माइतीघरमा जनसागर : तीनतिरबाट दूरबिन !

 असार ७, २०७६ शनिबार ८:४३:१७ | मिलन तिमिल्सिना
unn.prixa.net

दुई चम्चा घिउ खाँदा मान्छेको जीउ मात्रै होइन, गिदी पनि बलियो हुन्छ । गिदी बलियो भएको मान्छेले सबैलाई काम लाग्ने कुरा मात्र फुराउँछ, झारेझुरे बात नै गर्दैन । जीउ बलियो हुँदा सितिमिति कसैले थर्काउने र गलाउने आँट गर्नै सक्दैन । दुई चम्चा घिउ खानेको दिमागमा तेज हुन्छ, जीउमा बेग हुन्छ ।

तर दुई तिहाई जनमत भएको सरकारको न जीउ बलियो देखियो, न दिमाग तेजिलो । आफूले जे गर्छु भन्छ, त्यो गर्दैन । अरुले जे गर्न हुँदैन भन्छन्, त्यही गर्छ । न दिमाग खियाउँछ, न ज्यान हल्लाउँछ । आफ्नो दिमाग राम्रो नचलेपछि अरुको दिमागले काम गर्छ । भारी भएको ज्यान ठाउँमा नलगाउँदा अरुले लडाउन सक्छ ।

यसपाली त्यही भयो । ठूलो र भारी ज्यान भएको दुई तिहाईलाई गुठी विधेयकले उत्तानो टाङ लगायो । गुठीले उत्तानाे टाङ लगाएको दुई तिहाई तँग्रिएर हिँड्न सक्ला कि नसक्ला भन्ने डर भैसक्यो । दुई तिहाइलाई टेको दिनेहरु बटारिन थालेका छन् । टेको बटारियो भने घर ढल्न सक्छ । दुई तिहाइको घर पनि के होला के भन्ने भर हुन छाडिसक्यो ।

दुई तिहाईलाई समेत पछार्न सक्ने क्षमता भएको गुठी मुठीमा पर्नबाट उम्किएपछि माइतीघरमा पुग्यो । ‘जे मा पनि गुरुरु माइतीघर जानुपर्ने यो के भएको’ भनेर दुई तिहाईका प्रमुखले भनेकै भोलिपल्ट माइतीघरमा मुठी उठाउँदै मान्छे ओइरिए । गाडीभन्दा धेरै मान्छे । हावाभन्दा धेरै मान्छे । पानीभन्दा धेरै मान्छे । पुलिसभन्दा धेरै मान्छे । अरु मान्छेभन्दा धेरै मान्छे । माइतीघरमा मान्छेको सागर देखेपछि बालुवाटार, बुढानीलकण्ठ र निर्मल निवासबाट तीन थरीका मान्छेले आँखा लगाए । आँखाले देख्न नभ्याएपछि दूरबिन सोझ्याए ।

बालुवाटारबाट दूरबिन तेर्साउनेले ठाने–यो त हाम्रो समर्थनमा निस्केका मान्छे । कतै राता र कतै काला झण्डा, झण्डा बोक्ने काठमाण्डौका नेवार समुदाय । रातो भनेको लाल । लाल भनेको कम्युनिष्ट । त्यसैले रातो झण्डा बोक्नेहरु कम्युनिष्टबाहेक अरु हुनै सक्दैनन् । अनि नेवार समुदाय भनेका कम्युनिष्टका ससुराली ।

ससुरालीका मान्छे त आफ्नै खास मान्छे । आफ्ना मान्छेले आफ्नो विरोध गर्ने कुरै भएन । त्यसमाथि अघिल्लो दिन गुठी मुठीमा छैन भनेर बोलेको । त्यसैले समर्थनमा ससुराली खलक उर्लिएर आए । पार्टी समर्थक लाल झण्डा फहराउँदै उफ्रिए । कालोझण्डा देखाएर सरकारको विराेधीलाई तर्साए । त्यसैले यिनीहरु आफ्नै मान्छे हुन् । हाम्रा मान्छे हुन् । खास मान्छे हुन् । ससुरालीतिरका मान्छे हुन् । सरकारका मान्छे हुन् । सरकारलाई समर्थन गर्ने मान्छे हुन् । हाम्रा मान्छे हुन् ।

बुढानीलकण्ठमा बस्ने मान्छेले पनि माइतीघरमा दूरबिन तेर्साए । त्यहाँबाट माइतीघरतिर हेर्दै गरेका विपक्षीका मूलीले ठाने–भएभरका सबै मान्छे आफ्ना । सरकारका विराेधी मान्छे । आफ् घरका मान्छे । आफूले विपक्षी भएर अहिलेसम्म विपक्षीजस्तो गर्न पाइएको थिएन । सरकारलाई विरोध गर्न सकिएको थिएन । विरोध गर्ने मसला टन्न हुँदा समेत ढंग पुगेको थिएन । आफूले गर्नुपर्ने काम अरुले गरे । कुचोले गर्नुपर्ने काम बतासले गर्यो । सरकारको विरोध गर्नु विपक्षीको काम ।

त्यसैले जो विरोधमा उत्रियो, उ विपक्षी । सरकारको विरोधी भन्नु र विपक्षी भन्नु उस्तै उस्तै हो । उबेला माइतीघरमा जम्मा भएका यतिका मान्छेले भोट खसालिदिएका भए अहिले आफ्नो बास बालुवाटारमा हुन्थ्यो । बुढानीलकण्ठमा बसेर झोक्राउनु पर्दैन थियो । अहिले बालुवाटारमा अर्कै बस्छ । ढिलै भए पनि कडा आयो । ढिलै भए पनि माइतीघरमा जम्मा भएको यो भिडमा आफ्नै मान्छे देखिए । बल्ल मज्जा आउने भो । अब सरकार थप गल्ने भो । 

माइतीघरमा निर्मल निवासबाट पनि बेलाबेला दूरबिन तेर्सिएको थियो । नारायणहिटीबाट झिटीगुण्टा बोकेर निर्मल निवासमा बास बस्न गएका मान्छे । बेलाबेला ‘राजा आउ देश बचाउ’ भन्ने सुनेर मख्ख परेका मान्छे । घुमीफिरी फेरि पालो आउला कि भनेर मुख मिठ्याइरहेका मान्छे । माइतीघरमा मान्छेको सागर उर्लिएको अघिल्लो दिन बालुवाटारमा बस्नेले घुमाउरो शैलीमा मूर्ति चोर भने । अहिले तिनै मूर्तिचोर भन्नेलाई देखाउनेगरी मान्छे माइतीघरमा उर्लिए ।

मूर्ति चोर भनेर दरबारमा औंला तेर्साउनेको विरुद्धमा हो यो जनसागर । दरबारको समर्थनमा हो जनसरकार । गणतन्त्रको विरुद्धमा हो यो जनसागर । निर्मल निवास बस्नेले मुख मिठ्याए । गुमेको पुरानो रवाफ फर्किने सपना देखे ।

बालुवाटारबाट माइतीघर हेर्नेले ससुराली खलक देखे । आफ्नै मान्छे ठाने । बुढानीलकण्ठ र निर्मल निवासबाट हेर्नेले पनि आफ्नै देखे । कसैले मावलीतिरको मान्छे सम्झे, कसैले घरतिरको । तर देख्नेहरुको व्यवहारसँग पटक्कै मेल नखाने मान्छे थिए माइतीघरमा । 

अहिले दूरबिनले हेर्ने बालुवाटार र बुढानीलकण्ठका मान्छे पहिले यसैगरी माइतीघर र वरपर पुग्थे । फलामे बार र रुखबिरुवा भाँच्थे । गाडीका सिसा फुटाउँथे । फोहोर सफा गर्नु त परको कुरा, आफै फोहोरी भएर फर्कन्थे । तर अहिले माइतीघर गएकाहरुले पानी र फूल बाँडे । एम्बुलेन्सलाई बाटो दिए । फोहोर सफा गरे ।

बालुवाटार, बुढानीलकण्ठ र निर्मल निवास बस्नेहरुसँग माइतीघरमा जम्मा हुनेहरुको कुरा मात्रै होइन, साइनो सम्बन्ध पनि मिल्दैन । तै पनि तीनतिरबाट दूरबिन तेर्साउनेहरु अझै उनीहरु आफ्नै मान्छे हुन् भनेर मुख मिठ्याइरहेका छन् ।


 

अन्तिम अपडेट: चैत १६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • बद्रि प्रसाद लामिछाने, मकवानपुर गढी-३

    June 22, 2019, 4:16 p.m.

    ब्यंगात्मक भनिए पनि समय-सन्दर्भसँग यथार्थपरक तादाम्यता राख्ने उपयुक्त लेख ।

  •  0 Reply

तपाईको प्रतिक्रिया