माफियाले देश हडप्न खाेजेका छन्, राजनीतिक सफाइ चाहिएकाे छः सभामुख महरा

 असार १४, २०७६ शनिबार १२:५२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – सभामुख कृष्णबहादुर महराले देश हडप्न खोज्ने माफियाहरु सक्रिय भएको बताउनु भएको छ । हनुमन्ते नदी सफाइ अभियानको ७० औँ हप्ता पुगेको  अवसरमा आयाेजित राष्ट्रिय वृक्षाराेपण तथा सरसफाइ कार्यक्रममा सभामुख महराले यस्ताे बताउनुभएकाे हाे । 

सूर्यविनायक नगरपालिका-४ दधिकोटको दक्षिण वाराही उद्यान सामुदायिक वनमा आयोजित कार्यक्रममा सभामुख महराले भन्नुभयो, ‘सडक र नदी मात्रै सफाइ गरेर हुँदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ पनि जरुरी छ ।' 

उहाँले व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरीजस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै उहाँले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अब अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

देशमा स्पष्ट भिजन भएको नेताको कमी रहेको बेलामा भक्तपुरले सांसद महेश बस्नेतजस्ता स्पष्ट भिजन भएको नेता पाएको चर्चा गर्दै उहाँले नेपाललाई पर्यटनको विकास गर्न सके यसबाटै देश धनी हुने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्षभित्र देशकै नमुना जिल्ला बनाउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, 'यो जिल्ला तीन वर्षपछि देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुन्छ ।'  

सांसद बस्नेतले सूर्यविनायक नगरपालिका क्षेत्रमा एक घर एक बिरुवा अभियान सञ्चालन भैसकेको बताउनुभयो । साथै उहाँले आकाशे पानी संकलन अभियान, प्रत्येक सामुदायिक वनमा कम्तीमा एक पोखरीको निर्माण गर्ने, सडक बालबालिका मुक्त जिल्ला बनाउने, जाम मुक्त र उज्यालो भक्तपुर बनाउने उहाँको भनाइ थियो । 

कार्यक्रममा सहभागीहरुले वृक्षारोपण गर्ने मात्र नभई रोपिएका बिरुवालाई हुर्काएर संरक्षण गर्नुपर्नेमा जाेड दिनुभयाे । कार्यक्रममा दुई सय एभोकाडोका बिरुवा रोपिएकाे थियाे ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया