बर्दियामा नुनदेखि सुनसम्म कालोबजारी

 असार २२, २०७५ शुक्रबार २०:१९:१४ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाका उपभोक्ताहरु बजारमा मूल्य, गुणस्तर र परिमाणबाट ठगिने गरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

जिल्ला प्रशासान कार्यालय बर्दियाले बिहीबार गुलरियामा आयोजना गरेको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दा मूल्य, गुणस्तर र परिमाणमा ठगिने गरेको सहभागीहरुले बताएका हुन् ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले उपभोक्ताहरुको हित संरक्षणका लागि उपभोक्ता, व्यवसासी र उपभोक्ता हितका लागि काम गरिरहेका निकायहरु बीच अन्तरक्रिया गराई समस्याको समाधान र उपाय खोजी गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले बजारको अनुगमनलाई प्रभाकारी तरिकारले निरन्तरता दिनुपर्ने, उपभोक्तालाई सचेतीकरण र क्षमता अभिबृद्धि गर्ने खालका कार्यक्रमहरु गर्नुपर्ने समेत बताएका छन् ।

बजारमा प्रभावकारी र नियमित अनुगमन नभएकाले गुणस्तरहीन तथा म्याद नाघेका सामानहरु, मूल्यसूची नराखिएकाले व्यापारीले इच्छा अनुसार महंगोमा बिक्री गरिरहेको तथा वस्तुमा परिमाणको मात्रा ठिक नरहेकाले यसको नियम अनुसारको मापदण्ड बनाउनु पर्ने र नियम उल्घन गर्नेलाई नियम अनुसार दण्ड जरिवाना गर्नुपर्ने सहभागी उपभोक्ताहरुको माग रहेको थियो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले आफू बर्दिया आएको २ महिनादेखि निरन्तर बजार अनुगमनमा लागि परेको बताउँदै अनुगमनका क्रममा अधिकांश म्याद नाघेका खाद्य वस्तु बिक्रि, पेट्रोल कम दिने जस्ता नुनदेखि सुन सम्ममा कालोबजारी भैरहेको उहाँले बताउनु भएको छ ।

उहाँले यस्ता ठगी नियन्त्रणका लागि अनुगमन गरी कालोबजारी गरिरहेकाहरु माथि मुद्दा समेत चलाई रहेको बताउनु भएको छ । बर्दियाको गुलरिया, राजापुर र बाँसगढीमा बजार अनुगमनका क्रममा सुनमा मिसावट गरी बिक्री गर्दै आएका १२ वटा सुनचाँदी पसल धनीहरुलाई पक्राउ गरी मुद्धा चलाइएको उहाँले बताउनुभयो । 

अझै अनुगमन कार्यलाई निरन्तरता दिने र यस कार्यमा सबैलाई सहयोग गर्न सबै निकाय तथा क्षेत्रलाई उहाँले आग्रह समेत गर्नु भएको छ । आगामी दिनमा बजार अनुगमनलाई तीव्र पार्ने र अखाद्य बस्तु बिक्रि, भारतबाट अखाद्य बस्तुहरु नेपाल भित्र्याउने, कालो बजारी गरि जनमानसमा प्रत्यक्ष असर गर्ने लगायतका कार्य गरेको पाइएमा कडा कानुनी कारबाही गरी मुद्दा समेत चलाइने उहाँले बताउनुभयो ।

उद्योगी, व्यापारी व्यवसायहरुले गुणस्तर कायम गर्न प्रतिबद्ध रहने बताउँदै गैरब्यापारीहरुबाट पनि कालोबजारी भैरहेकाले यसका लागि ग्रामिण क्षेत्रका पसलहरुमा पनि अनुगमन गरिदिन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिनुभयो ।

कार्यक्रममा गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बाँके, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, औषधि व्यवस्था विभागका प्रमुख तथा प्रतिनिधिहरुले यस सम्बन्धी बनेका ऐन,  कार्यालय तथा विभागले गरिरहेको काम तथा उपभोक्ता अधिकारका बारेमा कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो ।प्रस्तुत गरिएको कार्यपत्रमा उपभोक्ता तथा उद्योगी व्यवसायीहरुले बर्दियामा पनि प्रभावकारी रुपमा काम गर्नुपर्ने, भारतबाट खुला नाका भएकाले त्यसतर्फ पनि अनुगमनका कार्यक्रमहरु गरिनुपर्ने, विद्यालय तथा सार्वजनिक स्थलमा सुर्तिजन्य बस्तुहरु उपभोग र बिक्री वितरण भैरहेकाले यसको नियमन र नियन्त्रण गर्नुपर्ने सुझाव समेत दिएका थिए ।

जिल्ला समन्वय समिति बर्दिया प्रमुख शंकरप्रसाद थारुको सभापतित्वमा भएको कार्यक्रममा गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय बाँकेका प्रमुख श्यामकुमार झा, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका प्रमुख ज्योत्सना श्रेष्ठ, औषधि व्यवस्था विभाग बाँकेका केशवबहादुर रोकाय यसैगरी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी व्यापारी, उपभोक्ता, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

बर्दियामै पहिलोपटक यस्तो खालको कार्यक्रम आयोजना गरिएकाले यस्ता कार्यक्रमलाई तीव्रता दिएर उपभोक्ताहरुले भोग्दै आइरहेको समस्यालाई अन्त्य गर्न समेत सहभागीहरुले आग्रह गरेका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया