विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध भारतको कठिन जित, शामीको ह्याट्रिक विकेट

 असार ७, २०७६ शनिबार २३:४०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

उपाधि दाबेदार मानिएको भारतले आईसीसी एकदिवसीय विश्वकपमा प्रतियोगिताकै सबैभन्दा कमजोर टोली अफगानिस्तानमाथि ११ रनको संघर्षपूर्ण जित निकालेको छ ।

अफगानिस्तानका अन्तिम तीन ब्याट्सम्यानलाई आउट गरी भारतका मोहम्मद शामीले जारी विश्वकपमा पहिलो ह्याट्रिक लिएका छन् । साउथह्याम्प्टनमा भारतले दिएको २ सय २५ रनको मध्यम लक्ष्य पछ्याएको अफगानिस्तानले ४९.५ ओभरमा अलआउट हुनुअघि २१३ रन बनायो । मोहम्मद नाबीले अर्धशतकीय पारी खेल्दै अफगानिस्तानलाई जितनजिक पुर्याइसकेका थिए । 

अन्तिम ओभरको तेस्रो बलमा नाबी शामीको बलमा क्याचआउट भएपछि अफगानिस्तानको आशा समाप्त भएको थियो । अफगानिस्तानले मध्यम सुरुवात गरेको थियो । ओपनर हज्रतुल्लाह जाजाईले १० र गुलाबदिन नइवले २७ रन बनाएर आउट भए । 

तेस्रो नम्बरका रहमत शाहले ३६ र हसमतुल्लाह शाहिदीले २१ रन जोडे । अस्घर अफगान ८ रनमै आउट भएपछि छैटौं नम्बरमा आएका नाबीले ५५ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५२ रन बनाए । एउटा एण्डबाट नाबीले सम्हालिएको ब्याटिङ गरे पनि अर्को एण्डबाट विकेट झरिरह्यो । 

नाजिबुल्लाह जदरान २१ र रशिद खान १४ रन जोडेर आउट भए । भारतका मोहम्मद शामीले अन्तिम ओभरमा ह्याट्रिक विकेट लिए । ४९.३ ओभरमा मोहम्मद नाबीलाई हार्दिक पाण्ड्याको हातबाट क्याचआउट गराएका शामीले त्यसपछिका लगातार दुई बलमा अफ्ताब आलम र मुजिब उर रहमानलाई क्लिन बोल्ड गरे । 

विश्वकप क्रिकेटमा यो दशौं ह्याट्रिक विकेट हो । विश्वकपमा ह्याट्रिक विकेट लिने शामी दोस्रो भारतीय बलर बनेका छन् । सन् १९८७ को विश्वकपमा भारतका चेतन शर्माले न्यूजिल्याण्डविरुद्ध ह्याट्रिक लिएका थिए । सन् २००७ को विश्वकपमा श्रीलंकाका लसिथ मालिंगाले लगातार चार बलमा ४ विकेट लिएर कीर्तिमान बनाएका थिए ।

बलिङमा शामीले ह्याट्रिकसहित ४ विकेट लिए । त्यस्तै  जसप्रित बुमराह, युजवेन्द्र चहल र हार्दिक पाण्ड्याले दुई-दुई विकेट लिए । बुमराह खेलको म्याच अफ द म्याच चुनिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय २४ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको उसले सात रनमा पहिलो विकेट गुमायो । ओपनर रोहित शर्मा मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुलबीच ५७ रनको साझेदारी भएको थियो । जसमा राहुलले २० रन बनाए । त्यसपछि विजय शंकर पनि २९ रनमा आउट भएपछि भारतले एक सय २२ रनमा तेस्रो विकेट खेर फाल्यो । 

भारतका मध्यक्रमका खेलाडीले खासै राम्रो साझेदारी गर्न सकेका थिएनन् । उसका लागि कप्तान विराट कोहलीले ६७ रन बनाए भने महेन्द्रसिंह धोनीले २८ रनको योगदान गरे । यस्तै हार्दिक पाण्ड्या सात रनमा आउट भए भने मोहम्मद शामी मात्र एक रनमा बाहिरिए । भारतका लागि केदार जाधवले अर्धशतकीय पारी खेले । उनले अविजित ५२ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका लागि मोहम्मद नाबी र गुलबादिन नइवले दुई-दुई विकेट लिए ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया