सरकारले चाैथाे मधेस आन्दाेलन गर्न बाध्य नबनाओस् : सांसद कर्ण

 असार ४, २०७६ बुधबार १३:२६:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय जनता पार्टीले चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराएकोे छ । 

बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्दलगायतका माग गर्दै आए पनि सरकारले नसुनेको भन्दै चौथो मधेस आन्दोलनका लागि वाध्य नबनाउन सरकारलाई सचेत गराउनुभयो ।

सरकारले रोष्ट्रम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उहाँले लगाउनुभयो । उहाँले भन्नुभयो, 'सरकार कुन बेला बोल्ने ? रोष्टम घेरेपछि मात्रै बोल्ने सरकारले एउटा सिस्टम बसाइराखेको रहेछ । संख्यागत रुपमा हामी जति भए पनि रोष्ट्रम घेर्नका लागि हामी डराएको होइन । संस्कृति नबसोस् । संसद सुचारु रहोस् । सरकार यसै ढंगले जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्ट्रम घेराउ गर्दछौँ ।' 

उहाँले संविधान विपरीत लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेशी समुदायमाथि फेरी तरबार चलाउने काम गरेको आरोप लगाउनुभयो । सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उहाँले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद कर्णले संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयन नगरेर सरकारले ‘चौथो मधेस आन्दोलन निम्त्याएको हो ?’ भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, के सोचेको हो यसले ? समानुपातिक समावेशी हामी खोस्न सक्छौ भन्ने सोचेको हो ? कसैले माने पनि राष्ट्रिय प्रजातन्त्र पार्टी मान्दैन । संसदमा सुन्दैन भने सडकमा जान्छ । उहाँले सत्तारुढ दलका सांसदहरुलाई विधेयकमाथि दोहोरो चरित्र नदेखाउन पनि सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो, 'हिजो माइतीघर मण्डलामा गएको थिएँ । सत्तापक्षका माननीयहरुले पनि विधेयक खारेज गर भनेर भाषण गरिराखेको देखेँ । सडक पनि सत्ताको राज्य पनि सत्ताको । प्रतिपक्ष कहाँ जाने भन्ने एउटा प्रश्न खडा भएको छ । म सरकारमा सम्मिलित माननीय ज्यूहरुलाई सोध्दै छु कि तपाईँको सडक होइन सरकार हो किन प्रश्न उठाउनुभएन ? किन यस्तो विधेयक आयो ? मन्त्रिपरिषदमा तपाईँहरु बस्नुभएको छैन ? त्यहाँ पास गरिदिने । र सडकमा गएर फिर्ता हुनुपर्छ भनेर नारा लगाउने ? यो दोहोरो चरित्र चल्दैन ।'

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफैले गरेको प्रतिबद्धताबाट पछि हटेको भन्दै उहाँले यसले जनताको सरकारमाथिको विश्वास टुटाउने काम गरेको टिप्पणी गर्नुभयो ।

'कति कराउने यो गिरीशचन्द्र लालको प्रतिवेदनमा ? त्यो भित्र के छ, जनताले बुझ्न सकेको छैन । जनताको सम्पत्ति जनतामा आउनलाई किन ढिलाइ ? त्यसका लागि पनि यो रोष्ट्रम घेर्न पर्ने हो कि ? सरकारले बोल्छ भने त्यो सत्य हुन्छ । सरकारले बोलेको कुराबाट आफैँ पछाडि हट्छ भने कसले, कुन जनताले विश्वास गर्ने यो सरकारमाथि ?,' उहाँले भन्नुभयो ।   

उहाँले सरकारलाई लोकतन्त्रको हत्या गर्ने काममा उद्दत नहुन सुझाव दिनुभयो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया