कम्बोडियाबारे बुझ्न परे मलाई साेध्नुस्, म पुगेर आएकाे छु: नेकपा नेता रावल

 असार ३, २०७६ मंगलबार १८:४४:५६ | चन्द्र थापा
unn.prixa.net

अछाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य भीम रावलले नेकपाले अहिले गाउँगाउँमा गरिरहेका कार्यक्रमले नेपाली कांग्रेसले केही समय अघि गरेका कार्यक्रमको हुँकार समाप्त भएको बताउनु भएको छ ।

जेठ २५ गते कैलाली कञ्चनपुरबाट जिल्ला कमिटिलाई पूर्णता दिँदै अछाममा पूर्णता पाएपछि भैरहेका जनसभाले कार्यकर्तामा उत्साह र उमंगको सञ्चार गरेको बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आयोजनामा अछामको कमलबजारमा भएको जनसभा कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहिसक्नुभएका नेता रावलले विगतमा नेपालको संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दीलाई नेपाली कांग्रेसले नाकाबन्दी भन्नेसमेत आँट नगरेको भन्दै नेपाली कांग्रेस देश र जनताभन्दा सत्तालाई ठूलो ठान्ने गरेको आरोप लगाउनु भयो ।

संविधान निर्माण गरेर नाकाबन्दी जस्तो जघन्य अपराधको कम्युनिष्टले सामना गरेको बताउनु भयो । केही समय अघि नेपाली कांग्रेसका नेता कमलबजार आएर कम्युनिष्टले नेपाललाई कम्बोडिया बनाउन लागेको भनेको प्रसंगमा उहाँले आफू कम्बोडिया नै गएर आएको भन्दै कम्बोडियाको बारेमा बुझ्न आफूलाई सोध्न आग्रह गर्नुभयो ।

सोमबार अछामको ढकारीमा भएको आमसभामा नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरी १५० बढी नेकपामा प्रवेश गरेका तर साँझ नै कांग्रेस नेता तथा ढकारी गाउँपालिका अध्यक्षले नेकपा प्रवेश गरेका केही युवाहरुलाई किन प्रवेश गरेको? भनेर हातपात गरेको भन्दै नेता रावलले असली अधिनायकवाद यही भएको बताउनु भयो ।

‘कांग्रेसले अधिनायकवादको गीत गाउन पर्दैन, उसका नेताहरुले नै अधिनायकवादका नमूना देखाइरहेका छन्, अधिनायकवाद कस्तो हुन्छ भन्ने कुरा यस घटनाबाट प्रष्ट हुन्छ’, रावलले भन्नुभयाे ।

अन्तिम अपडेट: चैत १४, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया