उज्यालोपछि अँध्यारो, अँध्यारोपछि उज्यालो !

 असार ७, २०७६ शनिबार १५:४७:५१ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – उज्यालोसँग उठबस, उज्यालोसँगैको दैनिकी । तर समय सधैं कहाँ उज्यालो नै रहिरहन्छ र? घडीको सुईसँगै समयचक्र पनि उही गतिमा घुमिरहन्छ । उज्यालोपछि अँध्यारो, अनि अँध्यारोपछि उज्यालो । 

दिनहुँको यो चक्रमा तात्विक अर्थ खासै केही थिएन । समय जस्तै सरल थियो जीवन पनि  । तर एक दिन घडीको सुईले धोका दियो । जिन्दगीको उज्यालो बिस्तारै टाढा हुन थाल्यो । अनि एक दिन अँध्यारोको टाइमलाइनमा गएर टक्क अडियो । न ब्याट्री फेर्न मिल्ने, न चार्ज गर्न नै ।

२०४५ सालमा जन्मनुभएको हो, सुशील अधिकारी । आमाबाबुको एउटा आशाको चम्किलो तारा । त्यसै भन्थे, आफन्त र चिनेजानेकाले । आफूभन्दा जेठा एक दाजु दृष्टिविहीन, अर्को दाइको झाडापखालाका कारण ज्यान जानुले उहाँमाथि माया र ममतासँगै आशा र अपेक्षा पनि बढी थियो । 

आमाबुवाको इच्छा र सपना पूरा गर्न सुशील पनि लागि पर्नु भएकै थियो । काठमाण्डौको आरुबारीमा जन्मिनुभएका उहाँको छवि स्कुलमा पढन्ते विद्यार्थीको रुपमा थियो । अंग्रेजीमा अब्बल भएकाले शिक्षकसँगै सहपाठीले माया गर्थे । तर यो माया सधैं टिकिरहेन । 

जब कसैको शारीरिक दुर्बलता देखिन्छ, तब मानिसहरु टाढिन थाल्छन् । गिज्याउन थाल्छन् । अनि समाजबाटै हेलाँहोचो सहनुपर्ने हुन्छ । यस्तै भयो उहाँलाई पनि । उहाँको उज्यालो जिन्दगीमा बिस्तारै बादल लाग्न थाल्यो, अनि बादलले एकैपटक ढाक्यो ।  

१०, ११ वर्षसम्म त आँखाले राम्रै देख्नुहुन्थ्यो । त्यसपछि भने सबै रंग एकैखालका भए - कालो । हृदयमा चोट पुगे जस्तै भयो । हिजोका साथीसङ्गी, छिमेकी सबैको माया एकै पटक सय कोश टाढा पुगे । आँखाको रेटिनामा ‘ड्यामेज’ भएपछि उहाँका नातागोता र छर-छिमेकीले उहाँलाई नै ‘ड्यामेज’ सम्झिए । 

अंग्रेजी राम्रो हुँदा साथीभाइबाट हेलाँ भएन, एसएलसीमा डिस्टिङ्सन

आमाबुवासँगै दृष्टिविहीन दाजुको प्रेरणा र सहारा पाएर उहाँले उठ्ने प्रयास गर्नुभयो, जिउने आधार खोज्नुभयो ।  

आँखाको ज्योति गुमेपछि दैनिकी फेरियो । उसैगरी मन र साथीभाइ पनि । फेरिएको स्कुलमा उहाँलाई त्यति असहज भएन । अंग्रेजी राम्रो जान्ने भएकाले साथीभाइले मन पराए, साथ दिए । 

दाजु बासुदेव अधिकारीको साथ र धेरैजसो आफ्नै पहलमा पढाइ अगाडि बढ्यो । दाजु पढ्ने धुलिखेलको एउटा विद्यालयमा गएर उहाँले ब्रेललिपी सिक्नुभयो, पढ्नुभयो । अनि फर्किनुभयो, काठमाण्डौ । अनि आफै पुग्नुभयो, एउटा सामुदायिक विद्यालयमा भर्ना हुन । कक्षा सातमा भर्ना गर्न प्रधानाध्यापकसँग आग्रह गर्नुभयो । 

‘सुरुमा उहाँ मान्नु भएन, तर मैले मेरा कारण अरु विद्यार्थीलाई समस्या भए आफैँ विद्यालयबाट निस्किने बताएपछि पढ्न पाएँ’, उहाँले त्यो क्षण सम्झनुभयो । पहिलो दिन अलि कस्तो कस्तो अफ्ठ्यारो जस्तो भए पनि कक्षाभरिका साथीले माया गरे । 

साथीभाइले आँखा नदेख्ने भन्दा पनि प्रतिभा र खुबी देखेर माया गरे । उहाँ धेरै साथीलाई अंग्रेजी, केहीलाई विज्ञान र केहीलाई गणित सिकाइदिनुहुन्थ्यो । 

अरुलाई सिकाउँदा आफ्नो सिकाइ अझै अब्बल बन्दै गयो । अनि आँखा देख्ने ९० जना विद्यार्थीलाई उछिन्दै उहाँ कक्षामा पहिलो बन्नुभयो । एसएलसी (एसईई) को परीक्षामा पनि सबैलाई सरप्राइज दिँदै 'डिस्टिङ्क्टसन' ल्याउनुभयो । 

अंग्रेजी साहित्यमा स्नातकोत्तर, प्रेममा भने वियोग

पढाइमा उत्कृष्ट भएपछि सुशील अधिकारीलाई हिजो घृणा गर्नेहरुले बिस्तारै माया गर्न थाले । गाली बर्साउनेहरुले स्याबासी दिन थाले । जीवनमा एउटा युद्ध जिते सरह भयो । सँगै महत्वकांक्षा र सपनाहरु फराकिलो बन्न थाले । 

पढाइलाई अगाडि बढाउँदै अंग्रेजी साहित्यमा डिग्री गर्नुभयो । आईटीसम्बन्धी कोर्स पनि गर्नुभयो । छात्रवृत्तिमा अमेरिकामा सूचना र प्रविधिबारे अध्ययन पनि गर्नुभयो । सफलताले एकप्रकारको चैन मिल्यो । एसएलसीपछि फेरि अर्को पटक उहाँको जीवन हाँसो फर्कियो । सँगै आमाबा पनि हाँसे । 

तर यो उमंगको यात्राका क्रममा वियोग पनि भोग्नुपर्यो । मायाको बिछोड, लामो समयसम्म त आफैँलाई भुलाउन गाह्राे भयो । र बिछोडको पीडाले गजलको रुप लियो । 

उजाड भयो जीवन मेरो कसम खाइ तिमीले छल्दा
सिउँदो तिमी भर्नु प्रिय जब मेरो चिता जल्दा...

अध्याँरोपछि उज्यालो भएजस्तै वियोगपछि पनि मिलन छ । फेरि आशा पलायो, प्रेममा पाएको वियोगलाई उहाँले शक्तिमा बदल्नुभयो, अनि लेख्नुभयो :

वियोगको वेदनालाई दबाएर हाँस्न सक्छु 
तिमीले धोका दिए पनि एक्लो जीवन बाँच्न सक्छु 

फेरियो जीवनशैली

काठमाण्डौको आरुबारी घर । बुवा सरकारी जागिरे । हुलाकमा काम गर्नुहुन्थ्यो । तर चार जना छोराछोरीसँगै सात जनाको परिवार धान्न धौधौ पर्थ्याे । छोरीहरुको बिहेपछि दृष्टिविहीन छोराहरुले पनि पढेर केही गर्न सक्छन् भन्ने विश्वास नै भएन बुवालाई । यही कारण हुन सक्छ अधिकांश समयमा आफैले संघर्ष गरेर पढ्नु पर्थ्याे। 

एसएलसीको परीक्षापछि सुशीलले कम्प्युटर सिक्न थाल्नुभयो । फुर्सदमा सिकेको कम्प्युटर तालिमले उहाँलाई कम्प्युटर शिक्षक पनि बनायो । ११, १२ पढ्दै गर्दा उहाँले कम्प्युटरको शिक्षक भएर पार्ट टाइम काम गर्नुभयो । पढाइसँगै उहाँ विभिन्न संघसंस्थामा आबद्ध हुनुभयो, सामाजिक काममा सक्रिय रहनुभयो ।

छोराहरुको आँखाको उपचार नहुने पक्का भएपछि अभिभावकले पुर्ख्याैली जग्गा केही बेचेर पक्की घर बनाए, छोराहरुको सुविधाका लागि । २०५२ सालमा माटोले बनेको पुर्ख्याैली घरनजिकै बन्यो, पक्की घर । तर भूकम्पले पुरानो घर पूरै भत्काइदियो भने नयाँ घरमा केही क्षति पुग्यो । भूकम्पले केही क्षति पुर्‍याएको घरलाई मर्मत सम्भार गरेर अधिकारीको परिवार अहिले त्यहीँ बस्दै आएको छ । 

दाजु बासुदेव अधिकारी पनि त्रिभुवन विमानस्थलमा जागिरे हुनुहुन्छ, सँगै विभिन्न तालिममा सक्रिय हुनुहुन्छ । डिग्री पास गरेका सुशील पनि एउटा गैरसरकारी संस्थामा कार्यक्रम प्रबन्धक हुनुहुन्छ । सँगै आफूलाई जस्तो पीडा अरुलाई नहोस् भन्दै उहाँ दृष्टिविहीनसहित अरु युवाका लागि जीवन उपयोगी तालिम र अरु सचेतनामूलकमा अभियानमा हिँड्नुहुन्छ ।

मेहनतका कारण शीर उचो

एक दाजु सानैमा बिते । परिवारमा दुई दिदीबहिनी र दुई दाजुभाइ । दुवै दाजुभाइ दृष्टिविहीन । पूर्वजन्मको पापले दुवै छोराले आँखा नदेख्ने भए भनेर आमाबावु अनि हजुरआमालाई गाउँलेले टोकसी रहन्थे । केही गाउँलेले त आमा र हजुरआमालाई बोक्सीको आरोपमा दुर्व्यवहार समेत गरे  । गाउँ समाजमा टिक्नै गाह्राे भयो ।

उतिबेला बल थिएन, पैसा थिएन । आमा र हजुरआमामाथिको दुर्व्यवहार टुलुटुलु हेर्नुबाहेक अरु विकल्प थिएन । तर उहाँलाई यसले बल दियो । हौसला थप्यो । अपांगता हुनु भनेको पाप या कमजोरी होइन, अवसर हो भन्ने सोच्नुभयो । अनि केही गरेर समाजलाई देखाउनुपर्न भन्ने अठोट गर्नुभयो । त्यही अठोटले उहाँलाई आज सक्षमसँगै सामाजिक अभियन्ता बनाएको छ । 

जीवन हिजो घण्टाको सुईको गतिमा थियो, आज सेकेण्डको सुईमा छ । समयचक्र फेरिएको छ । आँखाको ज्योतिलाई फर्काउन नसके पनि उहाँले आफू, घर परिवार र समाजलाई बदल्नुभयो ।

हिजो विभिन्न सामाजिक आरोप प्रत्यारोपकै कारण निहुरिएको शीर अहिले ठाडो भएको छ । छाती गर्वले फुलेको छ । उद्देश्यमा पुग्न सुशीललाई मेहनत मुख्य कडी बन्यो । मेहनतसँगैको धैर्यले लक्ष्य प्राप्तिसम्म पुग्ने ढोकाहरु खुल्दै गए । दुनियाँको कुनै पनि तागतले उहाँ र उहाँको उद्देश्यलाई रोक्न सकेन । 
 

अन्तिम अपडेट: भदौ ४, २०७६

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया