कांग्रेसप्रति प्रधानमन्त्री ओलीको कटाक्ष : संसद र संवादको बाटो हुँदाहुँदै माइतीघरमा नै उफ्रिने

 असार ३, २०७६ मंगलबार १८:४४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक भनिने नेपाली कांग्रेसले हरेक क्षेत्रमा निहुँ खोज्ने मात्रै काम गरिरहेको भन्दै मंगलबार प्रतिनिधिसभा बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गरेको बताउनुभयो । 

सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संसारभरको संसदीय प्रक्रियाविपरित कांग्रेसले संसदमा अमर्यादित क्रियाकलाप गरेको बताउनुभएको हो । 

पहिले नै आफूले बोल्ने समय लिइसकेको र संसारभरको अभ्यास पनि त्यस्तै रहेकाले मंगलबार कांग्रेसले देखाएको व्यवहार संसदीय मर्यादाविपरीत रहेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री ओलीले विगतमा पटक–पटक लडेर ल्याएको लोकतन्त्रलाई भड्काउने र बिथोल्ने काम भएको स्मरण गराउदै फेरि पनि भड्काउमा नपर्न कांग्रेसलाई सचेत गराउनुभएको हो । उहाँले भन्नुभयो, ‘राजनीति शक्तिहरुलाई म आग्रह गर्न चाहन्छु । पटक–पटक जनताका अधिकार दरबारमा बुझाइएका इतिहास छन् । आवेश, उत्तेजना र भावनामा बगेर त्यस्ता घटना नदोहोर्याउँ ।’

‘प्रधानमन्त्रीले बोल्ने भनेर पहिले समय तय भएकोमा कांग्रेसले पहिले बोल्न पाउनुपर्छ भनेर अड्डी लियो’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ’त्यतिमात्रै गरेन प्रधानमन्त्रीलाई बोल्न रोक्नका लागि बेलमा गएर संसदको काम कारबाही अवरुद्ध पार्ने काम भयो, विषय केही थिएन ।’

विपक्षी दलका नेता शेरबहादुर देउवा आफैले नेतृत्व गरेर आफै पहिले बोल्न पाउनुपर्छ भनेर आउँदा आफू आश्चर्यचकित भएको प्रधानमन्त्रीले बताउनुभयो । ‘शेरबहादुर देउवा आफैले नेतृत्व गरेर आफै पहिले बोल्न पाउनुपर्छ भनेर आउँदा म आश्चर्यचकित भएँ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘उहाँलाई संसदीय मर्यादा ख्याल हुनुपर्ने हो ।’ 

प्रधानमन्त्री ओलीले आफू देशबाहिर गएपछि गुठीका विषयलाई लिएर भ्रामक प्रचारबाजी गर्दै तनाव बढाउने काम भएको पनिे बताउनुभयो । गुठी सञ्चालन गर्न सस्थानले केही नगरेपछि त्यस्लाई चुस्त बनाएर लैजान प्राधिकरण बनाउने गरी विधेयक ल्याइएको उल्लेख गर्दै उहाँले यससम्बन्धमा उल्टो र भ्रमपूर्ण प्रचार गरेर तनाव बढाउने काम भएको बताउनुभयो । 

गुठी विधेयकलाई लिएर भएको आन्दोलनप्रति कुनै टिप्पणी नगर्ने भन्दै उहाँले आन्दोलन धर्म सस्कृतिप्रति माया गर्नेहरुले नै गरेको बताउनुभयो ।  सरकारले संसदमा पेस गरेको विभिन्न विधेयकका बारेमा संसदमा बसेर छलफल नगरी माइतीघरमा उत्रिने सस्कृति उचित नभएको बताउनुभयो । 

‘विधेयकमा छलफल गर्न सांसद छ । संसदमा छलफल गर्न सकिन्छ । राय सुझाव लिन सकिन्छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘तर माइतीघरमा उत्रिने ? यताउता केही भयो कि माइतीघरमा नै उफ्रिने । माइतीघर साच्चैको माइतीघर रहेछ ।’

लोकतन्त्रमा सम्वादबाट सबै कुराको समाधान गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले अहिले आन्दोलन गरिरहनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । आफ्नो दुनो सोझ्याउन खोज्नेहरुले विधेयकका बारेमा भ्रामक प्रचारबाजी गर्दै वातावरण बिगार्ने काम गरेको उहाँले बताउनुभयो   

यस्तै लोकतन्त्रको चौंथो अंगको रुपमा रहेको संचार जगत पनि शिष्ट हुन आवश्यक रहेको प्रधानमन्त्रीले बताउनुभयो । ‘अहिले टीभीले तपाईँ भन्न कसैलाई पनि जान्दैन, संस्कार बिर्सिसक्यो’, उहाँले भन्नुभयो, ‘यसले हामी कस्तो समाज सिर्जना गर्न चाहेका छौँ भन्ने प्रश्न उब्जाएको छ, हाम्रो समाजलाई कता लैजाने भन्ने हामीले नै हो ।’

‘एक जनाले जसलाई गाली गर्नुहुन्छ उसलाई मात्रै त्यो गाली गरेको भन्ने हुँदैन । त्यसले अरुलाई पनि असर गरेको हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले सबै संवेदनशील हुनु जरुरी छ ।’ प्रधानमन्त्री ओलीले केही विद्वान भन्नेहरुले बोलेको सुन्दा आफूलाई सरम लाग्ने गरेको पनि बताउनुभयो । 

‘केही विद्वान भन्नेहरुले बोलेको सुनेको छु । बोलेको सुन्दा सरम लाग्छ । संस्कृतिको रक्षा भन्ने बोलेको हुन्छ तर त्यसभित्र अमर्यादा, अभद्रता हुन्छ’, उहाँले भन्नुभयो, ‘त्यही भएर यो समाजमा म मात्रै बाँँच्छु भन्ने होइन मैले मात्रै भविष्य र पछिको देख्छु भन्ने होइन सबैका लागि हो यो कुरा ।’ 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया