६ ओटा महानगरपालिकाको बजेट : पूर्वाधार विकास र सरसफाइलाई प्राथमिकता

 असार ११, २०७६ बुधबार ७:३६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ६ ‌ओटै महानगरपालिकाले पूर्वाधार विकासलाई जोड दिंदै बजेट सार्वजनिक गरेका छन् । मंगलबार सार्वजनिक भएको बजेटमा महानगरपालिकाले पूर्वाधार विकास, शहरी सुन्दरता र सरसफाइलाई प्राथमिकता दिएका छन् । 

कुन महानगरपालिकाको बजेट कस्तो छ त ? 

काठमाण्डौ महानगरपालिका

काठमाण्डौ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६-७७ का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

बजेटमा सडकको मुख्य–मुख्य चोकमा ‘मेयर उज्यालो’ कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख छ । ‘मेयर उज्यालो’ कार्यक्रमअन्तर्गत ‘हाइमास’ बत्ती जडान गर्ने कार्यक्रम रहेको बजेटमा उल्लेख गरिएको छ  । 

यस्तै सडक चोकमा ‘फ्लाई ओभर, आकाशे पुल, महानगर ज्येष्ठ नागरिक अस्पताल, बालाजु बाइसधारा उद्यानको आधुनिकीकरण, महानगरका क्षेत्रबाट सङ्कलन गरिने फोहरबाट ऊर्जा उत्पादन, नदीहरूको शुद्धीकरण गर्नेलगायत योजना उप–प्रमुख खड्गीले बजेटमा समेट्नु भएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा महानगरपालिकाको केन्द्रीय कार्यालय भवन निर्माण, भर्टिकल पार्किङका लागि भवन निर्माण, पर्यटन पदमार्ग, कोटेश्वर–तीनकुने बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, मोनो रेललगायत योजना समेटिएको छ ।

आगामी आवमा शहीद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम, महानगरस्तरीय एकीकृत सीप विकास प्रतिष्ठान निर्माण तथा सञ्चालनमा ल्याइने उल्लेख छ । महानगरले आगामी आवलाई अभियानका रूपमा सम्पदा संरक्षण तथा संवर्द्धन र पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकास वर्षको रूपमा सञ्चालन गर्न बजेट विनियोजन गरिएको जनाएको छ ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । 

महानगरले रोजगारीमुखी समावेशी विकास, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माणलाई बजेटमा प्राथमिकता दिएको छ । त्यस्तै, अपाङ्गमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच, विषादीरहित करेसाबारी र कौसीखेती प्रवद्र्धन तथा कृषिमा आधुनिकरण र एकघर एक उद्यमको अवधारण विकास गर्ने पनि बजेटमा उल्लेख छ ।

विराटनगर महानगरपालिका

विराटनगर महानगरपालिकाले ५ अर्ब १२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा प्रदेश राजधानीका रुपमा देशकै नमुना शहरका रुपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

भौतिक पूर्वाधार निर्माण, वातावरण तथा सरसफाइ, विपद् व्यवस्थापन, सूचना तथा प्रविधि व्यवस्थापन, सहकारी व्यवस्थापन, पशुस्वास्थ्य, कृषि तथा पशुपन्छी कार्यक्रमलाई जोड दिइएको छ । 

विराटनगरमा चक्रपथ तथा लिंक रोड निर्माण, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने, प्रादेशिक सभाहल, पार्क, व्यवसायिक क्षेत्रहरु, मनोरञ्जन स्थल, सडक सुशासन प्रवद्र्धन लगायतका आयोजनालाई पनि प्राथमिकता दिएको छ ।

पोखरा महानगरपालिका

भूगोलका हिसाबले देशकै ठूलो महानगरपालिका पोखरा महानगरपालिकाले ७ अर्ब ५४ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाले सडक कनेक्टिभिटी, आकाशे पुल निर्माण, पक्की पुल निर्माणलाई प्राथमिकता दिएको छ ।

यस्तै स्थानीय भाषामा कक्षा सञ्चालन, परम्परागत मौलिक पेसा, व्यवसाय र कला, ज्ञान र सीपको पहिचान तथा संरक्षणको लागि पनि बजेट विनियोजन भएको छ । 

पोखरा महानगरले करको दायर विस्तार गर्न आउँदो आर्थिक वर्षलाई महानगर कर अभियान वर्षको रुपमा मनाउने भएको छ ।

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले ३ अर्ब ३७ करोड ३१ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा सहरी पूर्वाधार विकास, कृषि र पशु विकास, पर्यटन तथा उद्योग, शिक्षा, स्वास्थ्य र वातावरणलाई जोड दिइएको छ । 

गौतम बुद्ध क्रिकेट रंगशालाका लागि हरेक वडाबाट ५ लाखसहित ६ करोड ४५ लाख रुपैयाँ प्रदान गरिने बजेटमा उल्लेख छ । 
महानगरपालिकाले पुरानै योजनालाई निरन्तरता दिएको छ । महानगरले दूध उत्पादक किसानलाई प्रतिलिटर १ रुपैयाँ अनुदान दिने भएको छ । यस्तै गर्भवतीलाई प्रसूति सेवामा निःशुल्क एम्बुलेन्स सेवा दिने पनि बजेटमा उल्लेख छ । 

वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरपालिकाले ४ अर्ब ४८ करोडको बजेट ल्याएको छ । यो महानगरपालिकाले पनि भौतिक पूर्वाधार विकासलाई नै जोड दिएको छ । महानगरपालिकाले ग्रामीण सहरी विकास परियोजना तथा मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार लगायतलाई जोड दिएको छ । 

महानगरपालिकाले आउँदो आर्थिक वर्षदेखि एकीकृत सम्पत्ति कर हटाई घर र घरले चचेको बढीमा दुई गुणा जग्गामा सम्पत्ति कर खाली जग्गामा भूमिकर लगाउने जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया