बझाङ जीप दुर्घटना : गाउँ नै शोकमा डुब्यो, सामूहिक अन्त्येष्टिमा सबैका आँखा रसाए

 असार ४, २०७६ बुधबार १८:९:५८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – जीप दुर्घटनामा परेर ज्यान गुमाएका १० जनाको बुधबार सामूहिक अन्त्येष्टि गरिएको छ । यो जीप दुर्घटनालाई जिल्लाकै अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना मानिएको छ । 

दुर्घटनामा परेका जीप मालिक र मृतक परिवारबीच क्षतिपूर्तिका लागि सहमति भएपछि जिल्ला अस्पतालबाट शव बुझेर मृतकका आफन्तले परम्पराअनुसार घाटमा दाहसंस्कार गरेका हुन् ।  

जिल्ला अस्पताल सिमखेतबाट सुरु भएको मृतक दश जनाको शव यात्रामा सदरमुकामवासी, मृतकका आफन्त र शुभचिन्तकहरुको ठूलो भिडभाड थियो । दश जनाको लामबद्ध शव यात्रामा आफन्त र अन्य मानिसहरुको रुवावासी पनि सुन्न सकिन्थ्यो । 

शव यात्रामा भेटिनुभएका स्थानीय रामचन्द्र रोकायाले भन्नुभयो, ‘जिल्लामा यस्तो अप्रिय घटना कहिले पनि भएको थिएन र अब कहिले पनि यस्तो नहोस् । यो घटनाबाट पाठ सिकेर अब यस्तो घटना दोहोरिन नदिन सरकारले नीति बदल्नु पर्छ ।’ 

जीप दुर्घटनामा ज्यान गुमाएका बुबा कलक खड्का र आमा जुनधारा खड्काको शवलाई छोरा सन्देश खड्काले दागबत्ती दिए । त्यस्तै सन्देशका भाइ सरोज खड्का र बहिनी विपना खड्काको शव खाल्डोमा गाडिएको छ । 

५० वर्षीया श्रीमती घौली देवी खड्का र छोरा हिक्मत खड्कालाई धौलीका श्रीमान् अकल खड्का भारतबाट आएर दागबत्ती दिएका थिए । साथै मृतक जुना खड्कालाई पनि त्यही घाटमा दागबत्ती दिइएको थियो । रनाडा गाउँका मृतक लक्ष्मी द्वाल र भक्त द्वालको शवलाई आफन्तले दागबत्ती दिए ।

कोटदेबल गाउँका मृतक सात जना र रनाडा गाउँका मृतक दुई जना गरी नौ जनाको सदरमुकाम चैनपुर पारिपट्टी धौलाबगर घाटमा सामूहिक अन्त्येष्टि गरिएको थियो । त्यस्तै जीपका चालक सुरेन्द्र थापाको भने जिनाडा गाउँको कपडे घाटमा अन्त्येष्टि गरिएको हो ।   

शव यात्रामा एक हजारभन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो । घाटमा शव जलिरहँदा अन्त्येष्टिमा सहभागी भएकाहरुको आँखा रसाएका थिए । अन्त्येष्टिमा भेटिनुभएका कोटदेबल घर भएका फोनबहादुर खड्काले अबका दिनमा यस्ता घटना घट्न नदिन सरकारी तह र यातायात व्यवसायीहरु संवेदनशील हुनुपर्ने बताउनुभयो । 

सामूहिक दाहसंस्कार गरिएको स्थल सदरमुकाम चैनपुर पारिपट्टी स्थानीय जनप्रतिनिधि, पार्टीका नेता, कर्मचारी र स्थानीयकोसमेत उपस्थिति रहेको थियो । 

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भन्नुभयो, ‘यो घटनाले मलाई साह्रै दुःख लागेको छ । भविष्यमा यस्तो घटना नदोहोर्‍याउन जिल्लाभरिका सबै यातायात व्यवसायी, चालक, सरोकारवालाहरुलाई बोलाएर ट्राफिक नियमको पालना गर्न लगाउँछु ।’  त्यस्तै उहाँले कानुन विपरीत सञ्चालन भएका सवारी साधनलाई रोक लगाउने, चालकहरुको इजाजत छ/छैन खोजी गर्ने र जोखिमयुक्त सडकहरुलाई नसुधारेसम्म जीप सञ्चालनमा पूर्णरुपमा रोक लगाउने पनि जानकारी दिनुभयो । 

यो घटनाले जिल्ला नै शोकमा डुबेपछि मष्टा गाउँपालिकाले बुधबार औपचारिक रुपमा गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको छ । मृतक परिवारलाई क्षतिपूर्तिका लागि जीपका मालिकले तीन-तीन लाख दिने सहमति भएको छ । 

त्यस्तै जीप दुर्घटनामा परेर घाइते भएका नेपालगञ्जमा उपचार गराइरहेका पाँच जनाको स्वास्थ्यमा सुधार हुँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया