कुवेतमा मृत्यु भएकी झापाकी सुमित्राको परिवारलाई सम्पर्कमा आउन दूतावासको आग्रह

 असार ६, २०७६ शुक्रबार १२:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – घरेलु कामदारको रुपमा कुवेत पुगेकी झापाकी ४१ वर्षीया सुमित्रा जबेगु लिम्बूको ज्यान गएको तीन हप्ता बितिसक्दा समेत शव नेपाल ल्याउन सकिएको छैन ।

लिम्बूको परिवार र आफन्तसँग सम्पर्क हुन नसक्दा शव नेपाल पठाउन नसकिएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । 

बिरामी भएपछि उपचारको लागि भर्ना गरिएकी सुमित्राको उपचारको क्रममा जेठ १४ गते ज्यान गएको थियो । उहाँ ६ वर्षअघि श्रम स्वीकृति लिएर घरेलु कामदारको रुपमा कुवेत पुग्नुभएको दूतावासले जनाएको छ । 

पाँचथर जिल्लाबाट सन २०१३ फेब्रुवरी २७ मा जारी गरिएको राहदानीमा सुमित्राको भाइको नाम नैना लिम्बू र स्थायी ठेगाना महाभारा ३ झापा उल्लेख छ । तर परिवारसँग अझै सम्पर्क हुन नसकेको दूतावासले जनाएको छ । 

नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरले भन्नुभयो, ‘मृतक सुमित्राको शवलाई नेपाल पठाउने सबै कानुनी प्रक्रिया पूरा भैसकेको छ । तर परिवार वा आफन्त कोहीसँग सम्पर्क हुन नसक्दा शर्व नेपाल पठाउन सकिएको छैन ।’

सुमित्रा या उहाँको परिवार र आफन्त चिन्नेहरुले नेपाली दूतावास कुवेतको हटलाइन नम्बर ००९६५ ९८८६९१२१ मा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया