सिञ्जामा ‘खस संग्रहालय’ : स्थानीय खुशी, औपचारिक कार्यक्रम मेला जस्तै

 असार ७, २०७६ शनिबार ९:४१:३७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – नेपाली भाषाको उद्गम स्थल तथा बहुप्रतिष्ठित सभ्यताको मुहान मानिएको सिञ्जा क्षेत्रमा सरकारले खस संग्रहालय बनाउने काम सुरु गरेको छ । 

सिञ्जा गाउँपालिका वडा नम्बर–२, बिष्टबाडामा एक भव्य कार्यक्रमबीच स्थानीय सरकार, सिञ्जावासीहरु र सरोकारवाला निकायहरुको उपस्थितिमा खस संग्रहालय शिलान्यास गरिएको हो । 

सिञ्जा सभ्यताको ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाहरु झल्किने तथा पर्यटकका लागि अवलोकन केन्द्रको रुपमा संग्रहालय लामो समयदेखि माग भएको थियो ।

नेपाल सरकार उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँको सहयोगमा खस संग्रहालय बनाउने काम सुरु भएको सिञ्जा सभ्यता खस संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष देविकृष्ण तिवारीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सरकारले सुरुवात गरेको संग्रहालय निर्माणको काम राम्रो भए पनि बजेट निकै कम भएको बताउनुभयो । उहाँले संग्रहालय निर्माणका लागि र पूर्वाधारका लागि स्थानीय सरकारले समेत प्रथामिकता दिने प्रतिबद्धता जनाउनुभयो । जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले इतिहास बोकेको सभ्यताको खानी सिञ्जामा बन्ने संग्रहालयले निकै महत्व राख्ने र निर्माण कार्यमा पारदर्शीता र गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय अभिलेखालयमा सूचीकृत जुम्ला जिल्लाका ३३ वटा सम्पदामध्ये १३औँ शताब्दीको चार वटा ऐतिहासिक देवलहरुसहित विभिन्न आठवटा सम्पदा बिष्टबाडामा रहेको छ । 

खस संगहालयको शिलान्यास कार्यक्रममा स्थानीयले बाजागाजा, मागल, गीतसहित स्वागत गर्दै खुशीयाली मनाएका छन् । 

सिञ्जा सभ्यता संग्रहालय स्थापनाका अभियन्ता डिल्लीप्रसाद तिवारीले खुशी हुदै भन्नुभयो, ‘सिञ्जा सभ्यतासँग जोडेर बन्न लागेको संग्रहालयले आउने पर्यटक र अनुसन्धानकर्ताहरुलाई सिञ्जा सभ्यताको एकसरो अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने लक्ष्य रहेको छ ।’ 

ओझेलमा सम्पदा

तत्कालीन समयमा विशाल साम्राज्य भएको सिञ्जा सभ्यताका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु अहिले ओझेलमा परेका छन् । पुरातात्विक सम्पदाहरु विस्तृत रुपमा खोज अनुसन्धान तथा रेकर्डसमेत राख्न सकिएको छैन ।

ऐतिहासिक महत्वको सिञ्जाका संस्कृति र सभ्यताको संरक्षणमा राज्यले पनि प्रथामिकता नदिएको स्थानीयको गुनासो छ । सरकारले घोषणा गरेको एकसय पर्यटकीय गन्तव्यमा भने सिञ्जा क्षेत्र पनि परेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया