राष्ट्रियसभामा पेश भएको गुठी विधेयक आज फिर्ता हुने

 असार १०, २०७६ मंगलबार ९:२१:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रियसभामा पेश भएको गुठी विधेयक मंगलबार फिर्ता हुने भएको छ । गएको वैशाख १७ गते संसद्मा दर्ता भएको गुठी विधेयक, २०७५ नागरिकको विरोधपछि मंगलबार फिर्ता हुन लागेको हो । 

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

मन्त्री अर्यालको प्रस्तावमा सांसद्ले आफ्नो सहमति जनाएपछि विधेयक फिर्ता हुनेछ । यो विधेयक गुठी परम्परा विपरित र यसबाट गुठी संरक्षण हुन नसक्ने भन्दै विधेयकका धेरै बुँदामाथि असहमति राख्दै स्थानीय तथा अभियन्ताले विरोध गरेका थिए ।

संसद् नियमावली अनुसार विधेयक फिर्ता लिन सरकारले संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यसलाई सम्बन्धित सदनको बहुमतबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ । 

गुठियार र सरोकारवालाको तीव्र विरोध भएपछि मन्त्री अर्यालले गएको असार ३ मा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता गर्ने घोषणा गर्नुभएको थियोे ।

मंगलबारको राष्ट्रियसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया