नगरपालिकाले कारबाही गरेका प्रधानाध्यापकद्वारा कार्यालयमा तोडफोड

 असार ११, २०७६ बुधबार १६:३१:५४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - विदेह नगरपालिका कार्यालयमा बुधबार ढुंगामुढा र तोडफोड भएको छ ।

नगरपालिकाकाे कारबाहीमा परेका जनता नमुना मावि गिद्धा, बेलापट्टीका प्रधानाध्यापक पवन मण्डलले बुधबार नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड गराएको मेयर बेचन दासकाे आराेप छ ।

‘हामीले कारबाही गरेर सरुवा गरेको प्रअ पवन मण्डलले ३०–४० जनाको समूहमा मान्छे ल्याएर नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड गराएका हुन्’ मेयर दासले भन्नुभयो, ‘अस्ति बालबालिका प्रयोग गरेर कार्यालयमा तालाबन्दी गराएका थिए । शिक्षकको काम पढाउनु हो । राजनीति गर्नु होइन । तर पवन मण्डल गुण्डागर्दीमा उत्रेका छन्। ’

ढुंगामुढाबाट नगरपालिकाले भाडामा प्रयोग गरेको गाडी, कार्यालयको झ्यालको सीसा र भित्र पार्किंग गरिएको केही मोटसाइकलमा समेत क्षति पुगेको मेयर दासले जानकारी दिनुभयो । ढुंगामुढा हुँदै गर्दा प्रहरी पुगेपछि उनीहरु भागेको मेयर दासको भनाइ छ ।

विद्यालयमा भ्रष्टाचार गरेको भन्दै नगरपालिकाले गएकाे वैशाख ५ गते प्रअ पवन मण्डललाई कारबाही गरी अर्को विद्यालयमा सरुवा गरेपछि विवाद चुलिएको हो ।

सरुवापछि नगरपालिका र कारबाहीमा परेका प्रअ मण्डलबीच विवादका कारण विद्यालयको पठन पाठनसमेत प्रभावित भएको छ भने समय समयमा शिक्षक र विद्यार्थीसमेतले एक अर्को पक्षबाट प्रदर्शन गर्दै आएका छन् । 

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया