मनसुनी गतिविधि बढ्यो, साँझपख पानी पर्ने सम्भावना

 असार ५, २०७६ बिहिबार ९:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन भित्र्याउने वायु देशको पूर्वी भूभागमा सक्रिय हुन थालेकाले देशको पूर्वी तथा मध्य भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

‘मनसुन भने अझै पनि भित्रिएको छैन । पूर्वी भूभागबाट मनसुन भित्र्याउने वायु प्रवेश गरेकाले मनसुनी गतिविधि बढेको हो ।’ महाशाखाका मौसमविद् वरुण पौडेलले भन्नुभयो । उहाँका अनुसार बिहीबार पश्चिम तराई र काठमाण्डौसहित मध्य क्षेत्रमा दिउँसो मौसम सफा भए पनि बेलुकीतिर भने पानी पर्ने संभावना छ । 

मनसुन सुरु हुने संकेत देखिन थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने मौसमविदहरुले बताएका छन् । पछिल्लो साता काठमाण्डौ उपत्यकासहित देशभरिको तापक्रम ह्वात्तै बढेको थियो । तापक्रम वृद्धि भएपछि तराईको जनजीवन प्रभावित भएको थियो । 

गएको साता शुक्रबार काठमाण्डौको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस पुग्यो । उपत्यकामा यो तापकक्रम वर्षकै सबैभन्दा धेरै हो । गएको सोमबार दिउँसोदेखि आंशिक तथा सामान्य बद्ली भएर बेलुका पानी परेपछि तापक्रम केही मात्रामा घट्दै गइरहेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया