संसदमा दर्ता भएको विधेयक बाहिरबाट फिर्ता लिनु अनुचित : देउवा

 असार ४, २०७६ बुधबार १२:४१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिपक्षी दललाई हेपेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षी दललाई सरकारले हेप्ने गरेको बताउनुभएको हो । उहाँले सरकारले विपक्षी दलमाथि बल गरेर अघि बढेको भन्दै त्यो कुनै पनि अवस्थामा आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो । विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री सदनमा उपस्थित हुनुपर्ने भन्दै उहाँले सरकारले प्रतिपक्षी दललाई सँधै हेप्ने गरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्री बोल्दा पनि विपक्षी नेता उपस्थित हुनुपर्छ । विपक्षी नेता बोल्दा पनि प्रधानमन्त्री आउनै पर्छ । तर यहाँ जहिले पनि हेप्ने काम भएको छ ।’ उहाँले मंगलबार संसदमा विपक्षी दलका नेतालाई बोल्न नदिएर सरकारले विपक्षी दलमाथि बलमिच्याई गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘हिजो मैले पहिले समय मागिसकेको थिएँ । प्रतिपक्षी दलले बोलिसकेपछि उहाँले जवाफ दिन पाउनुहुन्थ्यो । मेरो जवाफ दिन पाउनुहुन्थ्यो ।’

संसारभरी नै पहिले विपक्षीले बोल्ने र त्यसपछि प्रधानमन्त्रीले जवाफ दिने प्रचलन रहे पनि यहाँ उल्टो भएको सभापति देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसारभरका संसदीय व्यवस्था भएका देशमा पहिले विपक्षीले बोल्छ अनि प्रधानमन्त्रीले बोल्ने हो । जवाफ दिने हो प्रधानमन्त्रीले हो बोल्ने विपक्षीले हो । तर यहा ठिक उल्टो भयो ।’

सत्तापक्ष मात्रै बोल्नुपर्ने विपक्षीले बोल्न नपाउने भन्ने प्रश्न गर्दै उहाँले यस्तो बलमिच्याईले ‘डेमोक्रेसी’ नचल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जबरजस्ती गर्नु उपयुक्त हुन्छ ? सत्तापक्षले बोल्नुपर्ने विपक्षी बोल्न नपाउने ? यस्तो ‘डेमोक्रेसी’ हुन्छ ? बल मिच्याई चल्दैन । हामी कुनै हालतमा मान्ने वाला छैनौँ ?’

कांग्रेस नेतृत्वको सरकारमा प्रतिपक्षीमा बसेर ४८ दिनसम्म लगातार संसद अवरुद्ध गरेको स्मरण गराउदै उहाँले आफूहरुले बोल्नका लागि मात्रै समय माग गरेको बताउनुभयो । सदनमा विपक्षीलाई पहिलो पटक बोल्न प्रतिबन्ध लगाइएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिलो पल्ट बोल्नलाई प्रतिबन्ध लगाइयो,  प्रधानमन्त्री नबोली बोल्नै पाईँदैन भन्ने व्यवहार देखाइयो ।’ 

संसदबाहिरबाट विधेयक फिर्ता अनुचित

सभापति देउवाले गुठी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिनु सकारात्मक रहे पनि संसदबाहिरबाट फिर्ता लिनुले संसदीय व्यवस्था प्रति प्रश्न उब्जाएको बताउनुभयो । संसदमा पेश भएको विधेयक संसद चलेका बेला संसदबाट मात्रै फिर्ता लिनुपर्नेमा बाहिरबाट फिर्ता लिनु उचित नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसद चलेको बेला विधेयक बाहिरबाट फिर्ता लिन मिल्छ ? संसदमा फिर्ता लिन पर्ने हो नि । यो कहाँको संसदीय व्यवस्था हो ?’ सभापति देउवाले प्रतिपक्षी दलले माग गर्ने हो दिने सत्तापक्ष हो भन्दै आफूहरुले माग्दैमा सत्तापक्ष डराइहाल्न पर्ने अवस्था नरहेको पनि बताउनुभयो ।

‘मैले माग गर्ने हो । माग गर्नासाथ मानिहाल्न पर्छ भन्ने के छ र ?’ उहाँले भन्नुभयो, ‘मेरो अरु पनि माग छन् नि । शेरबहादुरले माग्यो मैले दिनुपर्यो भनेर भन्ने ? हाम्रो काम नै बोल्ने हो । दिने त हामीसँग छैन नि । हामी त सत्तापक्ष होइन नि ।’

लोकतन्त्रमाथि आक्रमण

उहाँले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, मानवअधिकार, राष्ट्रिय सुरक्षा परिषद्लगायतका संविधान विरोधी विधेयक संसदबाट पास हुन नदिने चेतावनी दिनुभयो । उहाँले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक प्रजातन्त्र माथिको आक्रमण भएको टिप्पणी गर्नुभयो ।

मिडिया काउन्सिल विधेयकमा दण्डको व्यवस्था राख्नुले  मिडियालाई तर्साउने धम्काउने र नियन्त्रण गर्न खोज्ने काम भएको उहाँको ठम्याइ छ । प्रजातन्त्रमा बोल्ने लेख्ने पूर्ण स्वतन्त्रता हुने भन्दै उहाँले राम्रो लेखे वा खराब लेखे स्वयं मिडिया जिम्मेवार रहने उहाँले बताउनुभयो । प्रजातन्त्रमा लेख्न बोल्न पाउँछ । तर त्यसमा दण्डको व्यवस्था गरेर बोल्न, लेख्न डराउने अवस्था ल्याउन खोजिएको उहाँले बताउनुभयो । 

‘यो भनेको प्रजातन्त्र माथिको आक्रमण हो, बहुदलीय व्यवस्थामाथिको आक्रमण हो,’ ’ उहाँले भन्नुभयो, ‘जुन देशमा फ्रि प्रेस छैन त्यहाँ ‘डेमोक्रेसी’ चल्दै चल्दैन ।’

प्रजातन्त्र र बहुदलीय व्यवस्था माथिको आक्रमण आफूहरुलाई स्वीकार्य नहुने भन्दै उहाँले सरकारले दबाउन खोजे सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । राष्ट्रिय सुरक्षा परिषद् विधेयकमा आफूले सेना परिचालन गर्न पाउने गरी व्यवस्था गरिएको भन्दै उहाँले प्रधानमन्त्रीले मातहतका निकायमाथि विश्वास गर्न नसकेको टिप्पणी गर्नुभयो ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया