कांग्रेसप्रति याेगेश भट्टराईकाे व्यङ्ग्य : संविधान नमाने पनि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाइएकै छ

 असार ५, २०७६ बिहिबार १६:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले विपक्षी दलले संविधान र कानुनको उलंघन गरेको टिप्पणी गर्नुभएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै उहाँले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीले संविधान नियम, कानुन नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको बताउनुभएको हो ।

प्रधानमन्त्रीले बोल्न खोजेको बेला समय नपाउनु भनेको संसदीय इतिहास र परम्पराविपरीत भएको तर्क उहाँले गर्नुभयो ।  उहाँले आफूलाई प्रजातन्त्रवादीको श्रीपेच लगाएर मात्रै नहुने भन्दै उहाँले प्रतिनिधिसमा नियमावलीको दफा १२ मा दैनिक कार्यसूचीको बारेमा उल्लेख भएको र त्यसलाई ससदमा रहेका सबैले मान्नुपर्ने बताउनुभयो ।  

उहाँले कांग्रेसप्रति व्यङ्ग्य गर्दै भन्नुभयो, 'सभामुखका आदेश मान्दैनौँ ? नियम मान्दैनौँ । कानुन मान्दैनौँ। संविधान मान्दैनौँ । किन कि हामी दुनियाले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ । संविधान नमाने पनि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाइएकै छ । त्यसकारणले संविधान मान्दैनौ । कानुन मान्दैनौ । कानुन र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ ।' उहाँले आगामी दिनमा यस्ता क्रियाकलापप्रति पुर्नविचार गर्न पनि कांग्रेसलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, 'मलाई त लागेको थियो, नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो, त्यसमा आत्मालोचन गर्ला भनेको त भोलिपल्ट आएर झन रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो ढंगले पो यहाँ प्रस्तुत हुन थाल्नुभयो ।'

उहाँले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समय बेलायतमा पढेपनि त्यहाँको संसदीय अभ्यासलाई भने नबुझेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, 'विश्वविद्यालयतिर धेरै जानुपर्ने भएकाले होला बेलायतको संसदतिर भने जान उहाँलाई फुर्सद भएनछ । त्यसकारण बेलायतको अभ्यास के थियो ? दुनियाँको संसदीय अभ्यास के थियो भन्ने सायद कम जानकारी भयो होला ।'

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया