साउदीमा बितेका छोराको शव देख्न नपाएकी सुर्वितालाई सरकारले न्याय दियो

 असार ९, २०७६ सोमबार १०:३३:५ | उज्यालो सहकर्मी

काठमाण्डौ – चार वर्षअघि साउदीमा भएको दुर्घटनामा छोरो गुमाएकी बाग्लुङकी सुर्विता भण्डारीले क्षतिपूर्ति पाउनुहुने भएको छ ।

वैदेशिक रोजगार बोर्डको आइतबार बसेको बैठकले उहाँलाई क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो । क्षतिपूर्ति रकम कति दिने भन्नेबारे फेरि छलफल गरेर टुंगो लगाउने बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो । 

२०७२ असारमा साउदीमा भएको ट्याक्सी दुर्घटनामा सुर्विताका छोरा तेजेन्द्र भण्डारी सहित अरु चार जना नेपालीको ज्यान गएको थियो । तेजेन्द्रले चलाएको ट्याक्सी दुर्घटनामा मोरङका सुवास तामाङ पनि पर्नुभएको थियो ।

साउदीको जेद्धामा रहेको किङ अजिज अब्दुल अस्पतालले दुर्घटनाको भोलिपल्ट हुण्डाई कम्पनीका काम गर्ने चारजना नेपालीको मृत्यु भएको घोषणा गरिदियो । अस्पतालले चालक तेजेन्द्रकोे भने उपचार भइरहेको खबर दियो । 

त्यो दुर्घटनाको २७ दिनपछि हुण्डाईमा काम गर्ने सुवासको शव काठमाण्डौ आइपुग्यो । परम्परा अनुसार सुवासकी श्रीमतीले श्रीमान सुवासको घेवा अर्थात मृत्यु संस्कार गर्नुभयो । 

सुवासको परिवार शोकमा डुबेको बेला बाग्लुङमा तेजेन्द्रकी आमा उपचार गराइरहेको छोराको होस खुलोस् भनेर भगवान पुकार्दै हुनुहुन्थ्यो । तर, उल्टोपाल्टो र हुने हुनामी पहिले नै भैसकेको थियो । 

साउदीमा उपचार गराइरहेका घाइतेको अनुहारको पट्टी तीन महिनापछि खोलियो । तर, पट्टीभित्रको अनुहार तेजेन्द्रको नभएर बाकसमा लास ल्याएर काजकिरिया गरिसकेका सुवासको थियो । 

किरिया गरिएको मानिस जीवित भेटियो, उपचारपछि छोरा सञ्चो भएको खबर सुन्न भगवानसित प्रार्थना गरेर बसेकी तेजेन्द्रकी आमा सुर्विताले छोरालाई अरु कसैले दागबत्ती दिएको खबर सुन्नु पर्‍यो ।

यसअघि सुवासको मृत्यु भयो भनेर तेजेन्द्रको शव सुवासका परिवारलाई पठाइससिकएको थियो । 

सुवासको परिवारले दाहसंस्कार गरी नियमानुसार सचिवालयबाट आर्थिक सहायता समेत प्राप्त गरेपछि सुवास तामाङ जीवितै नेपाल फर्कनुभएको थियो, तर शारीरिक र मानसिक रुपमा विक्षिप्त भएर ।

त्यसैले बोर्ड वैठकले सुवासको परिवारले नियमानुसारको प्राप्त गरेको आर्थिक सहायतालाई स्वास्थ्य उपचार खर्चमा रुपान्तरण गर्ने निर्णय गरेको छ । 

यसका साथै सुवास तामाङको हकमा समेत उचित निर्णयका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सम्बद्ध निकायमा अनुरोध गर्ने निर्णय पनि भएको बोर्डले जनाएको छ । 

२०७४ मंसिरमा उज्यालो रेडियोको कार्यक्रम देश परदेश र उज्यालो अनलाइनमा दुवै परिवारको पीडा र समस्या प्रकाशन तथा प्रशारण भयो । त्यसको एक वर्षपछि उज्यालो मल्टिमिडियाले नै उनीहरुकै पीडा समेटेर वृत्तचित्र ‘मरिसकेको मान्छे’ तयार पार्‍यो । र गएको २०७५ चैत १९ गते दुवै परिवार सँगै बसेर श्रम मन्त्री गोकर्ण विष्टले वृत्तचित्र हेरेपछि क्षतिपूर्तिको लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

मन्त्री विष्टको प्रतिवद्धतापछि तेजेन्द्रकी आमा सुर्विताले आर्थिक सहायताका लागि फेरि २०७५ चैत्र २० गते वैदेशिक रोजगार बोर्डमा निवेदन दिनुभयो । उहाँले निवेदन दिएको साढे दुई महिनापछि श्रम मन्त्री विष्टकै पहलमा बोर्ड बैठकले पीडित दुवै परिवारलाई न्याय हुने गरी निर्णय गरेको हो । 

कानुनमै यस सम्बन्धी घटनामा के गर्ने भनेर व्यवस्था नभएकाले बोर्ड बैठकबाट विशेष निर्णय गर्दै दुवै परिवारले क्षतिपूर्ति पाउने निर्णय भएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताउनुभयो । 

सुर्विताका बारेमा उज्यालोमा यसअघि प्रकाशित खबर पढ्नुहोस्

अधिकारीचौरबाट आमाको कोसेली : भुटेकाे भटमास र रक्सी

आफैंले किरिया गरेका पतिसँग फेरि बिहे गरेकी सन्तोषीको प्रश्न : मेरा श्रीमानलाई कसरी जीवित गराउने ?

हर्कबहादुरका माइला छोराको पुनर्जन्म र बिहे

साउदीमा तेजेन्द्रको मृत्यु : एकै मानिसका दुईटा लास जले, तर मरेको प्रमाण फेला परेन

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया