आरम्भ

 असार १४, २०७६ शनिबार १३:३०:३५ | दाजु गुरुङ
unn.prixa.net

जुन–जुलाईको घाममा छानाबाट भँगेरा खस्छन् भन्ने सुनेको थिएँ साँचो लागिरहेछ । उत्पात गर्मी छ यो आकाशको छानोमुनि । धुवाँ छ, धुलो छ र त्यही धुवाँ र धुलो बोकेर फनफनी घुमिरहन्छ तातो हावा । नजिकको निलो सागर, धुवाँ र धुलोको चर्तिकलालाई निरीह बनेर हेरिरहन्छु टुलुटुलु । बिहान काममा निस्कँदा चेन्ज गरेको ड्रेस कति पटक पसिनाले निथु्रक्क भिज्यो पत्तो हुँदैन । मौका मिले निचोरेर सुकाउने मन छ, मौका छैन । सधैँ यसरी नै आङभरि भिजेर आङमाथि नै सुक्ने गर्छ सपना । अब त अभ्यस्त भइसकेँ यो मरूस्थल द्वीपमा पाइला टेकेदेखि । ह्वास्स गनाउने शरीरमा ठोकिन आउने हावा पनि दिक्क मान्दो हो । त्यो दिक्क लाग्ने गन्ध नाके भिरमा ठोकिएर भाग्दो हो तातो हावासँग ।

पहिलेपहिले यो गन्ध भनाैँ वा दुर्गन्धले श्वास रोकिन्थ्यो । झन् साथीहरुको पसिना र काँखीको गन्धले वाकवाकी चल्थ्यो । खाना खान पनि मन लाग्दैनथ्यो । कतिपल्ट सक्दो पानी मात्र खाएर बसेँ पनि । कहाँ सकिँदो रहेछ र ! हिँड्दा पेटमा पानी छचल्किएर बज्थ्यो । तर अब त्यस्तो छैन म । मिठो लाग्छ गन्ध । मन पराउन थालेको छु पसिनाको स्वाद बरु पसिनाको स्वाद र गन्ध नाकमा ठोकिन पाएन भने दिक्क लाग्न थालेको छ । चिन्ता बढ्छ । पसिनाको खेतीबाट हिजोआज जिन्दगीले नौलानौला पाटाहरु खोतल्न सुरू गरेको छ ख्यालख्यालैमा । 

गर्मी हुनु, पसिना बग्नु र सुक्नु केही पनि होइन कर्मजीवीहरुका लागि । यो चेप–लाप–कोकको नयाँ मरूभूमिमा छत्तिस डिग्री तापक्रम सामान्य बनेको छ घामको आकाशमुनि । अनि नौलो पनि होइन । नौला त अरु नै धेरै छन् यहाँ । दिनहुँ यस्तैमा खेती र खेतालो बन्नका लागि घरदेश छोडेर खुसीखुसी हिँडेका मान्छे हामी नौलो किन मान्नु र ! घामको रापमा पसिना आउँछ जान्छ नो फिकर । लुगा भिज्छ, सुक्छ दिनभरि यस्ता क्रम चलिरहन्छन् । र उडिरहन्छ तातो बाफ । कतै सानो भट्टीको चिम्नीबाट तातो धुवाँ गइरहेछन् । यस्ता ससाना भट्टीहरु हजाराैँ छन् यो कृत्रिम द्वीपमा ।

खुल्ला आकाशमुनि खेदीखेदी डाम्छ नाङ्गो घाम । सके जति डामिसक्यो, वास्ता गर्दिनँ अचेल म । सुरूका दिनहरुमा डामेका डामहरु चिलाउँथ्यो, डाबर निस्कुन्जेल कन्याइदिन्थेँ तर अब त डामे पनि थाहा नपाउने भएछु । चिलाउँछ कन्याइदिन्छु बस । आनन्द  लाग्छ, मज्जा आउँछ अब त कन्याएर बसिदिन्छु समयसँग । पलायन जिन्दगीलाई खोइ के भनौँ जति घामले डाम्छ उत्ति नै डामिरहेछ समयले पनि । एउटा फरक मज्जा एकैसाथ हिँडिरहेछ सहयात्री बनेर । छोडिदिएको छु, खोलिदिएको छु अधैर्यताको लगाम । थाहा छैन डाम्न छोडेको दिन कन्याउन सकिन्छ सकिन्न ?

समयका घामले डामेका डामहरु सकीनसकी सबै जना कन्याइरहेछन् । कति कहरले थोरै रहरले । मुन्ना चौधरी, टिबी भाइ सहमत छन् जिन्दगीको यो कन्याइमा । सायद पलायनको बाटो एउटै भएर होला । अब त डाम्न बाँकी रहेन, गोरूका काँध जस्तो भइसक्यो । रहर गरिएको हो । गुनासाहरु छन् तर छैनन् । खैनीको तितो रसले थुकिदिन्छु भन्दै सुर्ती माड्न थाल्छन् मुन्ना चौधरी । खैनी माड्न थालेपछि कोही परपर सर्छन्, कोही खैनी खान हात बढाउँछन् । यसरी पनि छिनभरलाई बिर्सिने गर्छन् डामेका चोटहरु ।

सुरूका दिनहरु अनौठा थिए, लाग्थ्यो पनि । सागरको बीचमा दिनभरिका लागि छोडिएको कैदीहरुको जस्तो जीवन । एउटा छुट्टै आइल्यान्ड जो सहरदेखि बाहिर छ । सहरसँग जोडिनका लागि बोटको सहारा लिनुपर्छ । अरु विकल्प छैन जो अहिले छ । नौलो ठाउँ, नौला मान्छेहरुका बीच काम पनि नौलो । एउटा फरक अनुभूति दिने वातावरण । कति असहज समयलाई लामोलामो खुइइ.... काढेर बिताउनुपर्ने । मान्छेका हुलहरु मात्र नौला थिएनन्, बाटो, माटो र जिन्दगीको पाटो पनि नौला थिए । जहाँ जिन्दगीले एउटा बेग्लै पाटो खोतल्न गइरहेछ । यस्तै यस्तै सोचहरु दिमागभरि घुमिरहन्थे फनफनी । कृत्रिम मरूभूमिमा तातो घाम र धुलो, धुवाँ खाइरहेको बेला ।

सागर पुरेर नयाँ सिमाना कायम गरिएको कृत्रिम द्वीपमा जीवन खोजिरहेछु । स-साना टापुहरु थिए रे यहाँ त्यसलाई जोडिएको पुरिएको जे भने पनि हुन्छ । बिलकुलै नयाँ रुप लिएको छ एउटा फुस्रो बलौटे मैदानले जुन रातदिन गरेर कङ्क्रिट मैदानमा रुपान्तरित भइरहेछ । ठूलाठूला पानीजहाजहरुले टाढाटाढाबाट बोकेर ल्याएका ढुङ्गामाटोले पुरिएको रहेछ । साधन र स्रोत भएपछि सबै थोक सम्भव हुँदो रहेछ । पहाड मैदान, सागर जमिन, जमिन सागर बन्नु कुनै नौलो देखिनँ । अन्य कति सागरका किनारहरु पनि यसरी घट्दै गइरहेछ । दृढ इच्छाशक्ति भए यसरी नै बन्दो रहेछ मुलुक । हामीलाई आफ्नाे खेतको आली काट्न लाज लाग्छ । खेतको धान बोक्न खेताला खोज्नु पर्छ तर हिजोआज हातमा श्रमको ठेला फुलाउँदा अनि आङभरि घामले डाम्दा पनि सामान्य लागिरहेछ यहाँ ।

निर्माण स्थलमा धेरै बालुवा, माटो, ढुङ्गाका ठूलाठूला ढिस्काहरु छन् आज यता देखिन्छ भोलि अन्तै सरेको हुन्छ । मरूभूमिमा हावाले बालुवा सारेझैँ । वर्षाैँदेखिको यो सहरको सपना नयाँ विमानस्थल बनाउने जसले बिस्तारै आकार लिन थालिसकेको छ । त्यही नयाँ बस्तीमा नयाँ अनुहारहरुको भिडमा जोतिरहन अभ्यासरत बन्दैछु म । हरेक दिन यसरी नै हराउने गर्छु यो बालुवाको ढिस्कोसम्म । जहाँ सयौँ क्रेन, डोजर, गाडी मेसिनहरु र हजाराैँ अनुहारहरु आ-आपनोे दक्षता शिल्पानुसार जिम्मेवारीको झन्डा उचालेर उभिरहेका छन् । फुर्सत छैन अरुको जिन्दगी हेर्ने ।

नयाँ बस्ती रुपान्तरणमा तल्लीन छ भिड र त्यही भिडमा सामेल छु अनि खोजिरहेछु पलायनको परिभाषा । धुवाँ, धुलो र यहाँको बस्तीसित बिस्तारै परिचित बन्दै छु । यही क्रममा केही हप्ताअगाडि कम्पनीले वर्करहरुलाई ‘सेफ्टी फस्ट’ भन्दै बिहानीको सेफ्टी  तालिम क्लास सञ्चालन गरेको थियो । सधैँ बिहान बेलुकी भेडाबाख्राहरुलाई गोठालाले चरनतिर सुसेल्दै लखेटेझैँ फोरम्यानले एकएक गनेर कामका बारेमा बताउने गर्थ्याे । तर त्यो दिन सेफ्टी क्लास आउने उर्दी छोडेर जान्छ ।  हतार -हतार  ड्रेस  चेन्ज गरेँ । 

साइडमा काम गर्ने धेरै साथीहरु जम्मा भइसकेका थिए । भिडमा नयाँ पुराना र परिचित अपरिचित थुप्रै अनुहारहरु थिए । मिसिएँ त्यसैमा । लौ हेर त साथीहरु टाँकीको फूल टिप्नेहरुको जमात । कहाँ सजिलै टिप्न सकिन्छ र टाँकीको फूल । तालिम लिनु पर्छ । सतासी मामाको अर्ती उपदेश सुन्नु पर्छ । बाबुआमालाई दङ्ग्याएर खाए जस्तो हुँदैन । भिडमा थरीथरीका टिप्पणी चल्छन् । केही समय भए पनि फरक वातावरण र कामले राहत नै पुर्‍याउँछ।साथीहरुलाई  पनि  खुसी देख्छु  । सेफ्टी  क्लासको    भिडमा    टाँकीको फूलको हल्लाले रन्थनिन्छु । कसैलाई सोध्न सक्तिनँ । धेरै मान्छे अनेक थरीका कुरा कसले के बोल्छ सोधेर साध्य नहुने । यस्ता तरङ्गले भिडका सबै कुनालाई तरङ्गित बनाएको ठानेँ । 

एउटा ठूलो हलमा राखेर एग्लिमन जेन्टल म्यानले उसैको भाषामा झन्डै एक घण्टा लेक्चर दियो । प्रवचनको साथसाथै कामका बारेमा बनाइएका वृत्तचित्रहरु र केही प्रयोगात्मक दृश्यहरु देखाइयो । सामान्य लाग्ने कुराहरु थिए  तर काममा सेफ्टीका लागि ध्यान दिन जरूरी रहेछ भन्ने अनुभव गरेँ । यो सानो द्वीपमा अझै पनि ब्रिटिस औपनिवेशिक अवशेष जीवित रहेछ । गोरो छालाको स्टाटस अरुभन्दा माथि राखेको देखियो । उसको दक्षता क्षमता के कस्तो थियो त्योचाहिँ थाहा भएन । नौला ठाउँहरु, नौलो प्रवचन, रमाइलो नै लाग्यो । सँगाल्दै हिँडिरहेको पाटोमा थपिएको सानो धर्सो थियो यो पनि ।

सरकारी स्तरबाट सबै कामदारहरुलाई कामको प्रकृतिअनुरुपको दक्षता वा सीपको तालिम र कार्य सुरक्षा वा काम गर्दा कसरी चोटपटक नलागी सुरक्षित काम गर्न सकिन्छ भनेर नियमित तालिम सूचना प्रदान गरिँदो रहेछ । वर्करहरुप्रतिको सरकारको चासोले मन छोयो । काम गर्दा चोटपटक लागेमा, बिरामी भएमा सरकारले क्षतिपूर्ति पनि दिँदो रहेछ । त्यस बेला मैले मेरो देश सम्झेको थिएँ । अक्करको भिरमा बाटो खन्दा वीरबहादुर दाइ भिरबाट लडेर घाइते भएका थिए । सरकारबाट शारीरिक क्षतिको मुआब्जा पायो पाएन थाहा भएन तर ठेकेदारबाट कामको मजदुरी नपाएको गुनासो सुनेको थिएँ । 

बिहानदेखि नै गर्मी चढेको छ । तर सेफ्टी क्लास वातानुकूलित हलमा सञ्चालन भएकोले शरीरलाई राहत मिल्यो थोरै समयलाई भए पनि । हल मजस्तै पलायन मनहरुले खचाखच भरिएको छ । थोरै स्थानीय चाइनिजहरु र अन्य नेसनालिटीका अनुहारहरु पनि छन् । विविध नेसनालिटी भएर होला गोराको अङ्ग्रेजी भाषा क्लास ठिकै लाग्छ । कामदारका लागि काम र सुरक्षा उपयोगी भए पनि गाई खाने भाषा भएकाले मित्रहरुले कति बुझे बुझेनन् थाहा भएन, तथापि उसको क्लासभरि धेरै मित्रहरुले यस सर, यस सर भनिरहे । बुझेर त होला ! ट्वाल्ल परिरहेँ म । 

गोरेको सेफ्टी लेक्चर सकिएपछि हाम्रा सुपरभाइजर अगाडि सरे । दोभासेको  शैलीमा बोल्न थाले । तर उनको ध्यान काममा सेफ्टी रूल जरूरी र   आवश्यकताभन्दा काममा बफादारिताप्रति जोड थियो । ‘स्थानीय नागरिक सरह हक अधिकार पाएर सबै क्षेत्रमा सहभागिताको अवसर मिलेको छ । यस्तो बेला हामी इमानदारी भएर काम गर्नु पर्छ । यो सबै ब्रिटिस सरकारको देन हो । मिलेर काम गर्नु पर्छ । आपसमा झगडा गर्नु हुँदैन ।’ सायद सुपरभाइजरले अस्ति फेरि साइडमा भएको झगडाको सङ्केत गरेको होला । नेपाली कामदारहरुले साइड सुपरभाइजर गोरालाई पिटेछन् । पुलिस केससम्म भयो । कामको क्षेत्र पर्‍यो, यस्ता घटना भइरहन्छन् । बढी नेपाली नै मुछिन्छन् यस्तो घटनाहरुमा । 

ब्रिटिस गोर्खा सैनिकका सन्तान भएकोले यस्तो अवसर पाएको कुरो जोड्न पछि परेनन् सुपरभाइजर । यो कुरो त स्विकार्नै पर्छ । पलायन नेपालीहरु त्यही एउटा लहरामा झुन्डिएर पिङ खेलिरहेछन् । त्यो लहरो समातेर सयौँ नेपालीहरु दिनहुँ आइरहेछन् । भोलि कति आउनेछन् थाहा छैन । यसरी सजिलै वैधानिक जन्मसिद्ध अधिकार प्राप्त बसोबास सुविधा र सम्मान विदेशी राष्ट्रमा नेपालीहरुले पाएको सायद यो नै पहिलो हुनुपर्छ । परिचयपत्र    (आईडी)    प्राप्त    गरेपछि     आफ्नो    क्षमताअनुरुपको    काम    जुनसुकै    क्षेत्रमा पाउन वा खोजी गर्न सकिन्छ । जहाँ यसरी हजाराँै रहरका पलायन अनुहारहरु नौलो परिचय बोकेर हिँडिरहेछन् यो नयाँ मरूस्थल द्वीपमा ।

रहर चुलिएर पनि होला रमाइलो लाग्न थालेको छ जिन्दगी । घाम उदाउँछ अस्ताउँछ त्यसैको सेरोफेरोमा दौडिरहन्छु । सँगै दौडिने धेरै छन् मनहरु । र त बाँधिएर बस्न सकिरहेछु । घामले सेकिरहेको बेला अनि गाउँघरको सम्झनाले झन् पिरोलिदिन्छ मनका अनि मौकामा शीतल तापिरहँदा आपसमा बाँडिन्छन् वेदनाका रापहरु । कहिले मुन्ना चौधरीको खैनी पिटाइसँगै, कहिले टिबी भाइको चोटिला हाक्पारेहरुसँगै । आनन्दै लाग्दो रहेछ भोगाइहरुलाई धुलो र धुवाँसँग मिसाइदिँदा ।

मुख्य मुनिभन्दा अलिकति टाढा छ अहिलेको कर्मक्षेत्र । पुरानो एयरपोर्ट सहरको मध्यभागमा भएकाले नयाँ ठाउँमा निर्माण गरिएको रहेछ । दिनहुँ बढ्दो सहरीकरण र जनसङ्ख्याको चाप, वायु, ध्वनि प्रदूषणबाट सहरलाई बचाउन उचित प्रयास हो । विश्वका ठुलाठुला सहरहरु हवाई मैदानभन्दा टाढा नै राखिएको हुन्छ । यसको श्रेय औपनिवेशिक सरकारलाई दिए हुन्छ । युद्धस्तरमा काम भइरहेछ सायद हङकङ हस्तान्तरणमा उपहार दिन खोजिएको छ । यसका लागि सस्तो जनशक्ति र सस्तो दरभाउमा खपत गरिएका स्वआयातित बस्तु बनिएका हामी । बजार छ साह्रै सस्तो मोलमोलाई गर्नै नपर्ने । 

निर्माण काम नयाँ एअरपोर्ट मात्र होस् त्योसँग सम्बन्धित अन्य बाह्य संरचनाहरु सँगसँगै निर्माण भइरहेका छन् । रेल मोटरका बाटाहरुले जोड्ने काम पनि भइरहेछ । ती ठाउँहरुमा पलायन मान्छेहरु खपत भएका छन् किनकि तिनीहरु अदक्ष भए पनि इमानदार र सस्ता छन् । फाइदैफाइदा काम लगाउने र गर्नेलाई । बिहानै बोट (पानी जहाज)ले कामदारहरुलाई किनारमा उतारिदिन्छन् । भेडाबाख्राहरु जस्तै हुरूरू दौडिँदै माटा र बालुवाका ढिस्काहरुका सबै हराउँछन् । साँझमा छिचिमिरा गोलोबाट निस्किएझैँ निस्कन्छन् । बोट (पानीजहाज) चढेर फेरी तरेपछि कङ्क्रिटको जङ्गलमा हराउँछन् । यसरी हराइरहेछु म । हिजोजस्तो लाग्छ यहाँ हराउन थालेको तर दिनहरु हप्तामा, महिनामा, वर्षमा जम्मा हुन थालिसके छन्, हिसाब छैन । केवल घडीको आलम बिहान ओछ्यानमा बजेको सुनिन्छ अनि निद्रामा हातखुट्टा बजार्दै दौडिरहेछु बासी भातको भाँडो बोकेर ।

दिन घडीको आलमसँग दौडिने आलमे जिन्दगीभित्र जिउन बाध्यतातिर रमाइलो फड्को मारेको छु । जीवनले पुनर्जीवन खोजेको हो वा रोजेको ? जुन अलिकति रहर, अलिकति कहर र अलिकति लोभी सहरमा । यिनै रहर, कहर र सपनाका सहरमा अतृप्त अनौठो मायवी मोहले दिनरात रातो टाँकीको फूल खोज्न नुनिलो धमिलो पानीले नुहाउन अभ्यासरत छु । यस्तो रहरमा आफैले आफूलाई बेग्लै देख्न थालेको छु अनि नाम ठेगाना अर्थात् बेग्लै परिचय दिलाएको छु घडीको आलमले चल्ने सत्रौँ शताब्दीको रोबर्ट म्यान । घडीको आलममा दौडिन्छ, थाकेर निदाउँछ अनि उठ्छ । यसरी चल्छ दिनचर्या । कति सजिलो जिन्दगी । जहाँ जसको कुनै आफ्नोपन  छैन । नहुँदा चिन्ता देखाउँदैन पटक्कै । गज्जबको प्राणी भनौँ वा मनुवा । हरेक दिन धकेलिदिएको ठाउँमा ठाउँअनुसारको भूमिका निर्वाह गर्छ इमानदारीपूर्वक । शङ्का छैन आज्ञाकारितामा । इमानदारितामा पनि कुनै शङ्का छैन पहिलेदेखि नै नुनको सोझो गर्दै आएको जाति प्रजाति हामी ।

दिनहरु बित्न कतिबेर लाग्दो रैछ । हिजो जस्तो लाग्छ ती दिनहरु आजसम्म हप्ता महिना हुँदै वर्ष वर्षहरु भइसकेछन् । हिजोका बालुवा र माटाका ढिस्काहरु कङ्क्रिट मैदानमा रुपान्तरित भइरहेछन् । कति त भइसकेका छन् । गजबको कुरो शताब्दीदेखि राज गर्दै आएको ब्रिटिस कोलोनी सरकार सधैँका लागि अवसान भएको छ । पाटे झण्डाको ठाउँमा फूलबुट्टे झण्डा फर्फराइएको छ । हिजो राम्रो लागेर सलाम ठोकिन्थ्यो आज यसलाई ठोकिरहेछ । ठोक्नु न हो जसलाई पनि ठोकिरहेकै हो फेरि ठोकिन्छ । बस जिन्दगी चलेकै छ । सबैसबै परिवर्तित दिनहरु बितेसँगै परिवर्तित छन् तर दिनहुँ सेक्ने घाम भने उस्तै छ । परिवर्तनको लहरमा यी हातहरु नयाँ रातो फूलबुट्टे झण्डालाई सलाम गर्ने अभ्यस्त हुँदैछन् पुरानो पाटो बिर्सिदिँदै । मान्छे न हो कति छिटो रङ्ग बदलिन सक्छ । हिजोसम्म महारानी एलिजाबेथको टाउको मसार्ने हात अहिले टाँकीको फूल मसार्न अभ्यस्त छ । समयलाई कसले जित्ने र ! 

फूल टाँकी होस् वा कुनै प्रजातिको । कसलाई मन पर्दैन र फूल? कामका क्षणहरुमा दिनहुँ यात्रामा अनि साथीहरुसँगको भेटघाट तितामिठा कुराकानीमा पलायन मनहरु फूलको सपना धेरै देख्दा रहेछन् । स्वाभाविक पनि लाग्छ यस्ता सपनाहरु । सपना देख्नेले मात्र भविष्य देख्छन् भन्ने सुनेको छु । धेरै साथीहरु निर्धक्क भन्ने गर्छन् फूल टिप्न आएका हामी । कुरो ठिकै लाग्छ । दिन रात मान्छे दौडिरहेछन् टाँकीको फूलको पछिपछि । देश, काल अर्थात् भूगोलको आधारमा कति चिजहरु समान देखिए पनि फरक नाम पहिचान हुन सक्छ । र त नाम फरक छन् तर बोटबिरूवा पात र फूलहरु बाल्यकालदेखि बारीको डिलमा उभिरहेको देखिने टाँकीसँग मिल्दो रहेछ, सजिलो खोज्ने मनले टाँकी भनिहाल्छ । सजिलो लाग्छ टाँकीको फूल भन्न । साथीहरु त्यसै भन्छन् ।

औपनिवेशिक शासनको अवसानपछि टाँकीको फूलको बजार ह्वात्त बढेको छ । नौलो कुरो होइन । फूल फूलै हो कसलाई मन पर्दैन र ? भगवानलाई त हरेक बिहान फूलको घुस नखुवाई खुसी नहुने भयले फूलचढाइरहन्छन् मान्छे । चट्टान फोडेर, सागर तरेर ज्यानको बाजी लगाउँछन् फूलका लागि । कति दिनहरु यसरी नै बितिरहेछन् बाजी थापेर । शरीरका अङ्गहरु गुमाएर बाँचेका छन् आफन्तहरु तर पनि हाँस्न खोजेका छन् । कति तिखातिखा काँडाहरु । हात र पाइतालामा भन्दा मनलाई भित्रसम्म बिझाउने । हिसाब छैन मान अपमानको । पाइलापाइलामा काँडा भेटिन्छन् । पाइतलादेखि मनभित्र बिझिरहन्छ । बिझिरहने घोचिरहने समय बेसमयमा । तर थाकेका छैनन् मनहरु बरू थाकेर बदलिन्छन् घाम र पानीका याम । थाक्नु पनि भएन । कहिले नगल्ने नपग्लने ढुङ्गाका मान्छे । ऐया भन्न बिर्सिएका नदुख्ने मान्छे हामी । 

अचम्म लाग्छ कहिलेकाहीँ दह्रो मुटु र नाम परिचय भएर पनि । थरीथरीका परिचयका भारी बोकेर हिँडिरहेका हामी । एउटै गाउँ, ठाउँ र नाम लिएर आएकाहरु । नाम, काम, दाम मिलेका छन् । कथा, व्यथा, समय र पलायनको भारी वा आकांक्षाहरु एउटै भएर पनि अनुहारको भूगोल टेकेर व्यवहार गर्ने नाम र ठाउँको कुण्डलीमा भाषा र बोली फेर्ने आदत कहिले फेरिएन । एउटै बाटो हिँडेका पलायन मन एउटै भइदिए हुन्थ्यो जस्तो लाग्छ । लागेर मात्र के गर्नु । कहिले साथीभाइहरुसँग दुःखेसो पोख्ने गर्छु । कोही ठिकै छ भन्छन् कोही फिस्स हाँसेर औपचारिकता निभाइदिन्छन् । 

बिस्तारै चल्छ यो वारिपारि गर्ने बोट पोखरीमा लाहुरी भैँसीले आहाल खेले जसरी । कुनै हतार छैन, डेग छोड्दैन । दिक्क भएर होला साथीहरु भैँसे बोट भन्ने गर्छन् । कुनै बेला अति रमाइलो लाग्ने यात्रा अझै लामो भई दिए हुन्थ्यो भन्ने लाग्छ, त्यो अचेल चढ्न नपरोस् भइरहेछ । सायद एउटै ठाउँ, तरिका, अनुहारहरु अनि कामको प्रकृति भएर होला नौलो खोज्दो रहेछ प्रवृत्तिले । नौलो खोज्ने क्रममा बालुवा, ढिस्काहरु बढारिसकेका छन् । कृत्रिम पहाड धरातलमा मिलिसकेको छ । फुस्रो बालुवाको पहाड चिल्लो कङ्क्रिटको मैदानमा रुपान्तरित छ । हिजोसम्म कुनै हरियो झारपात नउम्रने, नदेखिने बलौटे भूमिमा रातारात ठूलाठूला बोटबिरूवाहरुले ढाकिएका छन् । कति सँगै हात बढाउने साथीहरु को कहाँ को कहाँ पुगिसके स्टेसनबाट यात्रीहरु छुटेझैँ । नछुटून् पनि किन ? चेप–लाप–कोकले काँचुली फेरिसकेको छ । छिट्टै अब अर्काे यस्तै मैदान खोज्ने दिन आउन लागेको छ पलायन जीवनको रेल ट्रयाकमा दौडाइराख्नका लागि । मुन्ना चौधरी र टिबी भाइ पनि नयाँ मैदानमा हिँडिसके । नयाँ टनलको कामतिर । निक्कै बिरानो लागिरहेछ ती साथीहरुसँग भैँसे बोटको यात्रामा छुटिनु पर्दा । 

भैँसे बोट जस्तै बाँचिरहेछ जिन्दगी पनि । एउटा सानो दूरी वारपार गर्न घण्टौँ लगाइदिन्छ चिप्ले किरा घिस्रिएझैँ । यसरी नै घिस्रिरहेछु केही वर्षहरु यता निरर्थक समयमा । पुग्नु पर्ने ठाउँ धेरै छन्, टाढा छन् तर हिँडाइको गति भैँसे बोट । न त दौडिन सकिरहेछ समयसँग न त भेटिरहेछ जिन्दगीलाई । सागरको बिचमा उभिएका ससाना टापुहरुझैँ अल्झिरहेछ । पानीको माझमा उभिरहे पनि तिर्खाएको छु । उजाड रित्तो रित्तो छ मन बैँस हराएको हिउँद जस्तो । सधैँ नाङ्गा कहिले हरियाली छाउँदैन । लाज छोप्न पानीमा आधा शरीर डुबाएर उभिरहेछु । के फरक छ र त्यो पहाड र ममा । नाङ्गै छु म पनि । 

हिजोसम्म कुनै हरिया बोटबिरूवा थिएनन् यो नयाँ मरूस्थलमा । केवल हरिया त्रिपाल र रङ्गिन गाडीहरु मात्र थिए रङ्गको नाममा । ठूलाठूला बिरूवाहरु रोपिएका छन् । कतै सिङ्गा रुखहरु गढिएका छन् । आनन्द लाग्यो । ती नयाँ बिरुवाहरुको माझमा चराहरु खेलेका देखिए । कहाँ थिए ती चराहरु हिजोका दिनमा ? बिरूवासँग आइपुगेछन् आज । बोटबिरूवा वा चराहरु खोइ कसले कसलाई खोज्दै आएका होलान् । भोलि यसरी नै यी बालुवाहरुमा टाँकी फुल्छन् । अरु धेरै चराहरु खेल्न आउँछन् । परिवेश नै फरक लाग्छ पाहुना चराहरुलाई देख्न पाउँदा । 

मौसमको कुनै ठेगान हुँदैन । एकैछिनमा उत्पात गर्मी हुन्छ, छिनमा पानी पर्छ । घामले डाम्न कहिले छोड्दैन । तातो हावा चलिरहन्छ । पसिनाले निथु्रक्क भिजेको शरीरमा तातो हावा ठोकिन आउँछ । हल्लाउन नसकेपछि आफै तातिएर रन्थनिँदै भाग्छ । झरी पर्छ, भिजेको शरीरलाई अझै भिजाइदिन्छ । केही फरक पर्दैन तर पर सागरको माझमा उभिरहेका थुप्रै ससाना फुस्रा टापुहरु भने एकैछिन नुहाउन पाएर चिल्ला देखिन्छन् । बल्लबल्ल हाँस्ने मौका पाएर होला । ऊ भिजेर हाँसेको छ, म धेरै भिजेर रोइरहेछु । यसरी नै वर्षहरु बिताइदिएको छु यहाँ । ती दिन, महिना, वर्षहरुमा कहिले तातो घामले डाम्छ कहिले चिसो सिरेटोले सेक्छ तर चुपचाप सहिदिन्छु । हिँडिदिन्छु बाटाहरुमा । समयले धेरै डामिसकेको छ । कति आलो छ, कति खत बसिसकेका छन्, बन्ने क्रम कति हो यसको जिम्मा समयलाई छोडिदिएको छु जो मेरो बसमा छैन । अरु धेरै कुराहरु पढाएको पनि छ, कति सम्झिएँ कति बिर्सिएँ हेक्का छैन ।

अस्ति साँझको घटना भने आलो छ । यस्तै बेलुकी आठ बजेको हुनुपर्छ । काममा ओभर टाइम थिएन । छिट्टै घर हिँड्यो तर भैँसे बोटले आठ बजाइदिन्छ । कसैले नाम लिएर बोलाउँदा रोकिन्छु । घरनजिकैको ओके सर्कल सोपमा चार पाँच जना नेपालीहरु बियर तान्दै गरेका देख्छु । सामेल हुन्छु एउटा कोक समातेर । परिचयको क्रममा पछि एक जना लाहुरे मामाले घामले डामेको अनुहार र हातखुट्टा हेरेर काम र दामको भविष्यवाणी गर्छन् । ‘त्यति सजिलो छैन भान्जाहरु यो सपनाको सहरमा टाँकीको फूलटिप्न । बारीको डिलमा फुल्दैन तारे भिरको टुप्पोमा फुल्छ टाँकी । बाघको जुँघा उखेल्नु बराबर हुन्छ ।

यसरी घामपानीमा डामिनु सेकिनु पर्छ ।’ ठिकै लाग्छ । परीक्षामा खरो उत्रिएको ठानेँ । श्रम गर्न हिँडेको मान्छे श्रमको प्रशंसामा मक्ख भैदिन्छु  । कुरामा    ल्याप्चे    ठोक्छन्  साथीहरु  । आ–आफ्ना  अनुभवहरु जोडिँदै जाने क्रममा घरीघरी किङ–क्यान बियर फोडिन्छन् । दोहोरिरहन्छ क्रम । कोकाकोलाको थान दोहोर्‍याउन सकिनँ । अनुभवहरु बियरका क्यानहरुसित तन्किरह्यो, तन्किरह्यो भैँसे बोटलाई बिर्साउने गरी । छलिन्छु ट्वाइलेटले च्यापेको बहानामा । 

टाँकीको फूल । टाँकीको फूल !! जहाँ जति बेला पनि । त्योभन्दा पर पुग्ने हेर्ने, सोच्ने सोचको विकास कहिले आउला हाम्रो मानसिकतामा ! गन्तव्य त्यति मात्र हो र ! हेरौँ यो आरम्भ मात्र हो जिन्दगीको ।

सोचिरहेँ घर पुगुञ्जेल । 

-कथाकार दाजु गुरुङकाे कथासंग्रह  'टाँकीका फूलहरु' बाट । 'टाँकीका फूलहरु' मञ्जरी पब्लिकेशनले प्रकाशन गरेकाे हाे ।

अन्तिम अपडेट: कात्तिक २१, २०७६

दाजु गुरुङ

कथाकार गुरुङ हङकङमा बसेर नेपाली डायस्पाेरा साहित्यमा कलम चलाइरहनु भएकाे छ ।

तपाईको प्रतिक्रिया