१० दिन ढिलो गरी नेपाल भित्रियो ‘मनसुन’

 असार ५, २०७६ बिहिबार १३:२७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यो वर्षको मनसुन बिहीबार पूर्वी नेपालबाट प्रवेश गरेको छ । पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर सक्रिय हुन भने अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

नेपालमा सामान्यतया मनसुन जुन १० मा प्रवेश गर्ने गर्दछ । यही आधारमा यो वर्षको मनसुन १०  दिन ढिलो सुरू भएको छ ।

साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । 

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले यसअघि यो वर्षको मनसुन कस्तो हुन्छ भन्नेबारेमा गरेको अध्ययनमा मनसुनी वर्षा नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ को  केही पश्चिमी  भू–भागहरुमा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ भने बाँकी गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा औसत वर्षा हुने अनुमान गरिएको छ । 

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने यो भन्दा कम र बढि वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ ।

‘यो वर्षको मनसुन पूर्वी नेपालबाट भित्रिसकेको छ,’ महाशाखाका मौसमविद् सुवास रिमालले भन्नुभयो, ‘यो मनसुनी वायु सुदूर पश्चिमसम्म पुग्नलाई अझै एक साता जति लाग्छ । नेपालमा मनसुनी वायु प्रवेश गरे पनि अहिले वर्षाको प्रणाली त्यति सक्रिय भएको देखिँदैन । यसबारे विस्तृत अध्ययन पछि मात्र जानकारी दिन सकिन्छ ।’ उहाँले भन्नुभयो, ‘अहिले मनसुनी वायुको प्रभाव पूर्वी भूभागमा मात्रै देखिएको छ ।’

पछिल्ला केही वर्षयता मनसुन केही पछाडि सर्दै गएको छ । औसत जुन १० मा सुरु भएर सेप्टेम्बर २३ मा सकिने मनसुन अक्टोबरसम्म लम्बिरहेको छ ।

प्रत्येक वर्ष हिन्द महासागरलगायत ठाउँमा उत्पत्ति हुने मनसुनी वायु केरला हुँदै उत्तरपूर्वतिर बढ्दै भारतका विभिन्न स्थान तथा बंगलादेशतिर प्रवेश गर्छ । त्यहाँबाट मनसुनी वायुको दिशा परिवर्तन भई दक्षिणपूर्वी दिशाबाट नेपाल प्रवेश गर्छ ।
 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया