त्रिभुवन विमानस्थल २१ घन्टा खुला : धावन मार्ग मर्मतको काम ‘लगभग’ सकियो

 असार १५, २०७६ आइतबार १८:२७:४० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - गएकाे चैत १८ गतेदेखि १४ घन्टा मात्रै खुलेको त्रिभुवन विमानस्थल सोमबारदेखि २१ घन्टा खुल्ने भएको छ ।

विमानस्थलको रन वे मा पुरानो पिच भत्काएर नयाँ पिच राख्नको लागि गएको चैत १८ गतेदेखि  राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर पिच निर्माणको काम भैरहेको थियो ।

‘उनीहरुले रन वे को काम लगभग सकेका छन्, २-३ सय मिटर बाँकी छ, त्यो काम अब उनीहरुले राति ३ घन्टा काम गरेर सक्छन्, सोमबारदेखि हामीले विमानस्थल २१ घन्टा चलाउँदै छौंँ’ विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

विमान कम्पनीले पुरानै तालिका अनुसार उडानको समय मिलाएको पनि उहाँले जानकारी दिनुभयो । 

गएको वर्षको जेठ ७ गतेदेखि विमानस्थल बिहान ३ बजेदेखि राति १२ बजेसम्म २१ घन्टा खुलाउन थालिएको छ । तर आन्तरिक उडानको लागि भने बिहान ५ बजे नै विमानस्थल खोलेर उडान गरिँदै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा अन्तर्राष्ट्रिय उडान कम्पनी, १० वटा आन्तरिक उडान कम्पनी र ९ वटा हेलिकप्टर कम्पनीका दैनिक ४ सय उडान र अवतरण हुन्छन् । औसतमा साढे २ मिनेटमा एउटा उडान र अवतरण भैरहेको हुन्छ ।
३ हजार ५० मिटर लामो रन वे को ३० देखि ५० सेन्टिमिटर गहिराइसम्मको पिच उप्काएर नयाँ हाल्ने काम लगभग अन्तिम चरणमा पुगेको आयोजना प्रमुख बाबुराम पौडेलले जानकारी दिनुभयो ।

ट्याक्सी वे र लिंक रोडको काम सेप्टेम्बरदेखि मात्रै

रन वे र ट्याक्सी वे को मर्मतको जिम्मा पाएको चिनिया कम्पनीले रन वे को काम लगभग सकेको छ । अर्को हप्तासम्म रन वे को पिच परिवर्तन गर्ने मात्रै नभइ फिनिसिङको काम पनि सकिँदैछ । 

तर ट्याक्सी वे को काम भने बाँकी नै छ । तर बर्खा लागिसकेकाले ट्याक्सी वे को काम सेप्टेम्बरदेखि मात्रै सुरु हुने भएको छ ।  
‘सेप्टेम्बर १ तारिख देखि डिसेम्बर ३१ तारिखसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द गरेर ट्याक्सी वे को काम गछौं, बर्खा लागेकोले अहिले काम गर्न  गाह्रो छ ।’ विमानस्थल प्रमुख क्षेत्रीले भन्नुभयो । 

नेपाल नागरिक उडड्न प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेशनसँग चार अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरेर काम रन वे र ट्याक्सी वे मर्मतको काम थालेको हो । 


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया