नगर कार्यपालिका बैठकमै मेयरमाथि आक्रमण

 असार ३, २०७६ मंगलबार ११:३:३४ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – मन्थली नगर कार्यपालिकाको बैठकमै नगर प्रमुख रमेशकुमार बस्नेतमाथि आक्रमण भएको छ । 

सोमबार बेलुका बसेको नगर कार्यपालिका बैठकमा काम नभएको योजनाको भुक्तानी माग गरिएको विषयमा भएको छलफलले उग्र रुप लिएपछि नगर प्रमुख बस्नेतमाथि आक्रमण भएको हो । 

मन्थली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्कीले काम नै नगरेको गएको आर्थिक वर्षको योजनाको रकम भुक्तानी हुनुपर्ने माग गरेपछि कार्यपालिको बैठकमा विवाद भएको नगरपालिकाले जनाएको छ । 

बैठकमा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले काम नभएको योजनाहरुको भुक्तनी दिन नमिल्ले बताएपछि बैठकमै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि लक्षित गरी आक्रमण भएको नगरपालिकाले बताएको छ । 

काम नभएको योजनाको भुक्तानी दिन दवाब दिँदै नगर कार्यपालिका सदस्य उद्धव रम्तेल र श्रीबहादुर माझी, वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्की  र वडा नम्बर १२ का अध्यक्ष कृष्णहरी अधिकारीले बैठक स्थलमा भएका नेमप्लेट, पानीको बोतल र चियाको ग्लासले नगर प्रमुख बस्नेलाई प्रहार गरेका थिए । कार्यपालिका सदस्य र वडा अध्यक्षको आक्रमणबाट नगर प्रमुख बस्नेतको टाउकोमा गम्भीर चोट लागेको छ । 

गएको आर्थिक वर्षमा नगरपालिकाले छुट्याएको बजेटबाट गेलु, सुनारपानी, भटौली र चिसापानीमा योजनाको काम नै नगरेको हुँदा नगरपालिकाले रकम भुक्तानी दिन नमिल्ने बताएपछि कार्यपालिका बैठकमा नै आफूमाथि आक्रमण भएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । 
  

अन्तिम अपडेट: बैशाख ५, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया