राजमोको प्रश्न : बिनाअनुमति भारतीय प्रहरी कसरी अछाम पुग्न सफल भयो ?

 असार ३, २०७६ मंगलबार १३:४४:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाले भारतको छत्तीसगढ प्रहरी बिनाअनुमति नेपाल आएको घटनाले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थिति उजागर गरेको बताएको छ ।

मंगलबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति सार्वजनिक गर्दै बिनासूचना वा कूटनीतिक पहल नगरिकन एउटा स्वतन्त्र र सार्वभौम देशको क्षेत्राधिकारभित्र आएर अर्को देशको प्रहरीले खानतलासी वा कुनै अनुसन्धान गर्नु अन्तर्राष्ट्रिय कानुनी मान्यताविपरीत भएको बताउनु भएको छ । साथै उहाँले यस्तो काम स्वतन्त्र र सार्वभौम देशविरुद्धको कुरा भएको बताउनु भएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘भारतीय प्रहरी कसरी अछाम पुग्न सफल भयो ? यो प्रश्नले नेपालको सुरक्षा प्रणालीको गम्भीर स्थितिलाई बताउँछ । स्वतन्त्र र सार्वभौम मुलुकहरूले आपसमा वा आफ्ना नागरिकहरु बीचको समस्यालाई समाधान गर्नका लागि अपनाउने विधि र उपायहरू अन्तर्र्राष्ट्रिय कानुनहरुले निश्चित गरेका छन् । कुनै खानतलासी वा अनुसन्धानका लागि इन्टरपोलद्वारा आउनुपर्दछ ।’

यो घटनाले भारतीय साम्राज्यवादको नेपालप्रतिको रबैयालाई थप उजागर गरेको जनमोर्चाले जनाएको छ । आफ्नै प्रान्त वा राज्यहरु सरह व्यवहार गरेर खानतलाशील गर्ने भारतीय प्रहरीको व्यवहार निन्दनीय भएको भन्दै जनमोर्चाले भ्रत्र्सना गरेको छ । यस विषयबारे आवश्यक छानबिन र कारबाही गर्नका लागि पनि जनमोर्चाले सरकारसँग माग गरेको छ ।

के हो घटना ?

अनुमतिबिना नै सादा पोसाकका तीन जना भारतीय प्रहरी अछाम आएका छन् । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका एक युवकले भारतबाट केटी भगाएर ल्याएपछि भारतको कोरवा जिल्ला छत्तीसगढबाट तीन जना प्रहरी बिना अनुमति अछाम पुगेका हुन् ।

उनीहरूका साथमा कोरवा प्रहरीको पत्र रहेको जनाइएको छ । सोमबार दिउँसो अछाम पुगेका भारतीय प्रहरीलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको तर नियन्त्रणमा भने नलिइएको अछाम प्रहरीले जनाएको  छ । भगाएर ल्याएकी केटी र केटालाई पनि आफूसँगै राखिएको जिल्ला प्रहरी कार्यालय अछामका निमित्त कार्यालय प्रमुख कलेन्द्रविक्रम शाहीले बताउनुभयो । भारतीय प्रहरी जयगढ पुगेपछि गाउँमा नगएको र पहिला प्रहरीको सम्पर्कमा आएको उहाँको भनाइ छ ।

कोरबा छत्तीसगढ शान्तिनगर ७ भारत बस्ने वर्ष ३८ की उर्मिला राठोरको काइँली छोरी कुमारी काजोल राठोरलाई अछामका केशव सोनीले भागाएको भन्ने उजुरी दिएको र त्यसको सहयोग र समन्वयका निम्ति भारतीय प्रहरी अछाम आएको शाहीको भनाइ छ ।

प्रहरी निरीक्षक शाहीले संघीय प्रहरी इकाइ कार्यालय धनगढीलाई पत्र लेख्दै आवश्यक समन्वयको व्यवस्था गरिदिन भन्ने व्यहोरा आएको भन्दै यही कुरा अवगत गराएका छन् । सादा पोसाकमा अछाम आउने भारतीय प्रहरीमा अशोक पाण्डे, हवल्दार खगेश राठोर र जवान लक्ष्मी पटेल रहेका छन् ।

सादा पोसाकका भारतीय प्रहरी अछाम आएको जानकारि पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलले तत्काल गृह सचिव प्रेम राई र अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई ती प्रहरीलाई तत्काल नियन्त्रणमा लिन आग्रह गर्नुभएको थियो ।

घटनाको जानकारी पाएलगत्तै अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले तीनै जना भारतीय सुरक्षाकर्मीलाई जयगढबाट जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको र प्रहरीसँगै राखिएको जानकारी दिनुभयो । ‘जुन उद्देश्यले भारतीय प्रहरी अछाम पुगेका छन्, त्यसका लागि नेपालको अनुमति लिनुपर्ने हुन्थ्यो’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो ‘उनीहरुको प्रक्रिया पुगेको  छैन ।’  

भारतीय प्रहरीले खोजिरहेका बान्नीगढी जयगढ गाउँपालिकाका केटा र उनले ल्याएकी भारतीय केटी पनि अहिले जिल्ला प्रहरी कार्यालयमै रहेको श्रेष्ठले जानकारी दिनुभयो । केटा र केटी आफैँ प्रहरीकहाँ आएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाइ छ ।

भारतीय  प्रहरी र केटाकेटीलाई सुरक्षित रुपमा प्रहरी कार्यालयमा राखिएको र अगाडिको प्रक्रियाका लागि छलफल भैरहेको अछाम प्रशासनले जनाएको छ । भारतीय प्रहरी र उनीहरुले खोजेको केटा केटीका विषयमा अब के हुन्छ ? भन्ने जिज्ञासामा प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले भन्नुभयो ‘आवश्यक प्रक्रिया बारे परामर्शमा छौँ, भारतीय केटीलाई लिन उनका आफन्त कोही आएमा सबै प्रक्रिया पुगाएर पठाउने हो, प्रहरीसँग पठाउने होइन।’
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया