उरुग्वेलाई २–० ले स्तब्ध बनाउँदै फ्रान्स सेमिफाइनलमा

 असार २२, २०७५ शुक्रबार २१:४१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

एउटा स्टार खेलाडीको अनुपस्थिति टिमका लागि कति महंगो पर्छ भन्ने अनुभव सायद उरुग्वेले यस विश्वकपमा अनुभव गर्यो । चोटका कारण पीएसजीका स्टार इडिन्सन काभानीले फ्रान्सविरुद्धको क्वार्टरफाइनल खेल्न सकेनन्, परिणाम उरुग्वे हार्यो ।
                      

फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वार्टरफाइनल खेलमा दक्षिण अमेरिकी टोली उरुग्वेलाई २–० गोलले हराउँदै फ्रान्स सन् २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
 
उरुग्वेले फ्रान्सविरुद्ध आफ्नो प्राकृतिक खेल प्रदर्शन गर्न सकेन, जुन यसअघिका चार खेलमा देखिएको थियो । लुइस स्वारेज र इडिन्सन काभानीको तालमेलले उरुग्वे क्वार्टरफाइनलसम्म पुगेको हो ।
 
यता फ्रान्स भने २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जसका लागि ग्रिजम्यानले शानदार प्रदर्शन गरे । स्टार खेलाडीले भरिएको फ्रान्सले उरुग्वेलाई खेलको अन्तिमसम्मै दवावमा राख्यो । ग्रिजम्यानले एक गोल गरे भने अर्को गोलका लागि असवर सृजना गरेका थिए ।
 
रुसको निज्नी नोभोगोरोड रंगशालामा पहिलो हाफमा ४०औं मिनेटमा फ्रान्सले सुरुवाति अग्रता लियो । एथ्लेटिको मड्रिडका सुपरस्टार एन्टोइन ग्रिजम्यानको फ्रिकिक प्रहारमा रफायल भरानेले हेडमार्फत गोल गरेका थिए ।
 
दोस्रो हाफमा फ्रान्सले अर्को गोल थप्यो । अर्जेन्टिनामा जन्मिएका उरुग्वेली गोलरक्षक फर्नाण्डो मुस्लेराको गम्भीर गल्तीमा फ्रान्सले गोल गरेको हो ।
 
६१औं मिनेटमा एन्टोइन ग्रिजम्यानले करिब २० यार्डबाट प्रहार गरेको शट मुस्लेराले क्लियर गर्न खोजेका थिए । तर, बल डिफ्लेक्ट हुन पुग्दा गोल हुन पुग्यो ।
 
मुस्लेरा जारी विश्वकपकै सबैभन्दा सफल गोलरक्षक थिए । उनी समूह चरणमा एक गोल पनि नखाने एकमात्र गोलकिपर हुन् । विश्वकपका पछिल्ला चार खेलमा उनले १ गोल खाएका थिए ।
 
सेमिफाइनलमा फ्रान्सले ब्राजिल र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । अहिले केहिबेरपछि ब्राजिल र बेल्जियमको खेल सुरु हुँदैछ ।

 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया