डेंगुको डर : गाडीसँगै लामखुट्टे पहाड र हिमाल चढे, अनि संक्रमण फैलियो

 असार ५, २०७६ बिहिबार १२:४२:४१ | विवेककुमार लाल
unn.prixa.net

डेंगु भनेको एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यो लामखुट्टेमा हुने डेंगी नामको भाइरसका कारण यो रोगको संक्रमण हुन्छ । यो सेतो कालो रङको हुने भएकाले यसलाई ‘जेब्रा मोस्कुइटो’ पनि भन्छन । यो लामखुट्ट सफा पानीमा बस्छ । बिहान र बेलुकी बढी सक्रिय हुन्छ ।

सफा पानीमै बस्ने भएकाले यसले पानी जम्मा गरेर राखेको भाँडोमै फुल पार्न सक्छ । बिहान र बेलुकी सक्रिय हुने भएकाले यसले गोधुली साँझ र झिसमिसे बिहानमा बढी टोक्ने गर्छ ।

सफा पानीमै बस्ने र फुल पार्ने यो लामखुट्टेले टोकेमा उच्च ज्वरो आउँछ । अहिले पनि धेरै ठाउँमा खानेपानीको समस्या छ । तर त्योभन्दा बढी शहरउन्मुख क्षेत्रमा यसको बढी प्रभाव छ । 

यसको मुख्य कारण के हो भने छतमा कालो ट्यांकी राख्छौँ । त्यही ट्यांकीबाट आएको पानी प्रयोग गर्छौं । घरमा टुटेफुटेको बाल्टिनमा लुगा धुनकै लागि पनि पानी जम्मा गरेर राख्छौं । घर बाहिर राखिएका गमलामै पनि पानी जमेपछि त्यसमा एडिस प्रजातिको लामखुट्टेले फुल पार्ने र त्यसबाट लार्भा विकसित हुन्छ र यो लामखुट्टे हुर्किन्छ ।

यसले फोहोर पानी छाडेर सफा पानीमा मात्रै फुल पार्छ । सफा पानी हामीले पिउनकै लागि प्रयोग गर्छौं । त्यसैले हामीले पिउने पानीमा यसको भाइरस सजिलै मिसिन सक्छ र हामी डेंगुबाट संक्रमित बन्न सक्छौं ।

अचम्म त के भने यसले फुल पारेको पानी राखेको भाँडामा केही दिनसम्म पानी नभए पनि यो जीवित रहन्छ । फेरि पानी त्यहाँ राखियो भने यसको लार्भा विकसित भएर हुर्कन सक्छ । त्यसैले डेंगुको संक्रमणबाट जोगिन धेरै चुनौती छ ।

पछिल्लो समय नेपालमा मात्रै होइन, विश्वव्यापी रुपमा डेंगुको संक्रमण बढ्दै गएको छ । मनसुनपछि मात्रै देखिने यो लामखुट्टे र यसको संक्रमण प्रि–मनसुनमै देखिन थालेको छ । र यसको भाइरसका कारण सयौँ बिरामी पर्न थालेका छन् ।

यो विश्वव्यापी समस्या बन्दै गएको छ । सबैतिर संक्रमण बढ्दै गएको छ । यस वर्ष मनसुन अगावै डेंगु देखियो । पछिल्ला केही वर्षयता प्रिमनसुनमै डेंगु देखिनु जलवायु परिवर्तनको असर हो । 

डेंगी भाइरस सफा पानीबाटै फैलिन सक्ने भएकाले यो धेरै जोखिमपूर्ण छ । कीटजन्य रोगमा मलेरिया, कालाजार, हात्तीपाइले, डेंगु लगायतका रोग तराईमा धेरै हुन्छ भन्ने थियो । तर जलवायु परिवर्तनका कारण यी रोग अहिले पहाडी र केही हिमाली जिल्लामा पनि देखिन थालेका छन् । तापक्रम बढ्दै गएपछि पहाडी र हिमाली जिल्लामा पनि लामखुट्टेको वृद्धि विकास हुने वातावरण अनुकूल बन्दै गएको छ ।

अर्को कुरा यातायातका साधन अहिले पहाडी र हिमाली जिल्लामा पनि पुगिरहेका छन् । गाडी नपुग्ने ठाउँमा गाडी पुगे । गाडीसँगै सामान पुग्यो । तराईका धेरै कुरा पहाड र हिमाल चढे । सामान सँगसँगै लामखुट्टे र किरा पनि पुगे । अनि तापक्रम बढ्दै गएपछि लामखुट्टे अनुकूल वातावरण बन्यो । र रोगको संक्रमण फैलिन थाल्यो ।

विश्व स्वास्थ्य संगठनकै पछिल्ला तथ्य, तथ्यांक र अध्ययन हेर्ने हो भने पनि विश्वको आधा जनसंख्या डेंगु रोगको जोखिममा छ । आधुनिक जीवनशैली लामुखुट्टे अनुकूल बन्दै गएको छ । किनकी गाउँ शहरउन्मुख छ । शहरी क्षेत्र र शहरउन्मुख क्षेत्रमा डेंगुको संक्रमण फैलिंदो छ ।

डेंगु रोग लागेपछि उच्च ज्वरो आउने, हात खुट्टा दुख्ने, टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ । यसको दुखाई अरुभन्दा बढी हुन्छ । हड्डी भाँचिएजस्तो गरी दुख्छ, जसलाई ‘बोन ब्रेकिङ फिभर’ भनिन्छ । त्यसैले यो गम्भीर खालको रोग हो ।

तर धेरै बिरामीमा साधारण खालको ज्वरो आउनेबित्तिकै उपचार सुरु गरे निको हुन्छ । तर संक्रमण हुँदैमा ज्यान नै जाँदैन । डेंगी भाइरसको संक्रमण हुँदैमा अत्तालिनु हुँदैन । यो रोग सरेका एक सय जनामध्ये ९५ मा साधारण ज्वरो आउँछ । एक, दुई जनामा गम्भीर खालको ज्वरो आउन सक्छ । तर यस्तो अवस्थामा सिटामोल र  झोलिलो खानेकुरा खाएर आराम गर्ने हो भने सञ्चो हुन्छ । तर हेलचेक्राईं गर्दा ज्यानै पनि जान सक्छ ।

यसको नियन्त्रणका लागि प्रयास भइरहेको छ । धरान, झापा, सुनसरी लगायतका जिल्लामा जति संक्रमण देखिएको छ । त्यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले दक्ष जनशक्ति परिचालन गरेका छन् ।

तर यो रोगको भाइरस देखिएपछि नियन्त्रणको काम सुरु गर्दा प्रभावकारी नहुन सक्छ । फेरि अरु लामखुट्टेभन्दा फरक स्वभावको यो एडिस प्रजातिको लामखुट्टेबाट बच्न सधै चनाखो हुनुपर्छ । पानी भण्डारण गर्दा, भण्डारण गरेको पानी प्रयोग गर्दा र सफा पानी पिउँदा ख्याल गर्नुपर्छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी राम्रोसँग पुर्नुपर्छ । वर्षा लागेपछि अझ बढी चनाखो हुनुपर्छ । आफू र आफ्नो वरिपरिको वातावरण सफा राख्यो भने लामखुट्टेबाट हुने संक्रमण र डेंगु रोगबाट पनि बच्न सकिन्छ ।

(इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुका प्रमुख विवेक कुमार लालसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: असार ३१, २०७६

विवेककुमार लाल

विवेककुमार लाल इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुका प्रमुख हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया