गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई प्रदेश तीनले छुट्यायाे पाँच करोड

 असार ९, २०७६ सोमबार ९:१३:३३ | रासस
unn.prixa.net

राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिनुभयो । म‌ंगलबार परिषद् गर्न लागेको महानगरले रङ्गशालाका लागि पाँच करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ ।

महानगरभित्र रहेका २९ वटा वडाले पाँच लाख रुपैयाँका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन् । बहुवर्षीय योजना भएकाले महानगरले सुरुआती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ । महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै सङ्घ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम सुरु भएको जानकारी दिनुभयो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताउनुभयो । कतिपयले बजेटमा नै राखेर र कतिपयले कोषको पूँजीबाट सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

गएकाे जेठ १५ गते स्थानीयले बाटो विस्तारको माग गर्दै रङ्गशालाको टिनको बार भत्काएपछि काम रोकिएको छ । रङ्गशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनका पदाधिकारी काठमाडौँमा रहेका छन् । डल्लाकोटीका अनुसार एक दुई दिनमा उहाँहरुको उपस्थितिमा बैठक बसी काम अघि बढाइने छ ।

फाउण्डेशन र सरकारी निकायले के के गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाइ छ । जिल्लाका सबै राजनीतिक दलसहित जिल्लावासी रङ्गशाला निर्माणका लागि सकारात्मक रुपमा अघि बढेका छन् ।

रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो । भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष छ महीनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

रङ्गशाला निर्माणका लागि निजी क्षेत्रबाट छ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन एवं आश्वासन प्राप्त भइसकेको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • अरुण कर्ण

    July 4, 2019, 5:44 p.m.

    रकम सारै कम भएन र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया