दक्षिण अफ्रिकाबाट विश्वकपमा धेरै विकेट लिने सूचीमा इमरान ताहिर शीर्ष स्थानमा

 असार ८, २०७६ आइतबार १८:५१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिण अफ्रिकाका लागि लेग स्पिनर इमरान ताहिर विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

आईसीसी विश्वकप अन्तर्गत पाकिस्तानविरुद्ध आइतबार २ विकेट लिएपछि उनी अफ्रिकाबाट विश्वकप क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन् । फखर जमानलाई हाशिम अमलाबाट क्याचआउट गराउँदै उनले आफ्नाे विकेट संख्या ३८ पुर्याएका थिए ।

त्यसपछि ताहिरले इमाम उल हकलाई आफ्नै बलमा कट गर्दै विश्वकपमा ३९ विकेट पुर्याए । यो नै विश्वकपमा दक्षिण अफ्रिकाका बलरले लिएको सर्वाधिक विकेट संख्या हो । उनले ३८ विकेट लिएका एलान डोनाल्डलाई पछि पारेका हुन् ।

डोनाल्डले २५ खेल खेल्दै ३८ विकेट लिएका थिए भने ताहिरले विश्वकपको २० खेलमा १९ इनिङबाट ३९ विकेट लिएका हुन् । पाकिस्तानको लाहोरमा जन्मिएका ताहिर २००५ मा दक्षिण अफ्रिका बसाइ सरेका थिए । त्यसअघि उनले पाकिस्तानबाट यू-१९ पनि खेलेका थिए । उनी याे विश्वकप खेल्ने सबैभन्दा बुढा खेलाडी समेत हुन् ।

 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया