२०५० सम्म विश्वको जनसंख्या २ अर्बले बढ्छ, २०२७ मा भारतले चीनलाई उछिन्छ

 असार ४, २०७६ बुधबार १३:४५:२५ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र संघले सोमबार जारी गरेको एक प्रतिवेदनका अनुसार, सन् २०५० सम्म विश्वको जनसंख्या २ अर्बले बढ्नेछ । 

राष्ट्र संघले जारी गरेको तथ्यांक अनुसार, अहिले विश्वको जनसंख्या ७ दशमलव ७ अर्ब छ भने तीस वर्षमा यो संख्या बढेर ९ दशमलव ७ अर्ब पुग्नेछ । त्यस्तै सन् २०२७ सम्म भारतको जनसंख्याले चीनलाई उछिन्नेछ । 

संयुक्त राष्ट्र संघको आर्थिक एवं सामाजिक विषयको विभाग जनसंख्या संकायले जारी गरेको ‘द वर्ल्ड पपुलेसन प्रस्पेक्ट्स २०१९’ प्रतिवेदनले यो दाबी गरेको हो ।प्रतिवेदनका अनुसार, यो शताब्दिको अन्त्य सन् २१०० सम्म विश्वको जनसंख्या ११ अर्बसम्म पुग्नेछ । 

प्रतिवेदनका अनुसार, बढ्ने दुई अर्ब जनसंख्याको आधा हिस्सा ९ देशको मात्र हुनेछ । भारत, नाइजेरिया, पाकिस्तान, कंगो गणराज्य, इथियोपिया, तान्जानिया, इण्डोनेसिया, मिस्र र अमेरिकाले आधा हिस्सा व्यहोर्नेछन् । 

गरिब देशमा जनसंख्या बढ्ने दर सबैभन्दा उच्च

प्रतिवेदनका अनुसार, विश्वका सबैभन्दा गरिब देशहरुमा जनसंख्या बढ्ने दर सबैभन्दा उच्च रहेको छ । बढ्दो जनसंख्याका कारण गरिब देशहरुमा भोकमरी, कुपोषणजस्ता समस्या झन् बढ्नेछ र औसत आयुमा पनि प्रभाव आउनेछ । 

प्रजनन दर घट्ने र वृद्ध मानिसको जनसंख्या बढ्ने

औसत आयु बढ्ने र प्रजनन दरमा गिरावट आउँदा वृद्ध मानिसको जनसंख्या तीव्र गतिमा बढिरहेको छ । सन् २०५० सम्ममा हरेक छ जना मध्ये एक व्यक्तिको उमेर ६५ वर्ष वा त्योभन्दा माथि हुनेछ । जनसंख्याको आकार सन्तुलन नहुँदा विकासको लक्ष्य पनि हासिल गर्न सकिँदैन । 

यी हुन् सबैभन्दा कम जनसंख्या बढ्ने क्षेत्रहरु–

१. यूरोप, उत्तर अमेरिका – २ प्रतिशत
२. पूर्वी एवं दक्षिण पूर्व एसिया – ३ प्रतिशत
३. ल्याटिन अमेरिका, क्यारेबियन देश – १८ प्रतिशत
४. केन्द्रीय तथा दक्षिण एसिया – २५ प्रतिशत
५. अष्ट्रेलिया-न्यूजिल्याण्ड – २८ प्रतिशत

 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया