श्रीलंकालाई जित्नै पर्ने दबाब, इंग्ल्याण्डकाे नजर सेमिफाइनल

 असार ६, २०७६ शुक्रबार ८:५४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंका अहिलेसम्म अंकतालिकाको मध्यतिर झुण्डिरहेको छ । तर बाँकी खेलहरुमा जित हासिल नगर्ने हो भने त्यो अवस्था लामो समयसम्म रहँदैन । र, यस्तो अवस्थामा उसले आयोजक टोली इंग्ल्याण्डको सामना गर्दैछ । 

इंग्ल्याण्ड एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ । जारी विश्वकपको उपाधि दाबेदारितामा सबैभन्दा अगाडि देखिएको इंग्ल्याण्डले शीर्ष चारभित्र आफूलाई सुरक्षित गर्ने अभियानमा धेरै सफलता हासिल गरिसकेको छ । 

यता श्रीलंका भने संघर्ष गरिरहेको छ । विश्वकपमा अहिलेसम्मका ५ खेलमा उसले एउटा मात्र जितेको छ । दुई खेल वर्षाले रद्ध भएको थियो । दुई खेलबाट पाएको एक-एक अंकका कारण उसले मध्यतालिकामा स्थान पाएको हो । 

इंग्ल्याण्डका लागि यस खेलमा जेसन रोय हुने छैनन् । ह्याम्स्ट्रिङको चोटका कारण उनी वेष्ट इण्डिजबिरुद्ध पनि खेल्न सकेका थिएनन् । तर उनको अनुस्थितिले शक्तिशाली ब्याटिङ लाइन अप भएको इंग्ल्याण्डका लागि केही फरक पर्ने छैन । उनको स्थानमा जेम्स भिन्स टिममा आएका छन् । आजको खेलमा जित हासिल गरे इंग्ल्याण्डले सम्भवतः विश्वकपको सेमिफाइनलमा स्थान बनाउनेछ ।

श्रीलंकाका लागि यो निकै कठिन खेल हो । तर, प्रतियोगितामा केही उत्कृष्ट प्रदर्शन गरी आफूलाई प्रमाणित गर्न उसका लागि अवसर पनि हो । श्रीलंकाली टोलीले अहिलेसम्म ब्याटिङमा सन्तोषजनक प्रदर्शन गरेको छ । तर बाँकी २ क्षेत्रमा भने उसको प्रदर्शन निकै कमजोर देखिएको छ । इंग्ल्याण्डविरुद्ध उसले शतप्रतिशत प्रदर्शन गर्नु आवश्यक हुन्छ । 

लिड्समा शनिबार वर्षाको सम्भावना निकै कम छ । यही मैदानमा इंग्ल्याण्डले विश्वकपअघि पाकिस्तानविरुद्धको सिरिजको अन्तिम खेल खेलेको थियो र ३५० भन्दा बढीको योगफल रक्षा गर्ने क्रममा ५४ रनको जित हासिल गरेको थियो ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया