१६ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बर्दियाको राजापुरमा (फोटो फिचर)

 असार १५, २०७६ आइतबार १९:५४:१६ | भावुक योगी
unn.prixa.net

बर्दिया - राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष बर्दियाको राजापुर क्षेत्रमा मनाइएको छ ।

धान खेतीमा प्रविधि र यान्त्रीकरण, चामल आयातमा न्यूनिकरण भन्ने मूल नारासहित १६ औंँ राष्टिय धान दिवस तथा रोपाइँ महोत्सव बर्दियाको राजापुर ८ धोविनपुरमा मनाइएको हो । 

अन्नको भण्डार भनेर चिनिने बर्दियाको राजापुर क्षेत्रमा आयोजित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनालले यान्त्रिकरण भित्र्याइ आधुनिक तरिकाले धान उत्पादकत्व वृद्धि गर चामलको आयात प्रतिस्थापन गर्ने योजना नेपाल सरकारकाे रहेकाे बताउनुभयो । 

नेपालको युवा पुस्ताले कृषि क्षेत्रमा लागेर चामल लगायतका खाद्यान्न उत्पादन गर्नु पर्ने भए पनि त्यो जनशक्ति विदेश पलायन भएको उहाँले बताउनुभयो । 

‘२० वर्ष मुनि र ३५ वर्ष माथिका मात्रै जनता नेपालमा छन् । २० देखि ३५ वर्ष माथिका युवाहरुले कृषिमा क्रान्ति गरेर खाद्यान्न उत्पादन गरी आत्मनिर्भर बनाउन सकिन्थ्यो’ उहाँले भन्नुभयो । 

नेपालमा उत्पादन भएको तरकारी विदेश पठाउने काम सुरु भएको बताउँदै उहाँले यहाँको चामल दाल, मासु लगायत अन्य वस्तु पनि विभिन्न देशबाट माग भएकाले विदेश पठाउन सकिने बताउनुभयो । 

यस वर्षकाे धान दिवस तथा रोपाइँ महोत्सव अलि फरक रह्यो । दिवसमा मेशिनकाे प्रयोग गरेर रोपाइँ गरिएको थियो । मेशिन बढी हिलो भएको खेतमा भासिएपछि मन्त्रिसहितको टोलीले हातमा धानको बीउ बोकेर रोपाइ गरेका थिए । 

गालाभरी हिलो दलेर हातभरी धानका बीउ बोकेर कृषिमन्त्री खनालसँगै संघीय सांसद संजय कुमार गौतम, सन्तकुमार थारु प्रदेश नम्बर ५ बर्दियाका सांसद राजेश थारु, कृषि विभागका महानिर्देशक, राजापुर नगरपालिकाका मेयर शिवप्रसाद थारु, उपमेयर सहितको टोलीले धान रोपाइ गर्नुभएकाे हाे । 

पञ्चेबाजा र स्थानीय थारु सांस्कृतिक नाचका साथ धान दिवस तथा रोपाइँ महोत्सवको शुभारम्भ गर्दै मन्त्री खनालले जबसम्म परम्परागत कृषि प्रणालीलाई नबदलेसम्म कृषि क्षेत्रमा परिवर्तन नहुने बताउँदै कृषिमा यान्त्रिकरण र व्यवसायीकरण गरी कृषि क्षेत्रबाटै समृद्धि हासिल गरिने बताउनुभयो । 

बर्दियाको राजापुर क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत धानको सुपरजोन कार्यक्रम समेत सञ्चालन रहेको छ । धान सुपरजोन कार्यक्रम रहेको राजापुर ८ धोविनपुरमा कृषि विभागले धान दिवस तथा रोपाइँ महोत्सव गरेको हो । सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकरण हायरिंग सेन्टरको समेत मन्त्री चक्रपाणि खनालले उद्घाटन गर्नुभयो । 

बर्दियाको कुल खेतीयोग्य जमिन मध्ये ७५ हजार हेक्टर प्रतिशत जमिनमा ५० हजार हेक्टर धान खेती गरिन्छ । बर्दियामा अहिलेसम्म ३२ प्रतिशत रोपा भएको छ भने राजापुर क्षेत्रमा झण्डै ५० बढी प्रतिशत रोपाइँ भएको धान सुरजोन राजापुरका प्रमुख बिरेन्द्रराज पराजुलीले बताउनुभयो । धान खेतीको यान्त्रिकरणमा बर्दियाको राजापुर क्षेत्र अघि रहेकोसमेत उहाँले बताउनुभयो ।

 


 

अन्तिम अपडेट: चैत १०, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया