आर्थिक विधेयक-२०७६ बहुमतले पारित

 असार १३, २०७६ शुक्रबार २०:९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - विनियोजन विधेयक २०७६ को आंगिक विधेयकमध्येको आर्थिक विधेयक २०७६ बहुमतले पारित भएको छ । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकले आर्थिक विधेयक २०७६ लाई बहुमतले पारित गरेको हो । यसअघि विधेयकमाथि परेका संशाेधन प्रस्तावहरु बहुमतले अस्वीकृत भएका थिए । सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक विधेयक २०७६ लाई पास गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

विधेयकमाथि संसोधन प्रस्ताव राख्दै नेपाली कांग्रेसका छायाँ अर्थमन्त्री सांसद मिनेन्द्र रिजालले करलाई नीतिगत औजारको रुपमा विकास गर्न प्रस्ताव गर्नुभयो ।

आयकरलाई प्रगतिशिल करको रुपमा बढाउनका लागि सरकार तयार नभएसम्म प्रगति हासिल नहुने भन्दै त्यसको सुरुवात गर्न उहाँले सुझाव दिनुभयो । उहाँले ढुवानी सेवामा लगाईएको कर हटाउन प्रस्ताव गर्नुभयो । अघिल्लो वर्ष मूल्य अभिवृद्धि कर छुट हुने मध्येमा रहेको ढुवानी सेवामा पनि यसपटक कर लगाएपछि चौतर्फी मूल्यवृद्धि भएको भन्दै उहाँले कम्तिमा ढुवानी सेवाको लागत नबढ्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

छलफलमाथि आएका जिज्ञासा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले आयकर करको आधार हुनुपर्ने विषयमा सरकार सहमत रहेको बताउनुभयो । उहाँले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउदै आयातमा आधारित कर प्रणालीलाई आन्तरिक उत्पादन र आन्तरिक आयमा आधारित कर प्रणालीमा रुपान्तरण गर्ने तर्फ सरकार लागेको बताउनुभयो ।

उहाँले अप्रत्यक्ष करको आधारमा रहेको राजश्व प्रणालीलाई प्रत्यक्ष कर तर्फ लैजादै प्रगतिशिल कर प्रणालीमार्फत नै करका दरहरुलाई परिमार्जन गर्दे राजश्व बढी संकलन गर्ने नीति लिईएको स्पष्ट पार्नुभयो । सोही नीति अनुसार नै आर्थिक विधेयक प्रस्तुत गरिएको उहाँले उल्लेख गर्नुभयो ।

विधेयकमाथिको छलफलमा सांसदहरु दिव्यमणि राजभण्डारी,प्रदिप गिरी, डिला संग्रौला पन्तले धारणा राखेका थिए । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया