खानी गाउँमा पहिरोको पूर्व सूचना दिने प्रणाली

 असार ३, २०७६ मंगलबार १३:३१:३८ | किरण लोहनी
unn.prixa.net

गोरखा – पहिरोको उच्च जोखिममा रहेको लापूको खानीगाउँमा पहिरोको पूर्व सूचना दिने मेशिन जडान गरिएको छ । युवा वैज्ञानिक रामलक्ष्मण रिमालले विकास गरेको यो प्रविधिले बस्तीमा पहिरो पूर्व सूचना दिन्छ । रमाल दाजुभाइको कम्पनी रामलक्ष्मण इनोभेसन प्रालिले निर्माण गरेको प्रणालीले पहिरो जानुभन्दा कम्तीमा ३ घण्टा पहिले नै यसबारे पूर्व जानकारी दिनेछ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सहयोगमा गएको वर्ष एक ठाउँमा पहिरो पूर्व सूचना प्रणाली जडान गरिएको थियो । यो वर्ष थप चार ठाउँमा यसप्रकारको प्रणाली राखिएको वैज्ञानिक रामप्रसाद रिमालले बताउनुभयो । गएको वर्षभन्दा यो वर्ष जडान गरिएको प्रणाली थप विकसित गरिएको उहाँको भनाइ छ । स्थानीय दुङ्स्योङ खोलाले जमिन कटान गर्दा धार्चे गाउँपालिका ७ लापुको खानी गाउँ बस्ती पहिरोको जोखिममा परेको हो ।

गएको वर्ष एक ठाउँबाट मात्रै पहिरो जाने क्रम सुरु भएकोमा अहिले गाउँको चारैतिर पहिरोको असर देखिएको प्रविधि जडानका लागि खानीगाउँ पुगेर फर्कनु भएका वैज्ञानिक रिमालले बताउनुभयो । ‘गाउँको सिरानदेखि दायाँबायाँ र पुछारको भागमा ४ वटा मेशिन जडान गरिएको छ’ उहाँले भन्नुभयो, ‘यो वायरलेस प्रविधि हो, सेन्सरले पहिरो जानूपूर्वको जमिनको कम्पन थाहा पाउँछ, त्यो खबर मुख्य मेशिनमा पठाउँछ अनि ठूलो स्वरमा साइरन बज्छ ।’ सामान्यतया जमिन कम्पन हुन थालेको एक दुई दिनपछि पहिरो जाने विज्ञहरु बताउँछन् ।

कुनै अवस्थामा पहिरोको पूर्व सूचना एक दुई दिन पहिले नै थाहा पाउन सकिए पनि औसत अवस्थामा ३/३ घण्टा पहिलेनै जानकारी पाउन सकिने भएकाले मानिसलाई सुरक्षित ठाउँमा पुग्न सजिलो हुने विश्वास गरिएको छ । बस्ती वरपरको चार ठाउँमा गाडिएको सेन्सरले पहिरोको सूचना दिनेछ । पूर्व सुचना स्वरुप विशेष प्रकारको साइरन बज्नेछ ।

ठूलो आवाज आउने साइरन स्थानीय गोरखनाथ प्राविमा राखिएको छ । यही विद्यालयमा राखिएको मोनिटरमा चारमध्ये कुन साइरनले पहिरोको पूर्व सूचना दिइएको हो भन्ने जानकारी पनि दिने वैज्ञानिक रामप्रसाद रिमालले बताउनुभयो । साइरन बजेपछि सुरक्षित ठाउँमा पुग्न प्रशस्तै समय पाइने भएकाले स्थानीयको जनधनको सुरक्षामा यो प्रणाली सहयोगी हुने उहाँको भनाइ छ । साइरन बजेको केही समयमा सरोकारवालाहरुको मोबाइलमा म्यासेज पनि जानेछ । अहिले स्थानीय अगुवा चन्द्रमान गुरुङ, जीते गुरुङ, वडाध्यक्ष सूर्यमान गुरुङ, नाष्टका वैज्ञानिकहरुको मोबाइलमा पहिरो गएको जानकारीसहित म्यासेज जानेछ ।

छिट्टै प्रमुख जिल्ला अधिकारी, स्थानीय रेडियोलगायत सरोकारवालाहरुको मोबाइलमा पनि सन्देश जाने ब्यवस्था मिलाइने वैज्ञानिक रामलक्ष्मण रिमालले बताएका छन् । ‘सरोकारवालाले पहिरोको सूचना छिटो थाहा पाउन सके आवश्यक परेमा उद्धार र राहतको काम पनि छिटो गर्न सकिन्छ भनेर एसएमएस जाने सिस्टम पनि जोडेका छौँ ।’ रिमालले भन्नुभयो ।

बस्तीमा जडान गरेको सेन्सरले काम नगरेको अवस्थामा पहिरोको पूर्व सुचना दिन वैकल्पिक प्रणालीको पनि व्यवस्थापन गरिएको छ । खानीगाउँ नजिकैको अर्को वस्तीका बासिन्दाले आफूसँग भएको आकस्मिक बटम थिचेर पनि पहिरोको पूर्व सूचना दिन सक्नेछन् । पूर्व सुचना प्रणालीको प्रयोग, सुरक्षित ठाउँको प्रयोगलगायतका विषयमा स्थानीय बासिन्दासहित गोरखनाथ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जानकारी गराइएको रिमालले बताउनुभयो । गएको वर्षदेखि नै पहिरोको जोखिममा रहे पनि खानी गाउँका बासिन्दाको स्थानातरण हुन सकेको छैन ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका भूगर्भविद्को टोलीले केही महिना अघि गरेको भौगर्भिक सर्वेक्षणका क्रममा यो बस्ती पहिरोको जोखिममा रहेको निष्कर्ष निकालेको छ । त्यसयता प्राधिकरणले यो बस्ती स्थानान्तरणका लागि प्रक्रिया सुरु गरेको छ । पहिरोकै कारण गाउँका ४० घरधुरी विस्थापित भैसकेका छन् । पहिरोका कारण उनीहरुले पुननिर्माण गरेको घर पनि फेरि बस्न नमिल्ने गरी भत्किएको स्थानीय चन्द्रमान गुरुङले बताउनुभयो । विस्थापित भएकाहरुले खानी गाउँ नजिकैको कोलडाँडामा अस्थायी टहरा बनाएर बसोबासको व्यवस्थापन गर्न थालेका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया