दुर्घटनाको पीडा : छोराको विवाह गर्ने धोको अधुरै

 असार ४, २०७६ बुधबार १०:३९:५० | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सोमबार दिउँसो मष्टा गाउँपालिका वडा नम्बर १ को डौठी भन्ने ठाउँमा  से १ ज १०७२ नम्बरको जीप दुर्घटना भयो । दुर्घटनामा १० जनाले घटनास्थलमै ज्यान गुमाए भने ५ जना गम्भीर घाइते भए ।

ज्यान गुमाउनेमध्ये तीनजना एकै परिवारका थिए । मष्टा गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय कलक खड्का, उहाँकी श्रीमती अन्दाजी ३८ वर्षकी जुनधारा र कान्छा छोरा १२ वर्षका सरोज खड्काको दुर्घटनामा ज्यान गएको हो । १५ वर्षीया छोरी संगिता घाइते भएकी छिन् ।

दुर्घटनामा उनीहरुका आफन्त पर्ने ८ वर्षीया विपना खड्काको समेत ज्यान गयो । मृतक कलक खड्का भारतको केदारनाथ भन्ने ठाउँमा मजदुरी गरेर फर्किएको ४ दिन मात्रै भएको थियो ।

वैशाख महिनाको पहिलो हप्ता मजदुरी गर्न भारत गएका खड्का जेठ ३२ गते घर फर्किनुभएको थियो । उहाँका जेठा छोरा सन्देश खड्काको असार ५ गते विवाह गर्ने निधो भएको थियो । छोराको बिहेकै लागि उहाँ हतारहतार घर फर्किनुभएको थियो ।

जेठ ३२ गते घर पुगेका खड्का घरमा तयारी सकेर गरगहना किन्न सोमबार सदरमुकाम चैनपुर जानुभएको थियो । साथमा श्रीमती जुनधारा, कान्छा छोरा सरोज र आफन्त पर्ने ८ वर्षीया विपना खड्का पनि थिए । उनीहरुले सदरमुकाम चैनपुरमा रहेको लक्ष्मी विकास बैङ्कबाट १ लाख ५० हजार कर्जा लिएको छिमेकी बसन्त खड्काले बताउनुभयो ।

आफूलाई साक्षी राखेर छोराको विवाहका लागि भन्दै कलकले १ लाख ५० हजार रुपैयाँ ऋण निकालेर गरगहना तथा अरु सरसामान पनि किनेको बसन्त बताउनुहुन्छ । तर गरगहना र बिहेका अरु सरसामान घर पुर्याउन नपाउँदै उनीहरु दुर्घटनामा परे । छोरोको बिहेको लागि किनमेलसँगै गाउँघर र आफन्तलाई निम्तो पनि पठाइसकिएको थियो । तर छोराको बिहे गर्ने धोको अधुरै रह्यो ।
  
कान्छा छोरालाई पैसा पठाउन र माइलालाई लिन गएकी आमाको मृत्यु

दुर्घटनामा मष्टा गाउँपालिका वडा नम्बर १ कै ५२ वर्षीया धौलीदेवी खड्का र उहाँकी माइलो छोरा १९ वर्षका हिक्मत खड्काको पनि ज्यान गएको छ । धौलीका कान्छा छोरा पढाइको सिलसिलामा धनगढीमा छन् । उनलाई पैसा पठाउन सदरमुकाम चैनपुर पुगेकी धौलीको जीप दुर्घटनामा ज्यान गएको हो ।

माइलो छोरा हिक्मतचाहिँ लोकसेवाको तयारीका लागि भन्दै वैशाख पहिलो हप्ता काठमाण्डौ जानुभएको थियो । लोकसेवाको परीक्षा हुने, नहुने अन्यौल भएपछि उहाँ घर फर्कनुभएको थियो ।

माइलो छोरो काठमाण्डौ आउँदै गरेको थाहा पाएपछि आमा धौली उनलाई लिन र कान्छोलाई पैसा पठाउन भन्दै चैनपुर पुग्नुभएको थियो । काठमाण्डौबाट फर्किएका माइलो छोरोसँग चैनपुरमा भेट भएपछि कान्छो छोरोलाई पैसा पठाएर फर्कंदै गर्दा आमाछोराकै ज्यान गएको हो ।

यस्तै घरमा नुनतेल, चिनी चियापत्ती लिनका लागि घरको काम छोडेर सदरमुकाम चैनपुर बजारमा पुग्नुभएकी ७२ वर्षीया जुना खड्काको समेत दुर्घटनामा ज्यान गयो । उहाँको नाति गणेश खड्का गम्भीर घाइते भएका छन् । उहाँका छोराहरु रोजगारीका लागि भारतमा छन् ।

सोमबारको दुर्घटनामा एकै वडाका १० जनाको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया