बन्ने भयो कपिल शर्माको बायोपिक, कृष्णा अभिषेक कपिल बन्दै

 असार २२, २०७५ शुक्रबार १७:३२:४४ | एजेन्सी

बलिउड फिल्म उद्योगमा अहिले बायोपिक बन्ने लहर चलेको छ । हालै रिलिज भएको फिल्म ‘सञ्जु’ प्रदर्शनको पहिलो हप्तामै २०० करोडको व्यापार गर्दै तहल्का मच्चाइरहेको बेला एक अर्को बायोपिक बन्ने खबर बाहिरिएको छ ।

निर्देशक विनोद तिवारीले भारतीय स्ट्याण्डअप कमेडियन कपिल शर्माको बायोपिक बनाउने तयारी गरिरहेका छन् । यसमा रोचक कुरा अर्को के छ भने कपिल शर्माको यस बायोपिकमा कपिलको भूमिका उनकै समकक्षी कृष्णा अभिषेकले निर्वाह गर्नेभएका छन्  ।

यस खबरले कपिल तथा कृष्णाका फ्यानहरुलाई झड्का लाग्न सक्छ किनकी वास्तविक जीवनमा कपिल र कृष्णाबीच मित्रताको भन्दा पनि प्रतिस्पर्धीको सम्बन्ध छ । दुवैले एकअर्कालाई सिधा रुपमा केही नराम्रो नभने पनि एकअर्कालार्ई छड्के पारामा केही न केही भनिरहेका हुन्छन् । 

खासमा विनोद तिवारी कृष्णा अभिषेखको आउँदै गरेको फिल्म ‘तेरी भाभी हे पगले’ को निर्देशक हुन । उनी यो फिल्म सके लगत्तै कपिलको जीवनमा आधारित फिल्म बनाउन चाहन्छन् । तिवारी चाहन्छन् कि यस बायोपिकमा कपिल स्वयमले अभिनय गरुन् भन्ने तर यदि उनले आफ्नो भूमिका आफै गर्न चाहेनन् भने त्यसको लागि कृष्णा अभिषेकलाई लिनेछन् । किनकी विनोदका अनुसार कपिल र कृष्णा दुबै अब्बल हास्य कलाकार हुन् । कपिलको बायोपिकका लागि कपिलबाहेक कृष्णा अभिषेकले नै कपिलको चरित्रलाई न्याय गर्न सक्छन । 

विनोद तिवारीका अनुसार सञ्जय दत्तको बायोपिक हेरिसकेपछि ‘सञ्जु’ले उनलाई कपिल शर्माको जीवनीमा आधारित फिल्म बनाउन पे्ररित भएको बताएका छन् । कपिल शर्माको जीवन कथा बाहिर आउनु पर्छ र उनको जीवन कहानी एक राम्रो बायोपिक बन्न सक्छ भन्ने लागेर बायोपिकका लागि निर्माताहरुसँग कुरा राख्दा उनीहरु पनि यसमा इच्छुक देखिएको बताएका छन् । तिवारीका अनुसार उनी कपिलको बायोपिक सन् २०१० मै बनाउन चाहन्थे तर निर्माताहरुले यसमा चासो नदेखाएपछि उक्त समयमा यो सम्भव नभएको तर अहिले निर्माताहरु समेत राजी भएको कुरा बताएका छन् । 

कपिल शर्मासँग खासै कुरा नमिल्ने कृष्णा अभिषेखले तिनै कपिलको बायोपिकमा कपिल शर्माको भूमिकामा गरेको अभिनय हेर्न सायद रोचक हुन सक्छ । अहिले भने विनोद तिवारीको निर्देशनमा बनेको फिल्म ‘तेरी भाभी हे पगले’ यही जुलाई १३ मा प्रदर्शनको तयारीमा छ । यस फिल्ममा कृष्णा अभिषेकका साथै नाजिया हुसैन, रजनिस दुग्गल लगायतको अभिनय रहेको छ । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया