कालाेपत्रे गरिएकाे लामीडाँडा विमानस्थलमा परीक्षण उडान

 असार ३, २०७६ मंगलबार २०:३२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ - कालोपत्रे गरिएको खोटाङको लामीडाँडा विमानस्थलमा मंगलबार  सफल परीक्षण उडान गरिएको छ ।

स्तरोन्नति गरिएसँगै रावाबेँसी गाउँपालिका–३, लामीडाँडामा रहेकाे विमानस्थलमा मंगलबार समिट एयरलाइन्सको विमानले सफल परीक्षण उडान गरेको हो ।

कुल ५६० मिटर लम्बाइ भएको विमानस्थलको धावनमार्गमा ५२० मिटर लम्बाइ र २० मिटर चौडाइमा कालोपत्रे गरिएपछि विमानस्थलमा बार्‍हैमास उडान हुने भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणको ६ करोड ३४ लाखको लगानीमा एकैसाथ दुई वटा विमान पार्किङ गर्न मिल्नेगरी कालोपत्रे गरिएको प्राधिकरणका विमानस्थल आयोजना प्रमुख विनायक भट्टराईले बताउनुभयो ।

विमानस्थल कालोपत्रे गरिएपछि गाउँपालिकाले विमानस्थलमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा परीक्षण उडान कार्यक्रम राखेको थियो । अतिथि भट्टराईले स्तरोन्नति गरिएको लामीडाँडा विमानस्थलमा निरन्तर उडान गर्नका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । 

निर्माण कम्पनी वाइएएन–एसएपी–सुर्य कन्ट्रक्सन जेभीले २०७३ साल कार्तिकमा विमानस्थल कालोपत्रेको सम्झौता गरेको थियो । सुरुको सम्झौता म्याद २०७४ साल माघ १६ गते नै गुज्रेपछि थप भएको ७ महिनाको म्याद पनि ठेकेदारले २०७५ साल असोजमै गुजारेको थियो । 

२०२८ सालदेखि सञ्चालनमा आएको कच्ची विमानस्थल कालोपत्रे गरेर स्तरोन्नति एवं परीक्षण उडान गरिएपछि जिल्लाको यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण टेवा पुगेको सहभागीले बताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया