ओखलढुंगा पहिरोकाे उच्च जाेखिममा, जिल्लाभर साना ठूला १ सय ४६ पहिरो

 असार २२, २०७५ शुक्रबार १८:३२:३३ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– ओखलढुंगा पहिरोको उच्च जोखिममा रहेको पाइएको छ ।

सर्वेक्षण अनुसार ओखलढुंगाका १ सय ४६ ठाउँ पहिरोको जोखिममा छन् । जिल्ला भू–संरक्षण कार्यालय ओखलढुंगाले गरेको सर्वेक्षणमा ठूला साना गरेर १ सय ४६ पहिरोले वस्ती जोखिममा पारेका छन् ।

कार्यालयले ती स्थानलाई उच्च जोखिमयुक्त किटान समेत गरेको छ ।

ओखलढुंगाको पश्चिमी भूभाग र सदरमुकाम समेत रहेको सिद्धिचरण नगरपालिकाका केही क्षेत्र बढी जोखिममा रहेको कार्यायका भूसंरक्षण अधिकृत गंगाराम साहुले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र रहेका वर्णालु, विगुटार र सल्लेरी प्राकृतिक विपद्को जोखिममा छन् ।

‘लिखु गाउँपालिकाका गाम्नांगटार, पोकली, खिजीदेम्वाको रगनी, खिजीचण्डेश्वरी पहिरोको बढी जोखिममा छन्’ साहुले भने, ‘यी क्षेत्रमा बग्ने लिखु नदी, खिजी र पोकली खोलाले जोखिम निम्त्याउन सक्छन् ।’  

यहाँको भूगोल पहाडी भू–भागले घेरिएकाले वर्षा हुँदा खोलाको बहाब एक्कासी बढ्छ र नदीकिनार क्षेत्रमा जोखिम निम्तिन्छ । 

कमजोर भू-संरचना, भिरालो जमिन, नाङ्गा पहाड, जथाभावी खनिएका सडकका कारणले बाढी पहिरोको उच्च जोखिम बढेको छ । कतिपय स्थानमा पहिरोको कारण वस्ती नै स्थानान्तरण गर्नु पर्ने अवस्था आएको छ ।

पहिरोले चिसुंगढीको माम्खा र सिद्धिचरण नगरपालिकाको विगुटारमा पहिरोले वस्ती विस्थापित गरेको छ । पहिरोका कारण ठूलो मानवीय क्षति व्यहोर्नु नपरे पनि धेरै वस्तीहरु बाढी पहिरोको जोखिममा छन् ।

अध्ययन अनुसार हर्कपुर, प्राप्चा, रगनी, मूलखर्क, यसम, कालीका, विलन्दु, पोकली, खिजीफलाटे, खिजीचण्डेश्वरी, बाक्सा, च्यानम, फेदीगुठ, लगायतका क्षेत्र पनि पहिरोको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ । 

प्राकृतिक प्रकोपको जोखिम बढे पनि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम, बजेट भने कार्यालयसँग छैन ।

चालु आर्थिक वर्षका् सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला कार्यालयले कुनै पूर्व तयारीका काम गर्न नसकेको बताइएको छ ।

ओखलढुंगाका स्थानीय तहले भने यो वर्ष प्राकृतिक प्रकोप नियन्त्रणको कुनै प्रभावकारी योजना बनाएका छैनन् ।

केहीले विपद् कोष खडा गरे पनि बजेट, जनशक्ति अभाव र अनुभवको कमीले उनीहरु सुस्त रहेको सरोकारवालाको गुनासो छ । 


 

अन्तिम अपडेट: चैत २९, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया