले सोमबार बिहान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग विधेयकका विवादित विषयका बारेमा जानकारी लिनुभएको थियो । 

उपत्यकाका सत्तारुढ दलकै सांसदहरुले विधेयक फिर्ता लिनुपर्ने भन्दै विरोधमा उत्रिएपछि प्रधानमन्त्रीले छलफलको प्रयास अघि बढाउनुभएको हो । विधेयकका बारेमा प्रधानमन्त्रीले छलफलका लागि बोलाउनुभएको सत्तारुढ दलका सांसद रामवीर मानन्धरले बताउनुभयो । 

सांसद मानन्धरले पत्रकार सम्मेलन गर्दै बुधबारअघि नै विधेयक सच्चाउने काम नभए बाध्य भएर सरकारकै विरोधमा उत्रने चेतावनी दिनुभएको थियो । प्रधानमन्त्रीसँगको छलफलबाट आजै निकास निस्कने विश्वास पनि उहाँले लिनुभएको छ ।

उपत्यकाको काठमाण्डौ, भक्तपुर र ललितपुरमा गरी नेकपाका १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया