रेशम चाैधरीलाई अस्पतालमा नेल लगाउने कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन

 असार ७, २०७६ शनिबार १२:२६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले  रेशम चौधरीलाई अस्पतालको शय्यामा पनि नेल लगाउने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालकाे ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।

शुक्रबार अस्पतालकाे ओछ्यानमै साङ्लोले बाँधिएको चौधरीको तस्बिर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीको  ध्यानाकर्षण भएको र शनिबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर त्यो काममा संलग्न सबै कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनु भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो  ।

प्रधानमन्त्री ओलीले चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन पनि निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिनुभएको हो ।

फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चाैधरीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएकाे थियाे । तर चाैधरीकाे उपचारमा सरकारले अमानवीय व्यवहार गरेकाे भन्दै चर्काे आलाेचना भएपछि प्रधानमन्त्री ओलीकाे यस्ताे निर्देशन आएकाे हाे । रेशम चाैधरीकाे खुट्टामा खिया लागेकाे फलामकाे साङ्लाेले बाँधेर उपचार भैरहेकाे थियाे ।

त्याे तस्बिर एकाएक सामाजिक सञ्जाल हुँदै नेपाली राजनीतिमा चर्चाकाे विषय बनेकाे थियाे । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई अस्पताल पुगेर चाैधरीलाई भेट्नु भएकाे थियाे । उहाँले सरकारले अमानवीय व्यवहार देखाएकाे भन्दै 'यस्ताे हर्कत बन्द' गर्न सरकारलाई आग्रह गर्नु भएकाे थियाे ।

२०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो । उहाँ १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहनु भएको छ । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो । 

गएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।

रेशम चौधरीलाई ‘१४ किलोको नेल’, सरकारप्रति भट्टराईको आक्राेश : यो हर्कत तुरून्त बन्द गर

रेशम चौधरी अस्पताल भर्ना

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया