अरुको जिन्दगी बचाउन गएका समन आफ्नै जिन्दगीदेखि हारे

 असार २२, २०७५ शुक्रबार २०:५६:४२ | एजेन्सी
unn.prixa.net

थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकलाई बचाउने अभियान संलग्न एक गोताखोरले ज्यान गुमाएका छन् । 

थाइल्याण्डका सरकारी अधिकारीहरुका अनुसार ३८ वर्षी समन गुनन गुफाभित्र अक्सिजनको सिलिन्डर पुर्याएर फर्किने बेलमा बेहोश भएका थिए । उनका सहकर्मीले उनलाई होशमा ल्याउने प्रयास त गरे तर उनको होश फर्केन । समन गुनन थाई नौसेनाका पूर्व गोताखोर थिए । उनले जागिर छोडिसकेका थिए । तर गुफामा फसेका व्यक्तिहरुको बचाउ अभियानमा सहभागी हुन उनी फर्किएका थिए । 

कलेजमा समनलाई पढाउने शिक्षक क्याप्टेन पनपोंगले बीबीसीसँग कुरा गर्दै भन्छन्, ‘जब मलाई फोनमा यस्तो जानकारी दिइयो, म स्तव्ध भएँ । उनी निकै नै उत्कृष्ट खेलाडी थिए । मेरा प्रिय शिष्यहरुमध्ये उनी पनि एक थिए । उनी मरिनबाट ग्रयाजुएट हुन् । उनलाई मैले त्यहीँ भेटेको हूँ ।’

उत्कृष्ट खेलाडी थिए समन

समन गुनन एक उत्कृष्ट खेलाडी थिए  । उनी साइकल चलाउन निकै नै मन पराउँथे । सन् २००९ मा उनले साइक्लिङ च्याम्पियनसिप पनि जितेका थिए । 

नौसेनामा रहँदा उनी साथी रुआंग सीरीसँग नजिकिएका थिए । दुवैबीचमा घनिष्ठ मित्रता थियो । साहसिक यात्रामा जानु परे दुवै सँगै जाने गर्थे । 

रुआंग सीरी भन्छन्, ‘उनी निकै हँसमुख व्यक्ति थिए । आफ्नो काम जिम्मेवारीपूर्ण तरिकाले निभाउँथे । हामी दुई मिलेर कैयौं साहसिक यात्रा गरेका छौँ । उनलाई अरुलाई सहयोग गर्न निकै मन लाग्थ्यो । जे काम दिए पनि उनी तल्लीन भएर पूरा गर्थे ।’

समन गुननको मृत्युमा पूरा थाइल्याण्डले शोक व्यक्त गरेको छ । द सनका अनुसार थाइल्याण्डका राजाले समन गुननको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने घोषणा गरेका छन् । 

उद्धारमा कठिनाई भएको पुष्टि

समन गुननको मृत्युले उद्धार अभियानमा कति कठिनाई छ भन्ने कुरा उजागर भएको छ । अन्धकार गुफा, त्यो पनि जलमग्न । १२ बालक र फुटबल प्रशिक्षकसम्म पुग्ने बाटो नै साँघुरा र पहिरोको जोखिम । सोच्दै आङै सिरिङ्ग हुने । 

जुन २३ बाट बालकहरु गुफामा फसेका छन् । गएको सोमबार मात्रै उनीहरु सुरक्षित भएको पत्ता लागेको थियो । 

याे पनि पढ्नुहाेस् 

थाइल्याण्ड : गुफामा फसेकाको उद्धारमा खटिएका एक पूर्व सैनिकको मृत्यु

नौ दिनदेखि गुफाभित्र फसेको थाई फुटबल टोली सकुशल भेटियो, बाहिर निकाल्न बाँकी

थाइल्याण्ड :  गुफामा फसेका १२ बालक र फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न ‘महिना लाग्न सक्छ’

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया