कास्कीमा असार १५ काे रौनक (फोटोफिचर)

 असार १५, २०७६ आइतबार १८:४८:३६ | सुमन गुरुङ
unn.prixa.net

कास्की – 'मानो रोपेर मुरी उब्जाउने महिना' हो, असार । धान दिवसको रुपमा मनाइने असार महिनाको १५ गते अझ विशेष हुने नै भयो । 
हरेक वर्ष जस्तै यो वर्ष पनि पोखरा पर्यटन परिषद्ले असार पन्ध्रलाई विशेष बनाउन पोखर-१७ महतगौँडा बिरुवाफाँटमा महोत्सव आयोजना गर्‍याे । 

१७ औं संस्करणको असारे रोपाइँ महोत्सवमा साउने प्रतियोगिता (हलगोरुको दौड), आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने खुला प्रतियोगिता, हिलोमा दौड प्रतियागिता महिला/पुरुष, हिलोमा दौड प्रतियोगिता, विदेशी पर्यटक महिला/पुरुष, नेपाली र विदेशी, पत्रकारहरु हिलो दौड प्रतियोगितामा भाग लिँदै रोपाइँ महोत्सव हेर्न गएकाहरु पनि रमाए । 

महोत्सव स्थलमै घन्किरहेको पञ्चेबाजाको तालमा पर्यटकहरु कम्मर मर्काइरहेका थिए । विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमी थिएन । पर्यटकहरु हिलोमा छ्यापाछ्याप गरेर मस्त आनन्द लिइरहेका थिए ।

हरेक वर्ष पोखराको फरक फरक स्थानमा हुने महोत्सव यो वर्ष महतगौँडामा गरेर निरन्तरता दिइएको महोत्सवका संयोजक चिरञ्जीवी पोखरेलले बताउनुभयो ।

विगतका महोत्सवमा भन्दा यो वर्ष विदेशी पर्यटकको संख्या धेरै थियो । असारे रोपाइँ महोत्सवको हिलो खेल्न विभिन्न देशका पर्यटकलाई तछाडमछाड थियो ।

यस्ता महोत्सव बर्सेनि हुने हो भने बाल बच्चाहरुलाई पनि धान कसरी लगाउने रहेछ भनेर बुझाउन सजिलो हुने स्थानीय कृषक आशा श्रेष्ठले बताउनुभयो । 

कृषिलाई पर्यटनसँग जोड्नको लागि महोत्सवले सहयोग गर्ने पोखरा पर्यटन परिषद्की सदस्य गोमा ढकालले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया