राष्ट्रिय कविता महोत्सव : हेम प्रभासको ‘परदेश गएका पतिका नाममा’ शीर्षककाे कविता प्रथम

 असार ९, २०७६ सोमबार १८:४१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रज्ञा प्रतिष्ठानको ६२ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सवमा कवि हेम प्रभास प्रथम भएका छन् । धादिङ घर भएका कवि हेम प्रभासको ‘परदेश गएका पतिका नाममा’ शीर्षक कविता प्रथम भएको हो । 

त्यस्तै डोटीका कवि सुभाषचन्द्र भण्डारीको ‘किनाराका अलिखित संवेगहरु’ शीर्षकको कविता दोस्रो भयो । 

लमजुङका कवि प्रज्ज्वल अधिकारीको ‘पाठशाला’, काठमाण्डौका कवि प्रकाश बस्नेत ‘गफाडी’को ‘इन्द्रधनुष’ र शान्ति शर्माको ‘उज्यालोको गीत’ शीर्षकका कविता तेस्रो भए । प्रतियाेगिताका लागि प्राप्त ३४० कवितामध्ये ३१ कवितालाई अन्तिम सूचीमा छनाेट गरिएकाे थियाे ।

महाेत्सवमा उपप्रधानमन्त्री पाेखरेलका कविता

गहकिलो ढंगको राजनीतिक भाषण गर्ने छवि बनाएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले सोमबार राजधानीमा कविता वाचन गरेर साहित्यतर्फको रुची अनि सक्रियता देखाउनुभएको छ । 

राष्ट्रिय कविता महोत्सव समारोहमा उहाँले जीवन र मृत्युका बारेमा लेखिएको कविता वाचन गर्नुभएको हो । साहित्यतर्फ रुची नभए पनि साहित्यकारहरुका अगाडि उनीहरुको सिर्जना सुनेर मनै पोखिने गरेको मीठो अनुभूति सुनाउँदै उहाँले आफ्नो रचना वाचन गर्नुभयो । कवितामा मान्छेले जीवनमा गर्नुपरेका त्याग, रंगीन पलहरु, दुःख र पीडा अनि क्रोधलगायतका विषयहरु समेटिएका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्रीसँगै साहित्यका अशेष मल्ललगायतका कवि कवयित्रीहरुले आ–आफ्ना रचना वाचन गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया