निर्मला हत्या प्रकरण: पाँच प्रहरीका नाममा यातनाविरुद्धकाे मुद्दा दायर

 असार ६, २०७६ शुक्रबार १९:२४:१९ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा पाँच जना प्रहरीविरुद्ध उजुरी दर्ता गरिएको छ ।

निर्मला हत्याकाण्ड प्रकरणमा पक्राउ परेका भीमदत्त नगरपालिका-१८ सालघारीका १६ वर्षीय विशाल चौधरीले पाँच जना प्रहरीविरुद्ध उजुरी दर्ता गरेका छन् । हिरासतका बेला यातना दिएको भन्दै तत्कालीन प्रहरी प्रमुख कुबेर कडायतसहित अनुसन्धानमा खठिएका अन्य चारजना प्रहरी विरुद्ध उनले उजुरी दिएका हुन् । 

तत्कालीन प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायत, प्रहरी नायब निरीक्षक प्रवक्ता कृष्ण राज ओझा, विशेष अनुसन्धानका लागि खटिएकी एसपी दुर्गा सिंह चन्द र नाम नखुलाइएका अन्य दुई जना प्रहरीविरुद्ध उजुरी दर्ता गरिएको हो ।  

चौधरीले बिहीबार नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोजे पनि प्रहरी मुद्दा दर्ता मानेको थिएन । प्रहरीले मुद्दाको हद म्याद नाघिसकेको र आफ्नो कार्यक्षेत्र अधिकार बाहिर रहेकाले उजुरी दर्ता नगर्ने बताएपछि चौधरीले शुक्रबार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ को १ अन्तर्गत सरकारी वकिलको कार्यालयमा पुगेर उजुरी निवेदन दिएका हुन् ।  

चौधरीको निवेदनको आधारमा दफा ५ को २ अनुसार मुद्दा दर्ता आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको जिल्ला न्यायाधिवक्ता देवराज भारतीले बताउनुभयो । सरकारी वकिल कार्यालयबाट पत्र आएपछि प्रहरीले मुद्दा दर्ता गरेको अधिकारकर्मी शारदा चन्दले बताउनुभयो । 

गएको मंसिर १९ मा पक्राउ परेका विशाललाई प्रहरीले १७ दिन हिरासतमा राखेर रिहा गरेको थियो । प्रहरी हिरासतबाट छुटेको ६ महिनापछि उनले अधिकारकर्मीको सहयोगमा यातनाविरुद्धको उजुरी दिएका हुन् ।

यस अघि यातना दिएकाे र प्रमाण नष्ट गरेको भन्दै आठ प्रहरीविरुद्ध दिएको मुद्दा आदालतमा पुगेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया