यूएईमा ६ कृति एउटै डबलीमा लोकार्पण

 असार ८, २०७६ आइतबार १७:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई - विभिन्न सर्जकद्वारा लिखित ६ वटा कृतिको यूएईमा एकसाथ लोकार्पण तथा चर्चा गरिएको छ ।

पुराना पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति संगालो ‘झझल्काहरु’, १ सय ७ जना गजलकारको संयुक्त गजल संग्रह ‘अक्षरहरुको सगरमाथा’, १७ जना कविको संयुक्त कविता संग्रह ‘अनुहारको भीड’, मीनराज बसन्तको उपन्यास ‘पिपिरी’, एलबी क्षेत्रीको ‘व्रतभङ्ग’ र जीवन खत्रीको ‘आगोको वर्णमाला’ को एकै पटक एउटै डबलीमा लोकार्पण गरिएको हो ।

सिर्जना वाचन डबली यूएईको ‘अक्षरहरुको आवाज’को १७ औँ श्रृङ्खलाअन्तर्गत गएको शुक्रबार त्यस कार्यक्रमको आयोजना गरिएको हो ।

बाग्लुङमा जन्मिएर पत्रकारितामा सक्रिय ८४ वर्षीय आचार्य संस्मरणात्मक कृति ‘झझल्काहरु’मा नेपालको सभ्यता र नेपाली जीवनलाई चित्रण गरिएको छ । यस कृतिका बारेमा साहित्यकार कृष्ण विश्वकर्मा र पत्रकार उमाकान्त पाण्डेले चर्चा गर्नुभएको थियो ।

यस्तै ‘अक्षरहरुको सगरमाथा’का विषयमा सर्जक टंक गुरुङले समिक्षात्मक टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपालबाट आउनुभएका उज्यालो ९० नेटवर्कबाट प्रसारण हुने कार्यक्रम ‘बुलबुलु’का प्रस्तोता अच्युत घिमिरे ‘बुलबुल’ले प्रवासी साहित्यकारहरुले नेपाली साहित्यलाई अझै उचाइमा पुर्‍याएकाे भन्दै प्रश‌ंसा गर्नुभयो ।

यूएईमा रहेर कलम चलाउनेहरुलाई साहित्यबाहेक आफ्ना अनुभव र यहाँको विकासका बारेमा समेत लेख्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सिर्जना वाचन डबलीका तर्फबाट डा.दिनेश आचार्यलाई मानार्थ संरक्षकका रुपमा सम्मान गरिएको छ । त्यो सम्मान यूएईको नेपाली समुदायमा डा. आचार्यको योगदान र सदासयताप्रतिको रहेको डबलीका संयोजक जे सागरले बताउनुभयो ।

कार्यक्रममा शाश्वत ढुङ्गाना, ओमकुमारी खाँड, टासी शेर्पा, सुरज राना, विनोद सेन पाल्पाली, डिजी शर्मालगायत ४० भन्दा बढी श्रष्टाले कविता, गजल र मुक्तक सुनाउनु भएको थियो ।

वाचन डबली विभिन्न कामका सिलिसिलामा यूएईमा रहेका नेपाली सर्जकहरुलाई आफ्नो सिर्जना पस्कने डबली बनेको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया