श्रम समझदारी कार्यान्वयनबारे नेपाल र मलेसियाबीच छलफल

 असार ५, २०७६ बिहिबार १३:१५:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र मलेसियाबीच भएको श्रम समझदारी कार्यान्वयनबारे दुवै देशका प्रतिनिधिबीच छलफल भएको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएल‍ओ)को शतवार्षिकी सभामा सहभागी हुन जेनेभा पुगेका मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनसँग भएको छलफलमा एक महिनाभित्र प्राविधिक टोलीको बैठक गर्ने सहमति भएको हो ।

मलेसियन मन्त्रीसँगको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिब महेशप्रसाद दाहाल र सहसचिव रामप्रसाद घिमिरे सहभागी हुनुभएको थियो ।

श्रम समझदारी कार्यान्वयनको लागि बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंग्याउने गरी छलफल भएको घिमिरेले जानकारी दिनुभयो । गएको कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम समझदारी भए पनि कार्यान्वयनमा आउन सकेको छैन ।

पहिलो प्राविधिक टोलीले कामदार लैजानेबारे ढाँचा तयार पारे पनि अरु प्रक्रियागत विषय टुंगो लाग्न बाँकी छ । सरकारले मलेसियामा कामदार पठाउन रोक लगाएको एक वर्षभन्दा बढी भैसकेको छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया