असार मसान्तभित्र अनुदान नलिए प्राधिकरणले लाभग्राही सूचीबाट हटाउने

 असार २, २०७६ सोमबार १७:२६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका लाभग्राहीलाई आउँदो २१ गतेसम्म सम्झौता गर्न आग्रह गरेको छ ।

असार २१ गतेभित्रै सम्झौता गरी यहि असार मसान्तसम्म अनुदानको पहिलो किस्ता लिन पनि प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले तोकिएको समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने जनाएको छ ।

निजी आवास अनुदानका ६० हजार भन्दा बढी भूकम्प प्रभावित लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताउनुभयो । पछिल्लो तथ्यांक अनुसार ८ लाख २६ हजार ३ सय ३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३ सय १७ ले मात्र अनुदान सम्झौता गरेका छन् । 

भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आ आफ्नो वडा कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता ५० हजार रुपैयाँ नलिने लाभग्राहीलाई यही असार मसान्तभित्र पहिलो किस्ताबापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ । अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३ सय १७ मध्ये ७ लाख ६१ हजार ५ सय ४२ ले पहिलो किस्ता लिएका छन् । 

असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ । प्राधिकरणको मापदण्ड अनुसार घरको जग राखेर दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवेदन दिन सक्छन् ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया