'कबिर सिंह' सुपरहिट भएपछि शाहीद कपूरलाई चलचित्रको ओइरो

 असार १५, २०७६ आइतबार २०:१४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

चलचित्र ‘कबिर सिंह’ हिट भएसँगै शाहीद कपूर यतिबेला चर्चामा छन् । सन्काहा र रिसाहा प्रेमीको भूमिकामा शाहीदले गरेको अभिनयको अहिले चौतर्फी वाहवाही पाइरहेको छ । 

शाहीद कपूरले यो चलचित्रमा गरेको अभिनयको प्रशंसा बलिउड उद्योगले मात्रै नभइ उनका फ्यानहरुले समेत निकै मन पराइरहेका छन् । यही चलचित्रको सफलताले गर्दा शाहीद कपूरलाई बलिउडका ठूला ब्यानरले चलचित्रको प्रस्ताव राखेको खबरहरु आइरहेका छन् । 

भारतीय सञ्चारमाध्यममा आएका खबरहरुका अनुसार ‘कबिर सिंह’ हिट भएसँगै एक पटक फेरि फिल्म निर्माताहरुको नजर शाहीदमाथि परेको छ । शाहीद कपूरलाई दुई वटा फिल्मको लागि अफर आइसकेको छ । शाहीदलाई चलचित्रका लागि करण जोहर र राम माधवानीले अफर गरेका हुन् । 

शाहीदलाई करण जोहरले दक्षिण भारतको सुपरहिट चलचित्रको हिन्दी रिमेक बनाउने तयारी गरिरहेका छन्, जुन चलचित्रका लागि करण जोहर शाहीद कपूरलाई अनुबन्धन गर्न चाहन्छन् । 

करण जोहरले दक्षिण भारतको ‘जर्सी’ नामको चलचित्रको हिन्दी रिमेक बनाउने सोचमा छन् । यो चलचित्रको कहानी क्रिकेटसँग सम्बन्धित हुनेछ । यसका साथै निर्देशक राम माधवानी पनि आफ्नो चलचित्रमा शाहीदलाई अनुबन्धन गर्न खोजिरहेका छन् । राम माधवनीको चलचित्र भने कुनै नयाँ कथामा आधारित हुनेछ । 

शाहीदले अहिले ती चलचित्रलाई लिएर कुनै पनि प्रतिक्रिया दिएका छैनन् । केही समय अघि मात्रै शाहीदले मिडियासँगको कुराकानीमा अहिले आफूसँग कुनै पनि काम नभएको बताएका थिए । 

तर उनी अभिनित पछिल्लो चलचित्र ‘कबिर सिंह’ बक्स अफिसमा हिट भएसँगै अहिले बलिउडका निर्माता तथा निर्देशक शाहीद कपूरसँगै काम गर्न खोजिरहेका छन । यही जुन २१ मा प्रदर्शन भएको चलचित्र ‘कबिर सिंह’ ले दुई हप्ता नपुग्दै १६३ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ । 

कबिर सिंह शाहीद कपूरको करियरका लागि कोशे ढुङ्गा साबित भएको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया