विश्वकपमा सर्वाधिक रन बनाउने यी १० हस्तीहरु

 असार ७, २०७६ शनिबार १४:३४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

क्रिकेट विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा भारतीय महान खेलाडी सचिन तेन्दुलकर शीर्ष स्थानमा छन् । अहिलेसम्म सक्रिय खेलाडीले हजार रन पनि पूरा गर्न सकेका छैनन त्यसैले सचिनको रेकर्ड तोड्न असम्भव जस्तै छ ।

यस्ता छन् विश्वकपमा सर्वाधिक रन बनाउने शीर्ष १० खेलाडीहरु: 

१०‍ एडम गिल्क्रिष्ट - अष्ट्रेलिया

सन् १९९९ देखि २००७ सम्मको तीन वटा संस्करण खेलेका गिल्क्रिष्टले १०८५ रन बनाएर सर्वाधिक रन स्कोररको सूचीमा १० औं स्थानमा छन् । उनले विश्वकपमा ३१ म्याच खेलेका छन् । यसक्रममा उनले १४९ रनको सर्वाधिक स्कोर पनि गरेका छन् । एउटा शतक र आठवटा अर्धशतक पूरा गरेका गिल्क्रिष्टले १४१ चौका र १९ छक्का प्रहार गरेका छन् । उनी सहभागी भएको तीन वटै विश्वकप अष्ट्रेलियाले जितेको थियो ।

९ माहेला जयर्द्धने - श्रीलंका 

श्रीलंकाली ब्याट्सम्यान जयवर्द्धनेले विश्वकप करियरमा ११०० रन बनाएका छन् । सन् १९९९ देखि २०१५ सम्मको पाँच संस्करण खेलेका जयवर्द्धनेले ४० वटा म्याच खेलेका थिए । उनले ११५ रनको सर्वाधिक स्कोर गरेका छन् । एउटा शतक र नौवटा अर्धशतक बनाएका जयवर्द्धनेले ८६ चौका र १३ छक्का प्रहार गरेका छन् ।

८ तिलकरत्ने दिलशान - श्रीलंका

श्रीलंकाली ब्याट्सम्यान दिलशानले विश्वकपमा १११२ रन बनाएका छन् । सन् २००७ देखि २०१५ सम्म विश्वकप खेलेका दिलशानको सर्वाधिक स्कोर १६१ रन हो । चारवटा शतक र चारवटा अर्धशतक बनाएका दिलशानले १२२ वटा चौका र नौ वटा छक्का प्रहार गरेका छन् ।

७ ज्याक कालिस - दक्षिण अफ्रिका

दक्षिण अफ्रिकी ब्याट्सम्यान ज्याक कालिसले ११४८ विश्वकप रन बनाएका छन् । सन् १९९६ देखि २०११ सम्मको विश्वकप खेलेका कालिसले ३६ म्याच खेले । उनले १२८ रनको शतकीय पारी सर्वाधिक स्कोर हो । एउटा शतक र नौवटा अर्धशतक बनाएका कालिसले ८६ चौका र १३ छक्का प्रहार गरेका छन् ।

६ सनथ जयसुरिया - श्रीलंका

श्रीलंकाली लिजेन्ड जयसुरियाले सन् १९९२ देखि २००७ सम्मको विश्वकप खेले । उनले कुल ११६५ रन बनाएका छन् । ३६ वटा म्याच खेलेका जयसुरियाले १२० रनको सर्वाधिक योगदान दिएका छन् । तीनवटा शतक र ६ वटा अर्धशतक पार गरेका जयसुरियाले १२० चौका र २७ छक्का प्रहार गरेका छन् । उनले श्रीलंकालाई १९९६ को विश्वकप पनि जिताएका थिए ।

५ एबी डि भिलियर्स - दक्षिण अफ्रिका

सन् २००७ देखि २०१५ सम्मको तीन संस्करण खेलेका डि भिलियर्सले विश्वकपमा १२०७ रन बनाएका छन् । उनले २३ म्याच खेल्दै १६२ रनको सर्वाधिक स्कोर बनाए । चारवटा शतक बनाएका डि भिलियर्सले ६ वटा अर्धशतक पूरा गरेका छन् । उनले १२१ चौका र ३७ छक्का प्रहार गरेका छन् ।

४ ब्रायन लारा - वेष्ट इण्डिज

वेष्ट इण्डिजका महान ब्याट्सम्यान ब्रायन लाराले सन् १९९२ देखि २००७ सम्मको विश्वकप खेले । कुल २३ म्याचमा उनले १२२५ रन बनाएका छन् । ११६ रनको सर्वाधिक स्कोर गरेका लाराले दुईवटा शतक र सातवटा अर्धशतक पार गरेका छन् । उनको छक्का चौकाको रेकर्ड स्पष्ट नभएपनि १२४ भन्दा बढी चौका र १७ भन्दा बढी छक्का प्रहार गरेका छन् ।

३ कुमार संगाकारा - श्रीलंका

कुमार संगाकाराले २००३ देखि २०१५ सम्मको गरी चारवटा संस्करणको विश्वकप खेले । एउटैमा म्याचमा १२४ रन बनाएका संगाकाराले कुल १५३२ रन बनाएका छन् । उनले पाँचवटा शतक सातवटा अर्धशतक बनाएका थिए भने १४७ चौका र १४ छक्का प्रहार गरेका छन् ।

२ रिकी पोन्टिङ - अष्ट्रेलिया

अष्ट्रेलियालाई तीनवटा विश्वकप जिताउँदाका सारथी रिकी पोन्टिङले ४६ वटा म्याच खेले । उनले कुल १७४३ रन बनाएका छन् । १४० रनको सर्वाधिक स्कोर गरेको पोन्टिङले पाँचवटा शतक र ६ वटा अर्धशतक पार गरेका छन् । उनले १४५ चौका र ३१ छक्का प्रहार गरेका छन् । अष्ट्रेलियालाई सन् १९९९, २००३ र २००७ को विश्वकप जिताउन पोन्टिङको भुमिका महत्वपूर्ण थियो ।

१ सचिन तेन्दुलकर - भारत

विश्वकपमा सर्वाधिक रन बनाउने शीर्ष १० को सूचीमा रहेका एकमात्र भारतीय खेलाडी हुन् सचिन तेन्दुलकर । कुल २२७८ रन बनाएर सचिन शीर्ष स्थानमा विराजमान छन् । उत्कृष्ट प्रदर्शन गर्दै उनले भारतलाई एक पटक च्याम्पियन बनाए भने एक पटक उपविजेता बनाए । सन् २०११ को विश्वकपपछि सन्यास लिएका सचिनले विश्वकपमा ४५ म्याच खेले । सर्वाधिक १५२ को स्कोर गरेका सचिनले ६ वटा शतक प्रहार गरेका छन् ।

विश्वकपमा सर्वाधिक शतकको कीर्तिमान सचिनकै नाममा छ । यतिमात्र होइन, उनले १५ वटा अर्धशतक प्रहार गरेका छन् । जुन कीर्तिमानलाई पनि अहिलेसम्म कुनै खेलाडीले भेट्न सकेका छैनन् । सर्वाधिक अर्धशतकको कीर्तिमानमा दोस्रो स्थानमा रहेका ज्याक कालिस ६ अर्धशतक टाढा छन् ।

विश्वकप करियरमा सचिनले २४१ चौका र २७ छक्का प्रहार गरेका छन् । सर्वाधिक चौकाको कीर्तिमान पनि सचिनकै नाममा छ । अहिलेसम्म अरु खेलाडीले १५० चौका पनि पुर्‍याउन सकेका छैनन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया