इलामका ५२ चिया कारखाना बन्द

 असार १४, २०७६ शनिबार ६:५९:३६ | सुजता सुनुवार
unn.prixa.net

इलाम – सरकारले तोकेको मूल्य किसानलाई दिँदा घाटामा जाने भएको भन्दै इलामका ५२ ओटा चिया कारखाना बन्द भएका छन् ।

सूर्योदय नगरपालिकाका किसानलाई हरियो पत्तीको मूल्य दिन नसकेको भन्दै  नगरपालिकाका उद्योगीले बिहीबारदेखि चिया कारखाना बन्द गरेका हुन् । 

नगरपालिकाले गएको वर्ष हरियो चियापत्तीको मूल्य निर्धारण गर्दै, गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधिसमेत पारित गरेको थियो । कार्यविधिअनुसार, हरियो चियापत्तीको मूल्य किसानलाई न्यूनतम प्रतिकिलो ४० रुपैयाँ दिनु पर्ने व्यवस्था छ । किसानले भने, उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात १ सुइरोको हुनु पर्र्नेे उल्लेख छ । यो कार्यविधि नगरपालिकाले चिया उद्योगी र किसान समेतको सहभागितामा पारित गरेको हो । पारित भएको कार्यविधिमा गुणस्तर कायम भए–नभएको अनुगमन नगरपालिकाले गर्ने व्यवस्था  छ ।

तर नगरपालिकाले अनुगमन नगरेको, किसानबाट कार्यपत्रमा तोकिएको मापदण्ड अनुसारको चियाको पत्ती उद्योगमा नआएको, र ४० प्रतिशतभन्दा कमको पत्ती उद्योगले फर्काउन नसक्ने जस्ता कारणले गर्दा उद्योग बन्द गर्नुको अर्को विकल्प नभएको एसोसिएसनका सचिव गोपाल कट्टेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘गएको वर्ष किसानलाई कार्यविधिमा तोकिएकै मूल्य दिइएको थियो । गुणस्तरहीन चियाको पत्ती किसानबाट आइरहेको छ । यसको अनुगमन गरी गुणस्तर कायम गर्न खबरदारी गरी दिन नगरपालिकालाई आग्रह गरे पनि यसमा चासो दिएको छैन ।’ उद्योगमा गुणस्तरहीन हरियोपत्ती आउँदा तयारी चियामा गुणस्तर कायम नहुने र थोरै मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको एसोसियशनको भनाइ छ । 

कम गुणस्तरको चियाको मूल्य पनि कम नै भएकाले निर्धारण गरिएको मूल्य दिँदा आफूहरू डुब्ने अवस्था आएकाले बन्द गर्न बाध्य भएको सचिव कट्टेलले जानकारी दिनुभयो । नगरपालिकाले भने चियामा गुणस्तर कायम गर्नका लागि अब अनुगमन गर्ने र किसानले पाउने न्यूनतम मूल्य कायम नै राख्ने अडान लिँदै आएको छ । 

चिया उत्पादकहरूको संस्था नेपाल टि एसोसिएशनले कारखाना खुल्ने वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ । एसोसिएशनले उद्योग नै बन्द गरेपछि नगरपालिकाले उद्योगीलाई छलफलका लागि आउँदो शनिबार  बोलाएको छ । छलफलपछि उद्योग खोल्ने कि बन्द जारी नै राख्ने भन्ने विषयमा निर्णय गरिने एसोसिएशनले जनाएको छ । 

सूर्योदय नगरपालिकामा रहेका ६२ भन्दा बढी चिया प्रशोधन उद्योगमध्ये एसोसिएशनमा ५२ वटा उद्योग आबद्ध छन् । करिब तीन हजार किसानका बगानको हरियो चियापत्ती यी उद्योगमा प्रशोधनका लागि पुग्ने गर्दछ । यहाँ प्रशोधित अग्र्यानिक अर्थोडक्स चिया  भारत र तेस्रो मुलुकसम्म पुग्छ ।

केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् भने कुल ११ हजार ४१ वटा बगानहरुमा चिया खेती रहेको पाइएको छ । जस मध्ये इलाममा मात्रै ६ हजार ९ सय ९५ बगान रहेका छन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया